मनाङसँग बराबरी खेलेसँगै आर्मी ‘ए डिभिजन लिग’मा दोस्रो – Nepal Press

मनाङसँग बराबरी खेलेसँगै आर्मी ‘ए डिभिजन लिग’मा दोस्रो

काठमाडौं । मनाङ मर्स्याङदी क्लबसँग १–१ गोलको बराबरी खेल्दै त्रिभुवन आर्मी क्लब तालिकाको दोस्रो स्थानमा रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग समाप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बराबरी गरेसँगै मनाङ पाँचौं स्थानमा झरेको छ । मनाङले गत सिजत तेस्रो स्थानमा रहेर लिग सकेको थियो । भने आर्मीले दोस्रो स्थानमा रहेर सकेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा अञ्जन विष्टको गोलमार्फत अग्रता लिएको मनाङले अग्रता जोगाई राख्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

पुजन उपरकोटीको कर्नरमा दीनेश राजवंशीले गरेको हेडर रिबाउन्डमा अन्जनले बललाई पोष्टको दिशा दिलाएका थिए ।

खेलको ७६औं मिनेटमा मनाङको आत्माघाती गोल उपहारमा खेल बराबरी गरेको थियो । आर्मीका मिडफिल्ड सन्तोस तामाङले प्रहार गरेको फ्रिकिकलाई मनाङका गोल किपर अशोक बरालले अगाडी बढेर क्लियर गर्न खोज्दा मनाङकै डिफेन्डर फ्राङ्क्लिन कुएटाको ढाडमा लागेर गोल भएको थियो ।

त्यसअघि दोस्रो मिनेटमा आर्मीका सुमन अर्यालले बक्स बाहिरबाट प्रहार गरेको लोअर फ्रिकिक सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

पाँचौ मिनेटमा सन्तोष तामाङले १८ यार्ड बक्सबाट प्रहार गरेको फ्रिकिक पहिलो बारबाट बाहिरियो ।

खेलको सुरुआती मिनेटमा तालमेल नमिले पनि त्यसपछिको आधा घण्टासम्म मनाङमाथि आर्मी हाबी देखियो । यद्यपि, आर्मीले गोलका अवसरहरुको सदुपयोग गर्न भने सकेन ।

आर्मीका योद्धा साहीले ३२औं मिनेटमा गरेको गल्तीको फाइदा मनाङले उठाउन सकेन । मनाङको डिफेन्सबाट आएको लामो बललाई योद्धाले नियन्त्रणमा लिन सकेनन् । सोही बलमा गोलकिपर विकेश कुथु पनि अघि बढेको अवस्थामा मनाङका कप्तान अन्जन बिष्ट बलसम्म पुग्न सकेनन् ।

आर्मीका बिमल पाण्डेले ६३औं मिनेटमा मैदानको मध्यभागबाट गरेको प्रहार मनाङका गोलकिपर अशोक बरालले सहजै जोगाए ।

आर्मीका जर्जप्रिन्सले ६९औं मिनेटमा खेलमा फर्किने निकै राम्रो मौका गुमाए । टंक बस्नेतले गरेका कर्नर प्रहार मछिन्द्रका पुजन उपरकोटीले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सबाट जर्जप्रिन्सले गरेको प्रहार पोलमाथिबाट बाहिरियो ।

बराबरीसँगै आर्मीले लिगमा पाँच जीत ८ बराबरी सहित २३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ । मनाङ ६ जीत, तीन बराबरी र चार हारसहित पाँचौं स्थानमा रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर