प्रचण्ड-माधवले सरकारमा बस्ने नैतिकता गुमाइसके : कांग्रेस नेता गाैतम – Nepal Press

प्रचण्ड-माधवले सरकारमा बस्ने नैतिकता गुमाइसके : कांग्रेस नेता गाैतम

काठमाडौं । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सरकारमा बस्ने नैतिक अधिकार गुमाइसकेको बताएका छन् ।

रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै गौतमले माओवादी र समाजवादीले सरकार र गठबन्धनमा बस्ने नैतिक अधिकार गुमाइसकेको बताएका हुन् ।

एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको गौतमको टिप्पणी छ । उनले भने, ‘उहाँहरु सरकारमा पनि हुनुहुन्छ। क्याविनेटमा झण्डा पनि हल्लाउनु भएको छ । अर्कोतिर सडकमा मुर्दावाद पनि भन्दै हुनुहुन्छ । यो भूमिका राम्रो होइन् ।’

उनले एमसीसी सम्झौता हुँदासम्म माधव नेपाल, झलनाथ, प्रचण्ड प्रधानमन्त्री हुँदापनि सम्झौताको प्रक्रिया अघि बढेको सुनाए । उनले भने, ‘त्यसो हो भने उहाँहरु सबै राष्ट्रघाती हुन नि त । हिजो एमसीसी टेबुल भयो । एमसीसीको कारण मत विभाजन भएको छ। हामीपनि चिन्ता गरिरहेका छौं। राजनीतिक दलहरुले स्पष्ट बोल्नुपर्छ । एमालेले पनि स्पष्ट बोल्नुपर्ने हो । प्रचण्डजीको माओवादी केन्द्र पनि स्पष्ट रुपमा बोल्नुपर्ने हो । नेकपा एकीकृत समाजवादीले पनि स्पष्ट बोल्नुपर्ने हो । तर, यहाँ द्वेध चरित्र देखियो । मुलुकले निकास पाउनको लागि राम्रो तवरले जानुपर्छ । पास हुन्छ कि फेल हुन्छ, त्यो अब सदनमा थाहा हुन्छ । तर, हामीलाई विश्वास छ–यो पास हुन्छ ।’

उनले अमेरिकालाई नेपालमा आउन एमसीसी नचाहिने पनि टिप्पणी गरे । उनले भने, ‘एमसीसी पास गराउने कुरामा एमालेसँग हामी विश्वस्त छौं । उ सकारात्मक रुपमा आउँछ । एमसीसी पास गर्छ । एमसीसी पास गर्ने कुरा यो त कलंकको टीका होईन, यो समृद्धिको रातो टीका हो ।’

नेता गौतमले एमसीसी धेरै गिजोलिएको गुनासो पोखे । गौतमले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव संसद्मा लैजाँदै गर्दा पनि कांग्रेस यसको पक्षमा उभिएको स्मरण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर