नेपालको घातक बलिङसामु क्यानडा ८० रनमा समेटियो – Nepal Press

नेपालको घातक बलिङसामु क्यानडा ८० रनमा समेटियो

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको छ ।
क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २-२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे ।
३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुई छक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।
सन्दीपले चार ओभरमा १२ रन खर्चिए। उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए । अविनाशले ३ ओभरमा ७ रन मात्र दिए ।
समूहका अघिल्ला दुवै खेल जितेको नेपाल सेमिफाइनल नजिक छ । तर क्यानडा र ओमानले विशाल अन्तरले जित हात पारेमा नेपाल समूहगत चरणबाटै बाहिरिन पनि सक्नेछ ।  क्यानडासँग हारेपनि समूह विजेता बन्ने सम्भावना पनि नेपालको छ ।
समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ । नेपालको नेट रनरेट करिब साढे ४ अंक छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ खेलबाट २ अंक छ । क्यानडाको नेट रनरेट साढे २ अंक छ ।
अर्को समूहबाट आयरल्यान्ड समूह विजेता र यूएई समूह उपविजेता बनेर सेमिफाइनल पुगेका छन् । समूह विजेता बने नेपालले यूएईसँग र उपविजेता बने आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर