तारिख नधाएपछि लुम्बिनीका मन्त्री रायमाझीको पद संकटमा – Nepal Press

तारिख नधाएपछि लुम्बिनीका मन्त्री रायमाझीको पद संकटमा

रुपन्देही । लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको पद अदालती प्रक्रियाको बेवास्ता गर्दा तामेलीमा परेको छ । यसअघि एमाले नेतृत्वको सरकारमा राज्यमन्त्री बनेको भन्दै जसपाले गरेको कारबाहीविरुद्ध अदालतमा रहेको उनको मुद्दा तारेख लिन नगएका कारण तामेलीमा परेपछि उनलाई थप संकट परेको हो ।

जसपाले उनीसहित मन्त्री बनेका सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डेलाई पार्टीबाट कारबाही गरे पनि अदालतको आदेशबाट पुनःबहाली भएपछि पुनः कारबाही गरेको थियो । सो कारबाहीपछि चारजना नै पार्टीले अन्याय गरेको भन्दै अदालत गएकोमा पछि सुमन शर्मा रायमाझीले गल्ती स्वीकार गर्दै पार्टीको निर्णय मान्ने भन्दै नयाँ गठबन्धनमा बसेर मन्त्री बनेकी थिइन् ।

उनीसँगै मुद्दा लडेका पूर्वमन्त्री विजय यादवले आफ्नो, सन्तोष पाण्डे र कल्पना पाण्डेको मुद्दा यथावत् रहेको तर रायमाझीको तामेलीमा परेको जानकारी दिएका छन् । ‘अदालतको बेवास्ता गरेका कारण तारेख लिन पनि नआएको र कसैलाई विश्वास पनि नगरेका कारण यस्तो भएको हो, उहाँलाई पार्टीले कारबाही फिर्ता लिएको जनाए पनि अदालतमा कागजपत्र नपुगेकाले यस्तो भएको हो’, उनले भने ।

जसपाले कारबाही फिर्ता लिएर उनलाई नयाँ सरकारमा पठाए पनि कागजी सामग्री अदालतमा नपठाएको स्रोतले बतायो । कानून व्यवसायीहरूले बहालवाला मन्त्रीले अदालती प्रक्रियालाई बेवास्ता गर्नु राम्रो नभएको बताएका छन् । लुम्बिनीका न्यायाधीवक्ता श्रीकृष्ण सुवेदीले मुद्दा तामेलीमा परे पनि पुनः अगाडि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर