माधवले सम्झाएपछि झलनाथ ‘कुलडाउन’ – Nepal Press

माधवले सम्झाएपछि झलनाथ ‘कुलडाउन’

काठमाडौं । बालुवाटारको गठबन्धन बैठकमा अध्यक्ष माधव नेपालले एमसीसीलाई सदनमा टेबल गर्न दिने सहमति जनाएपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निकै आक्रोशित भए ।

बालुवाटारको निर्णयलाई ‘अमेरिकीहरुसँग झुक्नेको निर्णय’ भनेर कडा प्रतिक्रिया दिएका खनाल दिउँसो संसद बैठकमा एमसीसी टेबल गर्दा विरोधमै उभिए । यसले सत्तारुढ एकीकृत समाजवादी एमसीसीका मामिलामा विभाजित भएको सञ्चार भयो ।

खनालकै अन्तुष्टिमाथि छलफल गर्न नेपालले सोमबार सचिवालयको बैठक नै बोलाए । बानेश्वरको थापागाउँस्थित नेकपा एसकै केन्द्रीय सदस्य लक्ष्मण केसीको प्रेसिडेन्सियल कलेज भवनमा बसेको सचिवालय बैठक मुलतः झलनाथको आक्रोश सम्बोधनमै केन्द्रित भयो ।

अध्यक्ष नेपालले एमसीसी सदनमा टेबल गर्न दिनको कारणबारे ‘ब्रिफिङ’ गरे । गठबन्धन जोगाउन सदनमा टेबल गर्न सहमति दिएपनि एमसीसीका विपक्षमा मतदान गर्ने कुरामा कुनै तलमाथि नुहने नेपालले बताए । र, सचिवालयको बैठकबाट विपक्षमा मतदान गर्ने प्रष्ट निर्णय गराउन पनि आफू तयार रहेको बताए । त्यसपछि खनाल पनि आफ्नो आक्रोशलाई थाती राख्न सहमत भए ।

‘उहाँको ठूलो असन्तुष्टि होइन,’ बैठकमा सहभागि एक सचिवालय सदस्यले नेपाल प्रेससँग भने, ‘अलिकति बुझाइमा फरक परेको मात्रै हो । छलफलका लागि अगाडि बढाउन दिने कुरामा हाम्रो सहमति नै हो । थोरै बुझाइमा फरक परेको मात्रै हो ।’

उनले थपे, ‘उहाँलाई एमसीसी विरोधी माहोलले अलिकति प्रभावित बनाएपछि कडा प्रतिक्रिया दिनुभयो तर आजको छलफलपछि उहाँ कूल हुनु भएको छ।’

एकीकृत समाजवादीका उपमहासचिव एवम प्रवक्ता जगन्नाथ खतिवडाले पनि अध्यक्षले निर्णय लिने क्रममा केही बुझाइमा फरक परेको भए पनि अब सबै मतभेद सकिएको बताए ।

‘काम गर्दै जाने क्रममा अध्यक्षले संवाद गर्दै जाँदा आफ्नो ढंगले निर्णय लिनुपर्ने परिस्थिति आयो,’ खतिवडा भन्छन्, ‘उहाँले निर्णय लिनुभयो । हिजो प्रक्रियाका बारेमा थोरै असन्तुष्टि थियो । आज बसियो र छलफल गरियो । देशक्त सांसदहरुले यसलाई फेल गराउँछन भन्ने हामीलाई विश्वास जाग्यो । सबै कुरा सकियो ।’

पार्टी एमसीसीको पक्षमा होइन विपक्षमा मतदान गर्छ भनेर खनाललाई आश्वस्त पार्न विपक्षमा मतदान गर्ने मात्रै होइन, अरुलाई पनि त्यसमा ल्याउन पहल गर्ने निर्णय भएको खतिवडा बताउँछन् ।

‘अस्ति एमसीसीको विपक्षमा उभिने भनेका थियौं,’ उनले भने, ‘आज विपक्षमा मतदान गर्ने निर्णय गर्‍यौं । त्यती मात्रै भनेनौं, गर्ने गराउने काममा पनि लाग्ने भन्यौं ।’

सचिवालयको बैठकपछि महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा पनि सदनमा एमसीसीका विपक्षमा मतदान गर्ने उल्लेख छ ।

सरकारबारे भने एकीकृत समाजवादीले आफूले एकपक्षीय रुपमा कुनै कदम नचाल्ने निर्णय गरेको छ। एमसीसीको विरोध गर्ने कुरा र सरकारमा रहेको विषयलाई जोड्न आवश्यक नरहेको खतिवडाको भनाइ छ ।

‘सरकारमा जाँदा एमसीसी पास गर्ने शर्तमा गएका थिएनौं,’ खतिवडाले भने, ‘सरकारमा रहने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्ने कुरा आवश्यक छैन् । यो देशको कुरा हो । यसबारे हामीलाई कुनै पाठ पढाइरहन जरुरी छैन ।’

एकीकृत समाजवादीबाट सरकारमा रहेका अधिकांश मन्त्री सरकार छोड्न नहुने पक्षमा छन् । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले त सार्वजनिक रुपमै आफू एमसीसीको विरोधमा नरहेको बताइसकेकी छिन् । मन्त्रीहरुकै दबाबका कारण बालुवाटार बैकमा नेपालले एमसीसी सदनमा टेबल गर्न सहमति जनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *