गगनलाई माओवादी नेताहरुको जवाफ- कांग्रेसको एकल बहुमतको सरकारमा झुण्डिएका होईनौं – Nepal Press

गगनलाई माओवादी नेताहरुको जवाफ- कांग्रेसको एकल बहुमतको सरकारमा झुण्डिएका होईनौं

काठमाडौं । चितवन पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेहरुलाई सरकारमा बसिरहन नैतिक अधिकार नभएको बताए ।

चितवनमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै थापाले भनेका थिए– ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं। तर, सँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ ।’

थापको यो टिप्पणी एमसीसीको विपक्षमा मतदान गर्ने बताइरहेका माओवादी केन्द्र र एकीकृत समाजवादी लक्षित थियो । उक्त टिप्पणीको माओवादीका दुई नेताले जवाफ दिएका छन् ।

वाईसीएल इन्चार्ज एवम माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफूहरु कांग्रेसको एकल बहुमतको सरकारमा नझुण्डिएको बताएका छन् ।

‘विरालोले ‘यो घरका सबै मरे, सबै दूध म मात्रै खान्थे’ भन्ने उखानको ख्याल आयो,’ फेसबुकमा उनले लेखेका छन्, ‘मित्र गगन जी, तपाईंको एकल बहुमतको सरकारमा हामी झुण्डिएका होईनौं । हाम्रो ढाडमा टेकेर एमसीसी बोकेर बुर्कुसी मारिरहेको सरकार हामीले छोडेको दिन बुढानीलकण्ठको बार्दलीमा पुग्ने हो ।’

दीपशिखाले गठबन्धन भन्दा एमसीसी प्यारो किन लागेको भनेर समेत गगनलाई प्रश्न गरेका छन् । उनको प्रश्न छ, ‘अँ बरू भन्नुस् त– मुलुकको स्थिरता, राष्ट्रवाद र गठबन्धनका लक्ष्यभन्दा राष्टघाती एमसीसी किन प्रिय लागेको ? कांग्रेसको अगुवाईमा भएका महाकाली, टनकपुर, कोशी जस्ता सम्झौताले देशले के पायो ? राष्ट्रघात भयो कि राष्ट्रवाद ?’

माओवादीका अर्का केन्द्रीय सदस्य एवम सांसद सुदन किराँतीले पनि थापालाई जवाफ फर्काएका छन् ।

राष्ट्रको स्वाधिनता भन्दामाथि गठबन्धन नहुने किराँतीको भनाइ छ । ‘ज्ञानेन्द्रले थर्काउँदा नडराएको नागरिक बिचरा गगन थापाले थर्काउन खोज्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रको स्वाधीनता भन्दामाथि गठबन्धन हुँदै होइन । हिजोसम्म संशोधनबिना पास हुनै सक्दैन भन्ने थापाले आज के खाएछ ? जनता जान्न चाहान्छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर