वृषेशचन्द्र लालसहित लोसपाका केही नेताले पार्टी छाडे (भिडिओ) – Nepal Press

वृषेशचन्द्र लालसहित लोसपाका केही नेताले पार्टी छाडे (भिडिओ)

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले औपचारिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

लालले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरेको बताए ।

लोकतान्त्रिक विधिबाट पार्टी सञ्चालन हुन नसकेको तथा माग र मुद्दा बिर्सेकाले लोसपा परित्याग गरेको उनको प्रष्टोक्ति छ । नेतृत्व पंक्तिले पार्टीमा आफूखुसी निर्णय गर्न थालेको पनि उनले आरोप लगाए ।

प्रदेश र जिल्ला संयोजकहरू सामूहिक निर्णयबिनै मनोनीत गरिएको कुरालाई लक्षित गर्दै उनले भने, ‘पार्टी सञ्चालन गर्नेबेला आफूखुशी निर्णय हुन्छ । छलफल समेत गर्ने परिपार्टीको अन्त्य गरियो । बाध्य भएर पार्टी परित्याग गरेँ ।’ सल्लाह नै नगरी पार्टी एकीकरण र विभाजन भएको पनि उनको गुनासो छ ।

लालसँगै संविधानसभाका सदस्य डा. विजयकुमार सिंहसहितका नेताहरू पनि लोसपा परित्याग गरेर तमलोपामा प्रवेश गरेका छन् । यस्तै धनुषाका धिरेन्द्रबहादुर सिंह, रामजी राय, उमेश मण्डल, सतिश लाल कर्णसहितका नेताहरु पनि लोसपा परित्याग गरे ।

नेपाली कांग्रेस परित्याग गरी मधेस आन्दोलनका बेला महन्थ ठाकुरले तमलोपा बनाएका थिए ।

पछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल विभाजित भयो । उक्त पार्टीबाट विभाजन भएका पार्टीहरुसहित ६ दल र तमलोपा मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो ।

पछिल्लो समय राजपा र उपेन्द्र यादव नेतृत्वको पार्टी एकीकरणपछि जनता समाजवादी पार्टी गठन भयो । तर, धेरै समयसम्म एकता टिक्न सकेन । त्यसपछि महन्थ ठाकुरको नेतृत्वमा जसपा छाडेर अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरिएको छ ।

जसपा फुटको संघारमा पुगेका बेला धनुषाका रविशंकरलाल कर्णले तमलोपा निर्वाचन आयोगमा दर्ता गराएका थिए । अहिले लालसहितका नेताहरु प्रवेश गरेपछि तमलोपा पुनः चर्चामा आएको छ । तमलोपा लोकतान्त्रिक विधि प्रक्रिया अनुसार अगाडी बढ्ने लालले विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर