सन्दीप लामिछानेको दुर्लभ ‘प्लेयर अफ दी म्याच’ अवार्ड ! – Nepal Press

सन्दीप लामिछानेको दुर्लभ ‘प्लेयर अफ दी म्याच’ अवार्ड !

काठमाडौं । टी-२० फर्म्याट ब्याट्सम्यानहरुको क्रिकेट मानिन्छ ।

हुन पनि होनाहार बलरहरु पनि टी-२० क्रिकेटमा निरिह हुन्छन् । तल्लोक्रमका ब्याट्सम्यानहरुले पनि खेललाई उलटपुलट बनाउँछन् ।

त्यसैले हुन सक्छ, प्लेयर अफ दी म्याच अवार्डमा प्राय अलराउन्डर र ब्याट्सम्यानहरुको बर्चस्व रहने गर्छ ।

औसत प्रदर्शन गर्ने बलरहरु जितको निर्णायकमा गणना हुँदैनन् । यसको मतलब बलरहरु टी-२० मा हावी नै हुन सक्दैनन् भन्ने भने होइन । बलरहरुले जिताएका खेलहरु पनि धेरै छन्। ।

नेपाली स्पीनर सन्दीप लामिछानेका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो प्लेयर अफ दी म्याच अवार्ड प्राप्त गर्न केही वर्ष र धेरै खेल कुर्नु पर्‍यो ।

किफायती बलिङ र हरेक खेलमा औसत करिब २ विकेट लिएका सन्दीप ४ वर्ष र ३१ खेलपछि सोमबार पहिलोपटक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्लेयर अफ दी म्याच बने ।

ओमानमा जारी टी-२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत क्यानडाविरुद्ध नेपाल ८ विकेटले विजयी हुँदा सन्दीपलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

टोलीको कप्तानसमेत रहेका सन्दीपले चार ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई नेपालले ८० रनमै सिमित गरेको थियो ।

सन्दीपले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३२ खेल खेल्दै ५८ विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ६.४३ रहेको छ । सन्दीपले टी-२० क्रिकेटमा एक सय २१ खेल खेल्दै एक सय ६३ विकेट लिएका छन् जसमा बलिङ इकोनोमी ६.८६ छ ।

विश्वका सबै जसो ठूला व्यावशायीक क्रिकेट प्रतियोगिता खेलेका सन्दीपको दुर्भाग्य भन्नुपर्छ, उनले इन्डियन प्रिमियर लिग, बिग बास लिगजस्ता प्रतियोगितामा एकपटक पनि प्लेयर अफ दी म्याचको अवार्ड जित्न सकेका छैनन् । अन्य थुप्रै फ्रेन्चाइज लिगमा विकेट लिएर पनि उनी प्लेयर अफ दी म्याचका लागि गणनामा आउन सकेका छैनन् ।

नेपाली टोलीले जित हात पारेका पछिल्ला खेलहरुमा ब्याट्सम्यान वा अलराउन्डरहरुले यो अवार्ड पाइरहेका थिए ।

सन्दीपको कप्तानीमा नेपालले दोस्रो प्रतियोगिता खेलिरहेको हो।

विश्वकप छनोटको समूंहगत चरणका तीनवटै खेल जितेको नेपालले मंगलबार सेमिफाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्दै छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको चिर प्रतिद्धन्द्धी यूएईलाई हराउन सके नेपाल विश्वकपमा छनोट हुने छ।

यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो। त्यसको दुई वर्षपछि मात्र सन्दीप नेपाली टोलीमा समावेश भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर