ओमानमा गुमेको अवसरलाई बिर्सिएर सन्दीपलाई सम्झिँदा – Nepal Press

ओमानमा गुमेको अवसरलाई बिर्सिएर सन्दीपलाई सम्झिँदा

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखला र टी-२० विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नुअघि सन्दीप लामिछाने चर्चाको शिखरमा थिए । नेपाल क्रिकेट संघ-क्यानले अनुशासन कारबाही गरेर ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई जिम्मेवारी दिएको थियो । राष्ट्रिय टोलीका धेरै खेलाडीहरु क्यानको निर्णयविरुद्धमा उत्रिएका थिए । सन्दीपलाई कप्तान स्वीकार गर्न उनीहरु तयार थिएनन् ।

तर नयाँ प्रमुख प्रशिक्षकका रुपमा पुबुदु दासानायकेको नेपाल आगमनपछि असन्तुष्टि खेलाडी शान्त बनेका थिए । स्वयम् मल्ल पनि अडानबाट पछाडि हटे । विश्वका प्राय सबै ठुला व्यावसायिक लिग खेलिसकेका युवा खेलाडी सन्दीपलाई लामो भविष्य हेरेर कप्तानी जिम्मेवारी दिइएको क्यानको तर्क थियो । विश्वकप छनोटजस्तो महत्वपूर्ण प्रतियोगिताको पूर्व सन्ध्यामा पाएको उक्त जिम्मेवारीले सन्दीपको करियरमा चुनौती थप्नु अस्वभाविक थिएन ।

उनी आफै पनि व्यावसायिक करियरमा संघर्षरत थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै फ्रेन्चाइजले आबद्ध गर्ने पखाईमा थिए उनी । गत सिजन दिल्ली क्यापिटल्सले रिलिज गरे पनि अन्य टोलीले आवद्ध नगरेपछि उनी आइपीएल बाहिर हुन पुगे ।

त्यसको प्रमुख कारण उनको निर्णायक प्रदर्शनको अभाव थियो । विकेट लिइरहने र कसिलो बलिङ गरिरहने भए पनि उनले अस्ट्रेलियाको बिग बास लिगमा प्लेयर अफ दी म्याचस्तरको प्रदर्शन गर्न सकिरहेका थिएनन् ।

ओमानमा भने सन्दीपको कप्तानी यात्रा सुखद् रह्यो । चार देश सम्मिलित शृंखलाको पहिलो खेलमै नेपालले घरेलु टोली ओमानलाई पराजित गर्‍यो । त्यसको भोलिपल्ट नेपालले यूएईसँग खेल्दै थियो र आइपीएलमा मेगा अक्सन पनि हुँदै थियो । त्यस दिन नेपालको बलिङ जम्न सकेन भने सन्दीप पनि आईपीएलमा बिकेनन् । श्रृंंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले कसिलो बलिङ गर्दै आयरल्यान्डलाई एक सय २७ रनमा सीमित गरेको थियो ।

सन्दीपले एक विकेट लिँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गरेका थिए । उनी यो सफलता हात पार्ने पहिलो नेपाली बलर पनि बने । चार देश सम्मिलित शृखंलाको प्रदर्शनका आधारमा नेपाल विश्वकप छनोटमा बलियो दावेदार देखिएको थियो ।

समूहगत चरणका तीनवटै खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले निर्णायक मोडमा यूएईसँग पराजित भएर मिसन पुरा गर्न असफल भयो ।

तेस्रो स्थानका लागि भएको खेलमा ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल शुक्रबार स्वदेश फर्किएको छ । सन्दीप स्पीन बलर हुन् र बलिङका रुपमा नेपालले ओमान भ्रमणका रुपमा उल्लेख्य प्रदर्शन ग¥यो । विश्वकप छनोटअन्तर्गत समूहगत चरणमा नेपालले ओमानलाई ७८, फिलिपिन्सलाई ८२ र क्यानडालाई ८० रनमा सिमित गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा ओमानलाई पनि ८७ रनमा सिमित ग¥यो ।

बलरका रुपमा सन्दीपले व्यक्तिगत र टिमका रुपमा बेजोड प्रदर्शन गरे । उनी प्रतियोगितामा १२ विकेटसहित सर्वाधिक विकेट लिने बलर बने । छनोट प्रतियोगिताका ५ खेलमा २० ओभर बलिङ गरेका सन्दीपले ७८ रन खर्चिएका थिए । उनको बलिङ इकोनोमी केवल ३.९ रह्यो । प्रतियोगितामा सर्वाधिक विकेट लिने शीर्ष २२ बलरमध्ये सन्दीप सबैभन्दा किफायती बलर रहेका थिए ।

पछिल्लो प्रदर्शनसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी पनि सुधार भएको छ । उनले ३४ खेलमा ६२ विकेट लिएका छन् भने बलिङ इकोनोमी ६.३२ रहेको छ । ओमान भ्रमणमा निस्कनुअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ६.८१ रहेको थियो । ओमान भ्रमणमा सन्दीपको अर्को उल्लेख्य सफलता भनेको उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक प्लेयर अफ दी म्याच पनि भए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलपछि यो सफलता हात पारेका हुन् । उनी विश्वकप छनोटमा दुईपटक प्लेयर अफ दी म्याच घोषित भए ।

सन्दीपले चार देश सम्मिलित शृंखलाको पहिलो खेलमा ओमानविरुद्ध १७ रन खर्चिएर १ विकेट लिएका थिए भने दोस्रो खेलमा यूएईविरुद्ध २३ रन खर्चिएर १ विकेट हात पारेका थिए । तेस्रो खेलमा आयरल्यान्डविरुद्ध २६ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

विश्वकप छनोटका खेलमा उनले ओमानविरुद्ध २० रन खर्चिएर २ विकेट, क्यानडाविरुद्ध ९ रन खर्चिएर ३ विकेट, क्यानडाविरुद्ध १२ रन खर्चिएर ३ विकेट, यूएईविरुद्ध २४ रन खर्चिएर एक विकेट र ओमानविरुद्ध १३ रन खर्चिएर ३ विकेट हात पारेका हुन् ।

प्रतियोगितामा सहभागी सबै टोलीका बलरमध्ये सन्दीपले आफुलाई अब्बल सावित गरेका हुन् । बलरको प्रयोग र फिल्डिङ सेट अपमा पनि उनको कप्तानी अधिकांश खेलमा सफल देखियो । तर ब्याट्सम्यानबाट भने उनी केही निराश भए ।

आयरल्यान्डलाई एक सय २७ रनमा सिमित गरे पनि नेपालले जित हात पार्न सकेन । विश्वकपको सेमिफाइनलमा तल्लो क्रमसम्म ब्याट्सम्यानहरु भएर पनि नेपालले यूएईसँग एक सय ७६ रनको लक्ष्य पुरा गर्न सकेन । सन्दीप ब्याटिङमै समस्या निम्तिएको बताउँछन् ।

‘हामी अलराउन्ड प्रदर्शन गर्न चुक्यौँ । यो पीच एक सय ८० रनको लक्ष्य पनि पुरा गर्न सकिने खालको थियो,’ सेमिफाइनलमा यूएईसँग हार ब्यहोरेपछि सन्दीपले भनेका थिए,’ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अगाडि बढ्न हामीले १७०÷८० रनको लक्ष्य पुरा गर्न सक्ने सामथ्र्य राख्नुपर्छ ।’

नेपाली टोलीमा युवा खेलाडीको प्रभाव रहेकाले उनीहरुबाट भविष्यमा धेरै अपेक्षा रहेको सन्दीपको भनाई छ । नेपालले अब एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा आईसिसी विश्वकप लिग–२ का खेलहरु खेल्ने छ । यी प्रतियोगितामा पनि सन्दीपको कप्तानी र उनको बलिङ नेपालका लागि महत्वपूर्ण बन्ने छ ।

‘अब गुनासो गरेर बसिरहन सकिँदैन । एउटा राम्रो लेभलको क्रिकेट खेल्ने हो भने यो सबैबाट मुभ अन भएर अगाडि बढ्न जरुरी छ,’ आशावादी रहेका सन्दीप भन्छन्, ‘हाम्रो क्रिकेट पहिलाको भन्दा धेरै माथिल्लो लेभलमा छ । तर, अझै लेभल बढाउन बाँकी छ ।’

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १६ खेल खेल्दै ४१ विकेट लिएका छन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको बलिङ इकोनोमी ३.८७ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *