देउवाको आशंकामा एमालेको आश्वासन : ढुक्क हुनुस्, प्रचण्ड-माधवसँग हाम्रो सहकार्य र गठबन्धन हुँदैन – Nepal Press

देउवाको आशंकामा एमालेको आश्वासन : ढुक्क हुनुस्, प्रचण्ड-माधवसँग हाम्रो सहकार्य र गठबन्धन हुँदैन

बालकोटको बटमलाइन- पहिले धुन्धुकारीसँगको गठबन्धन तोड्नुस्, एमसीसीमा एमाले प्रयोग हुँदैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवादेखि देउवाको दूतका रुपमा बालकोट ओहोरदोहोर गरिरहेका कांग्रेस नेताहरुको एउटै आशंका छ- कतै एमालेले आगामी चुनावमा माओवादीसँग गठबन्धन पो गर्छ कि ? अहिले गठबन्धन तोडेर एमालेको साथ खोज्दा भोलि एमालेले कम्युनिस्ट गठबन्धन पो रोज्छ कि ?

एमसीसीका कारण सत्ता गठबन्धन धरमराएका बेला देउवा र प्रचण्ड दुवैले बालकोट देखाएर एक अर्कामाथि दबाब बढाइरहेका छन् । देउवा यसबीचमा दुईपटक आफैं बालकोट गइसकेका छन् भने प्रचण्डले कुनै पनि बेला आफू बालकोट जानसक्ने भनेर देउवामाथि दबाब बढाएका छन् ।

एकले अर्कोलाई दबाबमा पार्न एमालेको त्रास देखाइहेका बेला बालकोटको बटमलाइन चाहिँ के हो त ? बालकोटको बटमलाइन बुझ्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले संसदीय दलका नेता सुवास नेम्वाङबीच सोमबार बिहान भएको टेलिफोन संवादको अन्तर्यले धेरै बोल्छ ।

देउवा र नेम्वाङबीच आइतबार संसदमा एमसीसी सम्झौता टेबल भए लगत्तै पनि संसद बैठकबाट बाहिरिदै गर्दा लबीमा घोचपेच चलेको थियो । दुई नेताबीच घोचपेच चल्दा कांग्रेस महामन्त्री गगन थापादेखि एमाले सांसद यज्ञराज सुनुवारसम्मका धेरै नेताबीच हाँसो समेत चलेको थियो ।

देव गुरुङको आपत्तिको प्रसंग निकाल्दै देउवाले नेम्वाङलाई भने– गुरुङले केपी ओलीलाई प्रश्न गरेका हुन् । गुरुङको प्रहार केपी ओलीलाई हो । ओलीजीलाई भन्नुस, उहाँले अघि बढाएको कुरा पास गरौं । ओलीजीलाई भन्नुस, ओलीजीलाई भन्नुस् न बाबा ।

जवाफमा नेम्वाङले आफ्नै शैलीमा भने– प्रधानमन्त्रीज्यूले भनेको ठिकै हो, देव गुरुङजीको भाषण केपी ओलीलाई नै गरेको प्रहार हो । प्रधानमन्त्रीज्यूलाई त लक्षित गरिएकै होइन ।

देउवा–नेम्वाङ फोनवार्ता

सत्ता गठबन्धनका प्रचण्ड–माधवका कारण गठबन्धन तोड्ने कि एमसीसी छोड्ने भन्ने दबाबमा परेका देउवा पछिल्लो समय एमालेसँग नियमित संवादमा छन् । देउवाको तर्फबाट कांग्रेसका अन्य नेताहरु पनि एमाले अध्यक्ष ओलीदेखि विभिन्न नेताहरुसँग ‘ट्र्याक टु’ संवादमा छन् ।

सोमबार विहान प्रधानमन्त्री देउवासँग एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङले टेलिफोनमा कुरा गरे । उनले आइतबार संसदमा सत्ता पक्षमै रहेका माओवादी र नेकपा एसका नेता तथा सांसदहरुको व्यवहार स्मरण गराउँदै ‘प्रधानमन्त्रीज्यू, तपाईले त्यस्तो कसरी सहन सक्नुहुन्छ’ ? भन्ने प्रश्न गरेका थिए ।

सरकारले प्रस्ताव टेबल गर्ने, विभागीय मन्त्री वहिस्कार गरेर टेबल गर्नै सदनमा नआउने, सत्ता पक्षकै प्रमुख सचेतकले टेबल गर्ने कुराको विरोधमा नियमापत्ति नै गरेर पार्टीको धारणा दर्ज गर्ने र सत्तापक्षकै नेता (झलनाथ खनाल) ले उभिएरै विरोध गर्ने जस्ता शैलीप्रति नेम्वाङले प्रधानमन्त्रीसँग कसरी सहन सकेको भन्ने प्रश्न गरेका थिए ।

जवाफमा देउवाले ‘तपाईले भनेको ठिक हो, त्यस्तो त कसरी हुन्छ ? म केही न केही गर्छु । तर ओलीजीलाई भन्नुस् न बाबा । यो एमसीसी पास गरौं ।

नेम्वाङले देउवालाई अर्को पनि के ढुक्क हुन भनेका छन् भने, कतै गठबन्धन टुट्यो भने एमालेले प्रचण्ड–माधवसँग सहकार्य गर्छ कि ? वा केपी ओली प्रधानमन्त्री बन्न खोज्छन् कि ? यो आशंका नगर्नुस् । ढुक्क हुनुस् एमालेले कम्तिमा तीनै तहका चुनाव एक्लै लड्छ, माओवादीसँग सहकार्य गर्दैन ।

कांग्रेस नेताहरुको साझा आशंका र सरोकारलाई एमालेले आफ्नो तर्फबाट सम्बोधन गर्न खोजिरहेको छ । नेम्वाङले नेपाल प्रेससँगको कुराकानीमा पनि आउने चुनावमा एमालेले माओवादीसँग सहकार्य गर्न नमिल्ने र नसक्ने बताए । त्यसका केही आधार पनि उनले दिएका छन् ।

नेम्वाङको पहिलो आधार छ– अघिल्लो चुनाव हामीले गठबन्धन गरेर जित्यौं र पार्टी एकता पनि गर्यौं । अहिले पार्टी एक रहेन । कसको कति जनमत छ, कसको कति हैसियत हो भनेर जनताबाट परीक्षण हुनैपर्छ, त्यसका लागि पनि कांग्रेस ढुक्क भए हुन्छ एमालेले आउने कुनै पनि चुनावमा माओवादीसँग गठबन्धन गर्दैन । त्यो चुनावमा जनताले हामीलाई आ आफ्नो आकार देखाएपछि हैसियत अनुसारको कुरा हुनसक्ला ।

नेम्वाङको दोस्रो आधार पनि छ,त्यो के भने– एमाले जनादेशबाट होइन परमादेशबाट सरकारबाहिर जानु परेको हुनाले ताजा जनादेशबाट बाहेक अन्य तिकडमबाट सरकारमा जान चाहदैन । कतै गठबन्धन तोडिएर केपी ओली नै प्रधानमन्त्री बन्ने हुन् कि भन्ने आशंका नराखे हुन्छ,एमालेको प्राथमिकता चुनाव हो । अर्को कुरा प्रचण्ड र माधव नेपाल मिलेर केपी ओलीलाई काम गर्न दिएनन्, सत्ता र पार्टी नेतृत्वबाट हटाउन खोज्दा नेकपा दुर्घटनामा परेको हो । त्यो तीन वर्षमा केपी ओली गलत थिए कि प्रचण्ड–माधवको गल्ति थियो भन्ने कुरा पनि जनताले नै फैसला गर्नुपर्छ । त्यसैले आउने चुनाव प्रचण्ड माधव मिलेर लड्छन्, एमाले एक्लै जनतामा गएर को गलत थियो भन्ने फैसला सुन्न चाहान्छ ।

नेम्वाङले भनेकै कुरा एमालेका सबै नेताहरुले कांग्रेसलाई भन्दै आएका छन् । बालकोट पुगेका देउवालाई पनि ओलीले भनेका छन्– कांग्रेस र एमाले जस्ता लोकतान्त्रिक शक्ति मिलेर मुलुकलाई निकास दिनुपर्छ भन्ने लागेको हो भने, पहिले धुन्धुकारीहरुसँगको संगत छाडेर आउनुस् । अनि एमालेले साथ दिन्छ ।

ओलीले प्रचण्ड–माधव कुन हदसम्मका समस्या हुन् भन्ने कुरा आफूले झेलिसकेको र उनीहरुलाई आफूले जति कसैले नचिन्ने भन्दै देउवालाई यसबारेमा प्रष्ट भएर एमालको साथ खोज्न सुझाव दिएका छन् । उनले कतै प्रचण्ड बालकोट पुगेर विगतको ५०/४० जस्तै नयाँ भागबण्डाको प्रस्ताव गरे भने कम्युनिस्ट मिल्छन् भन्ने आशंका गरेका छन् ।

ओलीसहित एमाले नेताहरुले भनेका छन्– कम्तिमा एक चुनाव गठबन्धन वा सहकार्यको सम्भावना छैन । प्रचण्डले धोखा दिएर गएकाले माओवादीका नेता कार्यकर्तालाई एमालेमा समेट्ने तर पार्टीगत गठबन्धन नगर्ने नीति छ । माधव नेपाललाई त एमालेमा ढोका बन्द छ, त्यो पार्टीलाई मान्यतै दिएका छैनौं, माधव नेपालसहित केही व्यक्तिबाहेक अरु व्यक्तिगत रुपमा फर्केर आउनेलाई ढोका खुला छ ।

देउवाले केपी ओलीसँग सत्ता सहकार्यको समेत प्रस्ताव गरेका छन् । केपी ओलीले भन्ने गरेका ‘राष्ट्रिय समस्या’सँगको गठबन्धन तोडेपछि एमाले सरकारमा सहभागी होस् भन्ने देउवाको प्रस्ताव थियो । तर ओलीले भने पहिले गठबन्धनबाट मुक्त भएर आउन भनेका छन् ।

एमालेका नेताहरु भन्छन्– देउवा सरकारमा एमाले सहभागी हुने भन्ने त अहिले छलफलको विषय नै छैन । आकारको हिसाबले झण्डै एक सय सिट भएको पार्टीलाई आधा आकारको पार्टीको नेतृत्वको सरकारमा कसरी समेट्ने भन्ने प्रश्न हुन्छ । एमाले भागबण्डाको राजनीतिमा फर्किन चाहान्न ।

ओलीले देउवासँग राखेका सरोकार

एमसीसी एमाले र कांग्रेस मिलेर पारित गर्नेदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव लिएर गएका देउवासँग ओली लगायत एमालेका शीर्ष नेताले कांग्रेसप्रति नै संशय फर्काएका छन् । एमसीसी पारित गर्न एमालेको सहयोग लिने र गठबन्धनका नाममा एमालेमाथि नै प्रहार गर्ने हो भने त्यो स्वीकार्य छैन भन्ने प्रष्ट जवाफ देउवाले पाएका छन् ।

ओलीले भनेका छन्– मुलुकको लागि हानिकारक गठबन्धनबाट देउवा मुक्त हुनुपर्छ अनिमात्र सहकार्यको कुरा आउँछ । एमालेलाई प्रयोग गर्न खोजिएको हो भने त्यो सम्भव छैन । कांग्रेस स्वतन्त्र निर्णय गर्न सक्ने होस् अनिमात्र मुलुकलाई सही दिशामा ल्याउन मुख्य शक्तिहरु मिलेर जाने कुरामा एमालेले आफ्नो पोजिशन प्रष्ट पार्छ ।

ओलीले देउवालाई गठबन्धन नै बोकेर हिड्ने हो भने एमालेलाई कुनै समस्या नरहेको समेत बताएका छन् । गठबन्धनका नाममा असंवैधानिक र अलोकतान्त्रिक गतिबिधिको हिस्सेदार कांग्रेस बन्दै जाँदा एमालेलाई नै फाइदा हुने नेताहरुको भनाइ छ ।

तेस्रो सरोकार चाहिँ एमालेले सभामुखको भूमिकामा कांग्रेसको धारणा मागेको छ । संविधान र कानूनविपरित सभामुखले एमालेलेबाट निष्कासिन सांसदको कारवाही रोकेर अवैध दललाई मान्यता दिएको विषय सच्याउने कुरामा कांग्रेस सहमत होस् भन्ने कुरा आफूहरुले राखेको नेम्वाङ बताउँछन् ।

त्यो भनेको सभामुख हटाउने कुरामा कांग्रेस सहमत होस् भनेको हो ? यो प्रश्नमा एमालेले खुलेर जवाफ दिएको छैन । तर शीर्ष तहमा सभामुख अग्नि सापकोटा हटाउन एमालेले कांग्रेसको प्रतिबद्धता मागेको चर्चा भने चलेको छ । यस्तै छलफलहरु चलिरहेकै कारण एमालले काउन्टर महाअभियोग दर्ता नगरेको हो । किनकी गठबन्धनबाट कांग्रेस बाहिरिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरामाथिको महाअभियोग समेत निष्क्रिय हुने अवस्था आउँछ ।

गठबन्धन पनि जोगाउँ, एमसीसी पारित गर्न एमालेको पनि साथ लिउँ भन्ने चाल हो भने त्यो सम्भव नरहेको प्रष्ट सन्देश ओलीले देउवालाई दिएका छन् । माओवादी र नेकपा एसले एमसीसीको विपक्षमा मत दिने निर्णय गरिसकेको अवस्थामा अब कांग्रेसलाई पनि गठबन्धनबारे निर्णय गर्ने दबाब बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर