उदयपुरको जंगलमा मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टी, एक पक्राउ – Nepal Press

उदयपुरको जंगलमा मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टी, एक पक्राउ

मोरङ । उदयपुरको कटारी नगरपालिका-८ श्रृष्टीको जंगलमा फागुन सात गते मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टी भएको छ ।

भारतको राजस्थानका ५० वर्षका राम किसन मिणाको हत्या भएको पुष्टी भएसँगै प्रहरीलरे उदयपुर बेलस्रोतका २८ वर्षका कमल विकलाई पक्राउ गरेको छ ।

विकले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले जानकारी दिए ।

मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाबिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतीय नागरिक मिणा माघ २६ गते देखी सम्पर्कमा नरहेको भनी पीडितका परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिएका थिए ।

परिवारको निवेदनसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले फागुन नौं गते पथरी-८ बाट विकलाई पक्राउ गरेको हो । लेनदेनको बिषयमा बादबिबाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्विकार गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पुलको ठेक्का पट्टा गर्ने विक र मृतक मिणाबिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम काज गर्ने भनी सम्झौता भए अनुसार विगत डेढ महिना देखी मोरङको डास खोलामा काम गर्दै आई रहेका थिए ।

काम गर्ने क्रममा माघ २३ गते विकको विरगंजमा रहेको अर्को साईड हेर्न भनी मृतकले प्रयोग गर्दै आईरहेको गाडीमा दुवै जना विरगंज गएको र माघ २५ गते फर्कने क्रममा विकको घर कटारी जादै गर्दा बाटोमा लेनदेन सम्बन्धी विवाद भएको थियो ।

वादविवादकै क्रममा मादक पदार्थसमेत सेवन गरेका विकले आवेगमा मिणाको घाँटीमा केवल तारको डोरीले कसेर हत्या गरेको र हत्यापछि शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलोमिटर माथी जंगलमा लगेर फालिदिएको खुल्न आएको छ ।

विकले मृतकले प्रयोग गर्ने मोवाइल फोन कोशी नदिमा फालिदिएको तथा उक्त नम्बरको गाडी भारतीय बजार भिमनगर लगी बेवारीसे अवस्थामा छोडेर फर्किएको समेत खुल्न आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर