कृषि विश्वविद्यालयः कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारको विशेष अनुसन्धान – Nepal Press

कृषि विश्वविद्यालयः कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारको विशेष अनुसन्धान

काठमाडौं । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कुर्सी खरिद प्रकरणमा लाखौंको घोटाला भएको भन्दै परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान अगाडि बढाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाले कुर्सी तथा फर्निचर खरिदमा भएको घोटलाको प्रारम्भिक अनुसन्धानबाट कैफियत देखिएपछि विषेश अनुसन्धान अगाडि बढाएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता विष्णुप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानबाट खरिदमा कैफियत देखिएपछि अनुसन्धान अधिकृत तोकेर विषेश अनुसन्धान थालिएको बताए ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आएको अख्तियारको चारजनाको टोलीले तीन दिनदेखि बसेर खरिदसम्बन्धी कागजपत्र तथा कुर्सी, सोफाको विवरण संकलन गरेको छ । ३ वर्ष पहिले २ करोड २१ लाख ९ हजार ६ सय ३० को फर्निचर खरिदमा घोटला भएको भन्दै परेको उजुरीमा अख्तियारले अनुसन्धान गर्दै आएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय, मल्टिप्रपोज हल तथा आंगिक क्याम्पसहरुका लागि भन्दै करिब २ सय ९० थान कुर्सी सोफा खरिद गर्दा भ्रष्टाचार भएको स्रोतको दाबी छ । डेढ वर्षदेखि अनुसन्धान चलिरहेको सो मुद्दामा अख्तियारले बेलाबखत बयानसमेत लिँदै आइरहेको छ ।

कुर्सी सोफा खरिद गरेको केही महिनामै कामै नलाग्ने गरी धुलाम्मे भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा समेत फर्निचर आपूर्तिकर्ताले म्याद समाप्त भैसकेपछि मात्र फर्निचर आपूर्ति गरेको तथा १०४ थान फर्निचर आपूर्ति नगरेकोले ४० लाख ७१ हजार रुपैयाँ पूर्वनिर्धारित क्षतिपूर्ति असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।

फर्निचर खरिदका लागि तत्कालीन खरिद कमिटीका संयोजक एवम् रजिष्ट्रार मनराज कोलाक्षपति, योजना निर्देशनालयका प्रमुख अर्जुन श्रेष्ठ, तत्कालीन स्टोर प्रमुख अचल शाक्य, खरिद शाखा प्रमुख बुद्धिनाथ ढुंगाना, लेखा प्रमुख विष्णु देवान, इन्जियनियर यज्ञबहादुर बस्नेत र आमन्त्रित सदस्य छवि पौडेल संलग्न भएको भन्दै उजुरी परेको थियो । उनीहरुले पटकपटक अख्तियार कार्यालयमा गएर बयानसमेत दिइसकेका छन् । अचल शाक्य अहिले कृषि संकायको प्रशाशन प्रमुख छन् भने ढुंगाना विश्वविद्यालयको कामु प्रशासक भएका छन् ।

उनीहरूको मिलेमोतोमा सप्लार्यस बंगलामुखी–बीरा जे.भीले २०७४ चैत्र २० मा फर्निचर सप्लाई गरेको थियो । तोकिएको परिमाणभन्दा कम र गुणस्तरसमेत कम राखेर महंगो मूल्यमा फर्निचर खरिद गरेको देखिएको छ । सो सप्लार्यस कम्पनीले २०७५ असार २४ मा बील पेश गरेर २ करोड २१ लाख ९ हजार ६ सय ३० भुक्तानी लिएको थियो । फर्निचरहरू सप्लाई गर्न कति दिनको म्याद दिई कार्यादेश दिइएको हो सो कुरा उल्लेख गरिएको छैन । तत्कालिन स्टोर प्रमुख अचल शाक्यले आपूर्ती नै नभएको परीमाण आपूर्ति भएको भनेर ‘इन्ट्री’ गरेका थिए ।

तोकिएको संख्याको फर्निचर सप्लाई नै नगरी स्टोर इन्ट्री गरेको देखाएर सप्र्लायसलाई भुक्तानी दिइएको थियो । सप्लायर्सले पेश गरेको बीलमा फर्निचरहरु कुन साइजका हुन् सम्झौताको दररेट कतै उल्लेख गरिएको छैन ।

आपूर्ती भएका फर्निचन तोकिएको डिजाइन र साइजअनुसार ठिक छन् भन्नेसमेत कतै उल्लेख नगरी प्राविधिकको दस्तखत मात्र गरेको पाइएको छ । रकम भुक्तानीका लागि २०७५ साउन ३० गते स्वीकृत अपुरो बिल भरपाइ बिना उठाइएको टिप्पणी र आदेशको भरमा करोडौंको रकम भुक्तानी दिइएको थियो । भुक्तानी दिनुअघि सप्लायर्सले पेश गरी परामर्शदातावाट नाप जाँच गरी निरीक्षण कमिटीले समेत निरीक्षण गरेर बीलको रकम भुक्तानी दिन सिफारिस गरिएको छ तर भुक्तानी दिँदा निरीक्षण कमिटीको सिफारिस संलग्न गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *