कांग्रेस र माओवादीसँग एमालेको भेटवार्तापछि नेम्वाङले भने- हामी खुत्रुकेजस्ता होइनौं – Nepal Press

कांग्रेस र माओवादीसँग एमालेको भेटवार्तापछि नेम्वाङले भने- हामी खुत्रुकेजस्ता होइनौं

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल सकारात्मक भएको बताएका छन् । तर, एमाले चिज सकिएपछि अन्तिममा फुटाउने खुत्रुकेजस्तो नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद भवनमा भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले उल्लेख गरे । छलफल सकारात्मक भएको र यसलाई अझै निरन्तरता दिइने पनि उनले बताए ।

नेम्वाङले भने, ‘अध्यक्षहरु एक्लाएक्लै र हामी सबै बसेर छलफल भयो । एमसीसीको बारेमा, राष्ट्रिय सन्दर्भमा, संसदको गतिरोधको सन्दर्भमा कमरेड प्रचण्डहरुसँग सकारात्मक छलफल भएको छ । त्यसलाई निरन्तर अगाडी बढाउने सल्लाह भएको छ ।’

प्रधानमन्त्रीसँग पनि यिनी विषयमा राम्रो छलफल भएको नेम्वाङले बताए । विगतका कुराको समिक्षा पनि भएको उनले जानकारी दिए ।

‘पहिलोपटक धेरै समयपछि यो तहमा छलफल भएको हो । ठोस निष्कर्ष निकालेको छैन । प्रचण्डहरुसँगको छलफल फेरि अगाडी बढ्ने स्थिति छ ।’

उपाध्यक्ष नेम्वाङले एमाले सबैकुरा सकिएपछि अन्त्यमा फुटाएर भए पनि काम चलाउनुपर्ने खुत्रुके जस्तो भने नभएको स्पष्ट पारे ।

उनले भने, ‘अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा हामी खुत्रुके होइनौँ । खुत्रुके माटोको भाँडो जसमा पैसा राखेर जम्मा गर्ने गरिन्छ । सबैचिज सिद्धियो भने अन्तिममा खुत्रुके फुटाएर भएपनि काम चलाउँ भन्ने हुन्छ । हामी त्यस्तो चाहीँ होइनौँ । हामी देश र जनताको हितमा काम गर्छौ । निर्णय गर्छौ ।’

उहाँले छलफल सकारात्मकरुपमा अगाडि बढेको भए पनि ठोस निष्कर्षमा भने नपुगिएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर