उत्कृष्ट खेल्दाखेल्दै ऐनमौकामा चुकेको नेपाल, अबको ध्यान एकदिवसीय विश्वकपमा – Nepal Press

उत्कृष्ट खेल्दाखेल्दै ऐनमौकामा चुकेको नेपाल, अबको ध्यान एकदिवसीय विश्वकपमा

काठमाडौं । यूएई निर्णायक म्याचमा पराजित भएपछि अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टि–२० विश्वकपमा छनोट हुने नेपालको मिसन असफल भयो । विश्वकपको छनोट खेल्न ओमान पुगेको नेपाली टोली निराशा बोकेर स्वदेश फर्किँदैछ ।

८ वर्षपछि टी-२० विश्वकप खेल्ने नेपालको सपना पुरा हुन सकेन । तर, विश्वकप छनोटलाई विर्सने हो भने नेपालका लागि यो भ्रमणका धेरै सकारात्मक पक्षहरु छन् । नेपालले बलिया टिमहरुलाई सहजरुपमा पराजित गरेर आत्मविश्वास माथि उठाएको छ भने केही खेलाडीहरुले व्यक्तिगत माइलस्टोन बनाएका छन् ।

नेपाली टोलीले ओमानमा पहिलो र अन्तिम खेल घरेलु टोलीसँग खेलेको थियो भने विश्वकप छनोटको पहिलो खेल पनि ओमानसँग नै थियो । विगतमा ओमानविरुद्ध नेपालको रेकर्ड राम्रो थिएन । तर, यसपाली तीनवटै प्रतिस्पर्धामा नेपालले ओमानलाई हार चखायो । चार देश सम्मिलित टी-२० शृंखलापछि विश्वकप छनोट खेलेको नेपालले घरेलु टोलीलाई कुनै मौका दिएन ।

पछिल्लो समय आईसीसीका एसोसिएट सदस्यमध्ये सबैभन्दा बलियो जस्तै देखिएको ओमान र त्यसमा पनि घरेलु टोलीमाथी लगातार हात पारेको जित नेपालका लागि महत्वपूर्ण छ । आगामी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा रहेको आईसिसी विश्वकप लिग–२ मा ओमान सहभागी ७ टोलीमध्ये शीर्षस्थानमा रहेको छ ।

ओमान भ्रमणका क्रममा नेपालले घरेलु टोलीलाई पहिलो खेलमा एक सय ३५, दोस्रो खेलमा ७८ र तेस्रो खेलमा ८७ रनमा सिमित गरेको थियो । विश्वकप छनोटको समूहगत चरणमा फिलिपिन्सलाई ८२ र क्यानडालाई ८० रनमा सिमित गरेको थियो । चार देश सम्मिलित शृंखलामा टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई पनि एक सय २७ रनमा रोकेको थियो र जित हात पार्न सकेन । ओमानविरुद्ध एक सय १८ रनको मामुली लक्ष्य पनि नेपालले रक्षा गर्न सफल भएको थियो ।

निर्णायक म्याचमा ‘कोल्याप्स’

पछिल्ला वर्षहरुमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ब्याटिङ स्तर माथि उकासेको छ । बलिङ परम्परागतरुपमा बलियो रहेकाले नेपाली टोली अब सन्तुलित बनेको चर्चा हुन थालेको थियो । त्यसैले पनि यसपटक नेपाललाई आईसीसी टी–२० विश्वकपमा छनोट हुने बलियो सम्भावित टोलीका रुपमा हेरिएको थियो ।

तर, विश्वकपको विश्वस्तरको छनोटमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सम्भावना चकनाचुर भयो । नेपाल यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो । सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको त्यही नै एकमात्र विश्वकप सहभागिता हो । यूएईविरुद्धको सेमिफाइनल जितेको भए नेपालले दोस्रोपटक विश्वकपमा स्थान बनाउने थियो । तर, निर्णायक म्याचमा नेपालको बलिङ र ब्याटिङ दुवै ‘कोल्याप्स’ भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई एक सय ७६ रनको लक्ष्य दिएको थियो । दोस्रो ब्याटिङ गरेको नेपाल एक सय ७ रनमा समेटियो । नेपालका दिपेन्द्रसिंह ऐरीबाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् । न त बलिङमा नै कसैले उत्कृष्टता देखाए ।

नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास नेपालविरुद्ध यूएईले राम्रो खेलेको बताउँछन् ।

‘हामील‍े हामीभन्दा राम्रो खेलेको टिमसँग हार्‍यौँ । हाम्रो सबैभन्दा खराब र यूएईको सबैभन्दा राम्रो प्रदर्शन एकैपटक भयो । हामी जहाँ पुग्न चाहन्थ्यौँ अब धेरै टाढा भएका छौँ,’ दासले फेसबुकमा लेखेका छन् ।

यूएईका ब्याट्सम्यानले नेपाली बलरसामु खुलेर खेलेका थिए । नेपाली ब्याट्सम्यान भने सुरुबाटै दबाबमा आए । बलिङ र फिल्डिङ दुवैमा यूएई नेपालभन्दा स्तरीय देखिएको थियो ।

आयरल्यान्डसँगकै नियति !

गत वर्ष नेपालमा आयोजित त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलसहित लगातार तीन खेलमा नेपालले २ सयभन्दा बढी रन बनाएपछि ब्याटिङको प्रशंसा भएको थियो । खासगरी कुशल र आसिफको प्रारम्भिक जोडीले नेपाललाई गतिलो सुरुवात दिलाइरहेको थियो ।

मध्यक्रमका दीपेन्द्र र कुशल मल्ल पनि लयमा थिए । ओमान भ्रमणका क्रममा सुरुमा आयोजित चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेलमा आयरल्यान्डलाई १ सय २७ रनमा सिमित गरेपछि नेपाल पहिलोपटक टेस्ट टोलीमाथी जित हात पार्ने संघारमा देखिएको थियो । तर नेपाली टोली एक सय ११ रनमै सिमित भयो ।

विश्वकप छनोटको समूहगत चरणका तीनवटै खेलमा नेपालले शानदार बलिङ गर्दै सबैमा जित हात पारेको थियो । यूएईलाई हराउन सकेको अवस्थामा नेपाल विश्वकपमा छनोट हुने थियो । तर नेपालले यो अवसर र चुनौतीलाई सदुपयोग गर्न सकेन । आसिफ शेख प्रतियोगिताभर लयबाहिर देखिए ।

दुई नयाँ खेलाडी विवेक यादव र लोकेश बमले पाएका अवसरलाई राम्रो सदुपयोग गर्न सकेनन् । दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आरिफ शेखबाहेक अन्य ब्याट्सम्यानहरु खासै चलेनन् । अनुभवी खेलाडीले समेत टोलीलाई आवश्यक योगदान दिन चुके ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछाने टोलीको खराब दिनका कारण विश्वकपका लागि छनोट हुन नसकेको बताउँछन् ।

‘हामी अलराउन्ड प्रदर्शन गर्न चुक्यौँ । यो पीच एक सय ८० रनको लक्ष्य पनि पुरा गर्न सकिने खालको थियो’, यूएइसँगको हारपछि सन्दीपले भने, ‘तर व्याटिङ पुरै टुर्नामेन्टभर तलमाथि भइरहेको थियो । हामीले अहिले सम्मकै राम्रो क्रिकेट खेलेका थियौं तर आजकै दिन नराम्रो भइदियो । हामीमा विश्वकपको क्वालिटी छैन भन्न मिल्दैन । ओमान, क्यानाडा जस्तो टिमलाई जित्नु, अनि आज आएर यस्तो हुनुले एउटा खराब दिन चाहीँ भन्न मिल्छ ।’

नेपालले सन् २०१४ को विश्वकपमा राम्रो प्रदर्शन गरेको भन्दै आइसीसीले त्यसपछि नेपाललाई टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएको थियो । केही वर्षअघि आइसीसीले आफ्ना सबै सदस्यलाई टी–२० को अन्तर्राष्ट्रिय मान्यता दिएको छ । टी–२० विश्वकपमा १६ टोली सहभागी हुने भएकाले नेपालजस्ता टोलीका लागि यो सुवर्ण अवसर मानिन्छ । यसको महत्व सन्दीपले बुझेका छन्।

‘हामी टुर्नामेन्टभरि अपराजित थियौं, तर एक खेल हारेर सबै सकियो । अब फेरी यस्तै टुर्नामेन्ट खेल्न दुई वर्ष कुर्नुपर्ने हुन्छ । क्वालिफाइङ राउन्ड पुग्न पनि त्यसभन्दा अगाडी अन्य थुप्रै क्वालिफाइङ राउन्डहरु खेल्नु पर्ने हुन्छ’, उनले भने, ‘हामीले विश्वकप खेलेको भए, क्रिकेट खेल्ने सपना बोकेका धेरै जनालाई यसले नेपालमा प्रेरित गर्ने थियो ।’

अबको ध्यान एकदिवसीय विश्वकपमा

नेपालले एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा रहेको विश्वकप लिग–२ खेलिरहेको छ । नेपालको अबको ध्यान त्यसतर्फ हुनेछ । प्रतियोगिताअन्तर्गत नेपालले ९ वटा त्रिकोणात्मक श्रृंखला खेल्नुपर्नेमा हालसम्म दुईवटा मात्र खेलेको छ ।

८ खेल खेलेको नेपाल ८ अंकसहित सहभागी सात टोलीमध्ये छैटौँ स्थानमा छ । एउटा टोलीले ३६ खेल खेलेपछि शीर्ष तीन स्थानमा रहने टोली एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् । नेपालले सन् २०१८ मा विश्वस्तरको छनोटमार्फत नै एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो, पहिलोपटक । अब त्यसलाई कायम राख्न पनि कम्तिमा नेपाल विश्वकपको विश्वस्तरको छनोटसम्म पुग्नु जरुरी छ ।

‘अब गुनासो गरेर बसिरहन सकिँदैन । एउटा राम्रो लेभलको क्रिकेट खेल्ने हो भने यो सबैबाट मुभ अन भएर अगाडि बढ्न जरुरी छ,’ ओमान भ्रमणबाटै नेपाली टोलीको कप्तानी यात्रा सुरु गरेका सन्दीप भन्छन्, ‘क्रिकेट पहिलाको भन्दा धेरै माथिल्लो लेभलमा छ । तर, अझै लेभल बढाउन बाँकी छ ।’

नेपाली टोलीमा अहिले पछिल्लो ५/६ वर्षयता आएका खेलाडीहरुको बाहुल्य छ । उनीहरु युवा छन् र अनुभवी खेलाडीहरुको स्थान लिइरहेका छन् । सन्दीप युवा टोली भएकाले धेरै कुरा सिक्न बाँकी रहेको तर धेरेको आशा र भरोसा रहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर