प्रेस काउन्सीलले दुई अनलाइनलाई राख्यो कालोसूचीमा – Nepal Press

प्रेस काउन्सीलले दुई अनलाइनलाई राख्यो कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सीलले नेपाल आज डटकललाई कालोसूचीमा राखी कारवाही अघि बढाउने निर्णय गरेको छ ।

काउन्सील अन्तरगतको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले उक्त अनलाइनलाई विज्ञापन, प्रेस पास तथा अन्य सेवा–सुविधा उपलब्ध नगराउन सञ्चार मन्त्रालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

नेपाल आजले पत्रकारिताको न्यूनतम मूल्य–मान्यताविपरित सीमाबाहिर गई पेशाको चरम दुरुपयोग गरेको काउन्सीलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिना आधार चरित्रहत्या गर्ने गरेको विषयमा काउन्सीलमा मौखिक तथा लिखित गुनासाहरु आएका थिए ।

साथै, उक्त अनलाइनका विरुद्ध दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्यान्डलाइनबाट पटक–पटक फोन गरी हैरानी दिने गरेको आरोप महिला पत्रकारबाट समेत परेको काउन्सीको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी काउन्सीलले पटक–पटक दिएको निर्देशनलाई अवज्ञा गरेको भन्दै सगरमाथा खबर डटकमलाई पनि कालोसूचीमा राखिएको छ ।

काउन्सीलले २०७८ साउनदेखि फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी, ८ जनगुनासो दर्ता भएकोमा हालसम्म ८१ उजुरी र ४ जनगुनासो फछ्र्यौट भएको जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार १०८ वटा दर्ता÷सूचीकरण नभएका वेव पोर्टलहरु नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यस अवधिमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको काउन्सीलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर