खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालले गर्‍याे आह्वान – Nepal Press

खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालले गर्‍याे आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पु¥याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेको उच्च–स्तरीय बहसलाई आज सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताए । निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवद्र्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्रीले जोड दिए ।

कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएको भन्दै मन्त्री खड्काले ती देशहरूलाई उनीहरूको अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो र जन–केन्द्रित पुनरुत्थान योजना र स्रोतको परिचालन अत्यावश्यक भएको बताए ।

नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उनले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको बताए । उनले नेपाललाई खोप उपलब्ध गराउने उदार सहयोगका लागि छिमेकी र अन्य मित्रराष्ट्र, विकास साझेदार र गाभी कोभ्याक्सप्रति हार्दिक आभार व्यक्त गरे ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गरेका हुन्। कार्यक्रममा १२० भन्दा बढी देशका नेताले भाग लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर