अब एसईई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई – Nepal Press

अब एसईई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई

काठमाडौं । सरकारले एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर एसईई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर नियमावली २०७८ ल्याइएसँगै एसईई परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिएइएको छ । प्रदेशलाई अधिकार दिने कानून पारितसँगै प्रदेश सरकारले एसईईको परीक्षा लिने जिम्मा दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालप्रेसलाई बताए ।

यसअघि नै एसईई परीक्षाको जिम्मा प्रदेशलाई दिने तयारी भएको थियो । तर राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा कानूनमा व्यवस्था नगरीकन, ऐनमा व्यवस्था नभई सबै कुराहरु प्रदेश सरकारलाई दिन कानूनत अपठयारो भएपछि रोकिएको थियो ।

अध्यक्ष शर्माले अबको परीक्षाको उत्तरपुस्तिकाहरु प्रदेश सरकारले जिल्ला र केन्द्रका कुराहरुलाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेशन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्ने बताए ।

उनले प्रदेश सरकारले अधिकार पाएपछि प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्ने पनि बताए । संसोधित नियमावली बुधबारदेखि नै कार्यन्वय हुने गरी राजपत्रमा प्रकाशित गरेको छ । परीक्षाकाे प्रश्नपत्र भने बाेर्डले  तयार गर्नेछ ।

एसईई बोर्डले निर्धारण गरेको मिति र समयमा सबै प्रदेशमा एकैपटक वा प्रत्येक प्रदेशमा फरकफरक हुने गरी सञ्चालन गर्न सकिने संशोधित नियमावली २०७८मा उल्लेख गरिएको छ । परीक्षाको सञ्चालन तथा व्यवस्थापनको लागि बोर्डलाई सहयोग पुयाउन प्रत्येक प्रदेशमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति बनाउनुपर्ने प्रावधान छ ।

परीक्षा सञ्चालन गर्दा सम्बन्धित प्रदेशको शिक्षा विषयमा हेर्न मन्त्रालयको सचिव अध्यक्ष रहने गरी ५ सदस्य समिति गठन गर्नुपर्नेप्रावधान रहेको छ । परीक्षा गर्ने अधिकार प्रदेशलाई दिएसँगै प्रदेश सरकारले बोर्डले तोकेको मिति र समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न बोर्डलाई सहयोग गर्ने, परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण गर्ने, केन्द्राध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति तथा परीक्षा सञ्चालन गर्दा जिल्लास्थित जिल्ला परीक्षा समन्वय गर्ने, विद्यालयबाट विद्यार्थीले भर्नुपर्ने परीक्षा आवेदन फारम भराउने, परीक्षा समावेश हुने परीक्षार्थीको विवरण अद्यावधिक गरी सोको जानकारी बोर्डलाई गराउनुपर्नेछ ।

यस्तै केन्द्राध्यक्ष निरीक्षक शिक्षक वा कर्मचारी मध्ये कसैले परीक्षामा अनियमितता गरेको पाइए त्यस्तो व्यक्तिलाई तथ्काल निलम्बनमा राख्ने गरी आवश्यक कारबाहीको लागि बोर्ड समक्ष सिफारिस गर्ने, परीक्षा केन्द्रमा अनियमिता गरेको पाइएमा त्यस्तो परीक्षा केन्द्र बन्द गरी अर्को परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउने, परीक्षाको लागि आवश्यक पर्ने उत्तरपुस्तिका प्रबन्ध गर्ने अधिकार प्रदेश सरकारलाई दिएको छ ।

यसैगरी बोर्डले तोकेको मापदण्डअनुसार उत्तरपुस्तिका परीक्षा र सम्परीक्षण सम्बन्धी कार्य गराउने, उत्तरपुस्तिका परीक्षा गर्ने परीक्षकको लागि जारी भएको आचारसंहिता पालना गर्ने गराउने, परीक्षण भई सम्परीक्षण भएको उत्तरपुस्तिका प्राप्त गरी परीक्षाथीृको प्राप्ताङ प्रविष्ट गराउने र सोको नतिजा प्रकाशनको लागि बोर्डमा पठाउने समेत प्रदेश सरकारलाई रहेको छ ।

परीक्षा सञ्चालन उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सम्बन्धी कार्यमा संलग्नलाई बोर्डको नीति निर्देशनमा रही पारिश्रमिक दिने व्यवस्था रहेको छ। यस्तै परीक्षा भइरहेको बेला कुनै विपत्त आएमा तत्काल निकासाको लागि बोर्ड समक्ष सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ ।

बोर्डले सर्टिफिकेटशन गर्ने जिम्मेवारी भने आफैसँग राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर