भोलिको संसद बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन – Nepal Press

भोलिको संसद बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले विहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरेकी हुन् ।

भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको सचेतक भुसालले बताइन् ।

‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् ।

कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् । उनले पार्टीको संसदीय दलको कार्यालयले विहीबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।

हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि र कर्मा घले उपचारका क्रममा भारतमा छन् ।

सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् । एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेपछि मात्रै एमसीसीको विषयमा निर्णय गर्ने एमालेको अडान छ ।

सत्ताघटक माओवादी र नेकपा एसले एमसीसीको विपक्षमा मत दिने निर्णय गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर