देवदह खानेपानीको चुनावका लागि एमालेविरुद्ध ६ दलीय गठबन्धन – Nepal Press

देवदह खानेपानीको चुनावका लागि एमालेविरुद्ध ६ दलीय गठबन्धन

स्थानीयस्तरका संघसंस्थामा एमालेविरुद्ध मोर्चाबन्दी

बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा नेकपा एमाले ६ दलीय गठबन्धनसँग एक्लै लड्ने भएको छ । फागुन १४ गते हुने तेस्रो अधिवेशनमा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र क्रान्तिकारी माओवादीले गठबन्धनको तर्फबाट उमेदवारी दिएका छन् भने एमालेले एकल उमेदवारी दिएको छ ।

केन्द्रमा जस्तै स्थानीयरुपमा पनि काङ्ग्रेसलगायतका दलहरुले गठबन्धन बनाएर निर्वाचन प्रकृयामा जाने तयारी गरेपछि आफूहरुले एकल उम्मेदवारी दर्ता गरी निर्वाचनमा होमिएको एमाले देवदहका नगर इन्चार्ज यम रानाले बताए ।

एमालेलाई केन्द्रीय राजनीतिमा जस्तै यहाँ पनि कर्नरमा पार्ने षडयन्त्र भएपछि वाध्य भएर एकलरुपमा उमेदवारी दर्ता गरेर अघि बढेको उनले बताए । ६ दलीय गठबन्धनले भने एमालेले हठ देखाएको भन्दै एमालेकै कारण सहमति र सहकार्य हुन नसकेको आरोप लगाएको छ ।

गठबन्धनले नेकपा माओवादी केन्द्रका मोतिलाल ढकाल अध्यक्ष रहेको प्यानल बनाएर घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।
एमालेले पनि पार्टीका जिल्ला कमिटी सदस्य तथा देवदह खानेपानीका निवर्तमान अध्यक्ष गुमानसिंह कुँवरलाई अध्यक्षका रुपमा अघि सार्दै घरदैलो गरिरहेको छ । अध्यक्ष कुँवरले अघिल्लो अधिवेशनमा तत्कालीन नेकपाबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएर जितेका थिए ।

एमालेको तर्फबाट गठन गरिएको निर्वाचन परिचालन कमिटीले सहलगानीको आयोजनालाई सम्पन्न गर्ने, दुई सय किलोमिटर पाइप विस्तार गर्ने कार्यलाई पूर्णता दिने, धारा जडान तथा महसुल मूल्य घटाउने, फिल्टर प्लान्ट निर्माण गरी उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलबध गराउनेलगायतका प्रतिवद्धता बोकेर घरदैलोमा गएको निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेकपा एमाले देवदहका अध्यक्ष टिकाराम चापागाईले बताए ।

गठवन्धनमा आवद्ध दलमध्ये नेपाली काङ्ग्रेस देवदहका सभापति गुणाखर भुर्तेलले एमालेका कारण सहमति कायम नभए पनि आफूहरुले धेरै दलहरुलाई एकतावद्ध गरी सहकार्यको अभ्यास थालेको बताए ।

तर सहमति, सहकार्य र एकता भावलाई एमालेले लत्याएको भन्ने गठबन्धनले गरेको आलोचनामा कुनै सत्यता नभएको नेकपा एमालेका क्षेत्रीय सहसंयोजक प्रकाश अर्यालले बताए । एमाले हदैसम्म लचक हुँदाहुँदै पनि ६ दलीय गठबन्धनका नाममा एमालेलाई निषेध गर्ने उदेश्यले सहकार्यको भावलाई वेवास्ता गरेको कारण अहिलेको चुनावी वातावरण बनेको अर्यालले बताए ।

देवदहमा यसअघि सम्पन्न दुई वटा विद्यालयको निर्वाचनमा गठबन्धन विजयी भएको थियो । त्यसकारण पनि गठबन्धन उत्साहित भएको देखिन्छ । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् ।

तर ४ हजार ३ सय मतदाता रहेको देवदह खानेपानीको निर्वाचनमा भने आफूहरुले बाजी मार्ने एमालेका नेताहरु बताउँछन् ।
एमालेकै अगुवाईमा देवदहको खानेपानीको विकासले फडको मारेको भन्दै उनीहरुले करोडौंको सहलगानी आयोजना सम्पन्न गर्न एमालेको अगुवाई आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर