कांग्रेस-एमाले बैठक निष्कर्षविहीन, छलफल जारी रहने – Nepal Press

कांग्रेस-एमाले बैठक निष्कर्षविहीन, छलफल जारी रहने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच संसदमा जारी गतिरोध अन्त्य गर्ने लगायतका विषयमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै पार्टीको शीर्ष नेताहरुले पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा गरेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गरेका थिए । जवाफमा प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद अवरोध गर्नुपर्नाको कारण समाधान नभएसम्म अरु विषयमा सोच्न नसकिने जवाफ दिएका छन् ।

‘प्रधानमन्त्रीले एमसीसीमा अधिकतमक सहमति कायम गर्न राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राख्नुभयो । एमालेले संसदमा राख्दै आएका माग सम्बोधन नभएसम्म नयाँ परिस्थिति नबन्ने धारणा ओलीजीले राख्नुभयो । यद्यपि छलफल निरन्तर राख्ने कुरा भएको छ’, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि पत्रकारहरुसँग भने ।

मन्त्री कार्कीका अनुसार संसद सुचारु गर्न प्रधानमन्त्रीले थालेको पहल आजको बैठक सकिदासम्म निष्कर्षमा पुगेको छैन ।

बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागि थिए । त्यस्तै एमालेबाट अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ , एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायत सहभागि थिए ।

त्यसअघि आजै दिउँसो संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले विगतमा ओली नेतृत्वको सरकारले नै पेश गरेको एमसीसी सम्झौता पारित गराउन आफूले प्रयास गरेको भन्दै सहयोगको अपेक्षा गरेका छन् । त्यसका लागि एमालेले अगाडि सारेका मागहरु सम्बोधन गर्न खुला छलफल गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाएका थिए । सोही अनुसार एमालेका मागहरुबारे बालुवाटार बैठकमा खुलस्त छलफल भएको बताइएको छ । दुवै पार्टीका नेताहरुले शुक्रबारको संसद बैठक अगावै निष्कर्षमा पुग्ने गरी प्रयत्न भइरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर