सत्ता गठबन्धनमा छटपटी सुरु भयो : एमाले महासचिव – Nepal Press

सत्ता गठबन्धनमा छटपटी सुरु भयो : एमाले महासचिव

रुपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल रोकिएपछि सत्तारुढ गठबन्धनमा छटपटी भएको बताएका छन् ।

बुटवलमा पार्टीको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेको जनलहरबाट आत्तिएकाहरु चुनावमा जान डराइरहेको बताए ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा सरकारमा रहेका दलहरुले नै दोहोरो चरित्र देखाएर जनतालाई मुर्ख बनाउने काम भएको पनि बताएका छन् ।

पाँच दलीय गठबन्धनमा रहेको दलहरुले देखाएको दोहोरो भूमिकाको विरोधमा नेकपा एमाले रहेको पोखरेलको भनाई छ ।

उनले भने, ‘सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो । प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन । पहिला सरकारको दृष्टिकोण के हो ? सरकारले दुईटा कुरा गर्न मिल्दैन । यो भन्दा असफल गठबन्धन के हुन्छ ?’

एमसीसीका नाममा मुलुकमा उपद्रो मच्चाउने काम भइरहेको टिप्पणी गर्दै उनले एमसीसीको मस्यौदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उहाँहरु छलफल गर्नुहुन्छ, बैठक गर्नुहुन्छ । तर, अहिले एमसीसीविरोधी भएको देखाउन नाटक गरिरहनुभएको छ । अब नेपाली जनता उनीहरुको दोहोरो चरित्रबाट प्रष्ट भइसके ।’

देश अहिले सङ्गिन मोडमा उभिएको टिप्पणी गर्दै महासचिव पोख्रेलले पाँच दलीय गठबन्धन बनाएर एमालेको नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर