प्रचण्डलाई बाबुरामको आग्रह- सत्ताको तर मार्ने, बाहिर नक्कली राष्ट्रवादी देखिने हर्कत नगर्नुस् – Nepal Press

प्रचण्डलाई बाबुरामको आग्रह- सत्ताको तर मार्ने, बाहिर नक्कली राष्ट्रवादी देखिने हर्कत नगर्नुस्

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए ।

उनले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए ।

उनले भने, ‘मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि तपाईले यसलाई साथ दिनोस् १३८ पुर्‍याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाईदैन । पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्‍याएर पारित गर्छाै । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’

उनले आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौंता पारित गराउन लागि परेको बताए । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो ।

उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए ।

उनले भने, ‘यो एमसीसी सहमतीबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आईपर्दैछ । त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ । यसको निम्ति अव संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामी चाँही बाहिर गईहाल्छौं ।’

उनले संसदमा उपस्थित सांसदको बहुमतबाट पारित गर्न सकिने भएपनि महत्वपूर्ण मुद्दा भएकाले सबै जनप्रतिनिधिहरुको साथ चाहिने बताए ।

उनले भने, ‘संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्धा । हुँदैन । संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ ।’

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्‍याए ।

उनले एमसीसी सम्झौंता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर