भोजपुर टेम्केमैयुङका वडाध्यक्षसहित माओवादीको वडा कमिटी एमालेमा समाहित – Nepal Press

भोजपुर टेम्केमैयुङका वडाध्यक्षसहित माओवादीको वडा कमिटी एमालेमा समाहित

भोजपुर । नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षसहित टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ कोटको सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित भएको छ ।

शनिबार आयोजित कार्यक्रममा वडाध्यक्ष एवं माओवादी भोजपुर जिल्ला सचिवालय सदस्य सूर्य नेपाल, वडासदस्य भगवान पुरी, टेकबहादुर सार्की, हेमराज राई, पालिका सदस्य गोविन्द पुरीलगायत जनप्रतिनिधि र वडा कमिटीका सबै सदस्य एमाले प्रवेश गरेका हुन् ।

माओवादीबाट निर्वाचित सबै जनप्रतिनिधि, वडा कमिटी र अन्य पार्टीका कार्यकर्तासमेत गरी एक सय जनाभन्दा बढी प्रवेश गरेको एमाले भोजपुरले जनाएको छ ।

नवप्रवेशीलाई एमाले जिल्ला इन्चार्ज हरिबहादुर राई, जिल्ला अध्यक्ष शरणकुमार राई, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष धुर्वराज राई, प्रदेश सदस्य घमानसिंह राईलगायतका नेताले स्वागत गरेका थिए ।

वडाध्यक्ष नेपालले खटेका कार्यकर्तालाई जिम्मेवारी दिने सवालमा कन्जुस्याइँ गर्दै माओवादीको जिल्ला नेतृत्वले पार्टीलाई निजी कम्पनी झैं गरेर चलाएको आरोप लगाए । उनले जनता र कार्यकर्ताको भावना बुझ्ने पार्टी एमाले मात्र भएकोले आफूहरूले नेकपा एमाले रोजेको बताए ।

अध्यक्ष शरणकुमार राईले एमाले प्रवेश गरेका सबैलाई योग्यता, क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिने आश्वस्त पारे । भोजपुर एमाले चुनावकेन्द्रित मिसनमा लागिसकेको भन्दै उनले टेम्केमैयुङ-६ लाई आजैदेखि ‘माओवादीमुक्त वडा’ घोषणा गरे ।

यो गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, संघीय समाजवादी फोरमलगायतका सबै दलले गठबन्धन गर्दा पनि एमालेले प्रमुख-उपप्रमुख जितेको थियो ।

९ वटा वार्डमध्ये ६ नम्बरमा माओवादी र ३ नम्बर नागीमा समाजवादीले जितेको थियो । अरु सबै वार्ड एमालेले जितेको छ । ‘हरिबहादुर, शरण र गाउँपालिका प्रमुखको निरन्तरको सक्रियतापछि माओवादीले जितेको ठाउँमा पनि कब्जा जमाउन सकियो । अबको चुनाव एमालेलाई झन् सजिलो भएको छ ‘, टेम्केमैयुङका इन्चार्ज बद्री निरौलाको दाबी छ ।

एमालेको नवनिर्वाचित जिल्ला कमिटीको अघिल्लो साता बसेको बैठकले पार्टी निर्माण तथा संगठन शुद्धीकरण अभियान चलाउने निर्णय गरेको थियो । ‘जनताको घरमा एमाले’, ‘गाउँ फर्क’ र ‘पार्टी प्रवेश’ अभियान लिएर अझ सशक्त रूपमा अघि बढ्ने एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर