प्रचण्ड-माधवका कारण कांग्रेसले एमालेका माग पूरा गर्ने स्थिति बन्न लागेको रामचन्द्रको खुलासा (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवका कारण कांग्रेसले एमालेका माग पूरा गर्ने स्थिति बन्न लागेको रामचन्द्रको खुलासा (भिडिओ)

तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा प्रचण्ड र माधवले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।

प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट्याए ।

‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भनेपनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, पौडेलले भने । वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौ भन्ने सपना नदेख्न गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।

तर, वर्तमान गठबन्धन टुटेमा कस्तो गठबन्धन बन्छ भन्ने बारेमा अहिल्यै भन्न नसकिने उनको भनाइ थियो । ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,’ उनले भने ।

एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । ‘एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो’, पौडेलले भने, ‘जनताका बीचमा भ्रम फैलाउने काम कम्युनिष्टले गरेका छन् ।’

वरिष्ठ नेता पौडेलले प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरेपनि केपी ओलीले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । ‘केपी ओलीको नेतृत्वको सरकारले एमसिसी संसदमा दर्ता गराएको थियो, यसलाई पास गर्न एमालेले सहयोग गर्नेमा विश्वस्त छौ,’ उनले भने ।

एमालेको माग पूरा गरे एमसिसीमा सहयोग गर्न सकिने बताएको भन्दै पौडेलले भने, ‘कांग्रेस एमालेको माग पूरा गर्ने स्थितिमा पुग्न थालेको छ, त्यस्तो नहोला भन्न पनि सकिँदैन ।’

वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने र गठबन्धन गर्नुपर्ने दुईवटा धार देखा परेको भन्दै अहिलेको परिस्थितिका कारण गठबन्धन आवश्यक रहेको टिप्पणी गरे ।

‘समावेशिताका कारण कुनैपनि पार्टीको बहुमत आउने स्थिति छैन, कम्युनिष्ट एक ठाउँमा उभिए भने काङ्ग्रेसले प्रतिस्पर्धा गर्न गाह्रो छ,” उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर