अपराजित रहँदै ‘ए डिभिजन लिग’ टुंग्यायो च्याम्पियन मछिन्द्रले – Nepal Press

अपराजित रहँदै ‘ए डिभिजन लिग’ टुंग्यायो च्याम्पियन मछिन्द्रले

काठमाडौं । एपीएफ क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले लिगको अन्तिम खेलमा पनि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मछिन्द्रलाई जित दिलाउन अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे ।

एपीएफका लागि प्रलिप लामाले एक गोल गरे । प्रदिपले गोल गर्दै मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको १ सय ८४ मिनेटको क्लिनसिट तोडेका थिए ।

विशालले पहिलो खेलमा एनआरटी विरुद्ध खेलको ५४औं मिनेटमा गोल खाएका थिए । लिगमा सबैभन्दा धेरै क्लिनसिट राख्ने उनी एक मात्र गोलकिपर हुन् ।

मछिन्द्रलाई अग्रता दिलाउन खेलको ४२औं मिनेटमा अभिषेकले गोल गरेका थिए । उनले एन्ड्रेज चोङ्केउले निकालेको थ्रु बललाई पोष्टको दिशा दिलाएका थिए ।

यस्तै, ७०औं मिनेटमा एपीएफका प्रदिपले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

मछिन्द्रका सब्सिट्युट खेलाडी रेजिनले खेलको ८१औं मिनेटमा गोल गर्दै मछिन्द्रको जित सुनिश्चत गरे । उनले एन्डे«स नियाको क्रसमा एपीएफका डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए ।

त्यसअघि, एपीएफ फुुटबल क्लबका विक्की तामाङले गरेको असिस्टमा आशिष लामाले छैटौं मिनेटमा गोल गर्न सकेनन् ।

मछिन्द्रका विशाल राईको एक्रोभेटिक सर्टमा अभिषेक रिजालको २१औं मिनेटमा गरेको प्रहार एपिएफका युुया कुरियामाले उत्कृष्ट बचाउ गरे ।

त्यसको चार मिनेटपछि विशालले दिएको क्रस पासलाई विमल घर्ती मगरले राम्रो सदुपयोग गर्न सकेनन् । उनले गरेको फितलो प्रहार बाहिरियो ।

पहिलो हाफको अन्तिम तीन मिनेटमा गोल खाएपछि एपिएफ दोस्रो हाफमा केही आक्रामक बनेको थियो ।

आशिष लामाले ६३औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिट पोस्टको माथिबाट बाहिरियो ।

लिगको ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुुई खेल अगावै लिगको उपाधि रक्षा गरेको मछिन्द्रले २ बराबरी र ११ जित निकाल्दै ३५ अंक जोडेको छ ।

त्यस्तै, एपीएफले तीन जित, बराबरी र चार हार सहित १५ अंक जोडेर आठौं स्थानमा रहँदै लिग सकेको छ । च्याम्पियन बनेसँगै मछिन्द्रले ७५ लाख प्रप्त गरेको छ । दोस्रो स्थानको आर्मीले ५० लाख र तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।

तालिकाको पुछारमा रहेका दुई टोली च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *