सफल चुरा उद्यमी यमुना, जसले ६ हजार लगानीमा जोडिन् लाखौं सम्पत्ति – Nepal Press
सफलताको कथा

सफल चुरा उद्यमी यमुना, जसले ६ हजार लगानीमा जोडिन् लाखौं सम्पत्ति

रुपन्देही । धेरै वर्ष पहिला भारतको दिल्लीमा आफ्ना दाइहरुलाई भेट्न गएकी थिइन्, यमुना चापागाइँ । त्यतिबेला उनले त्यहाँका महिलाहरुले चुरा उत्पादन गरिरहेको देखिन् । रुपन्देहीको शुद्धोदन गाउँपालिका– ४ फर्साटिकरकी यमुनालाई त्यो दृश्यले छोयो । परिणामतः उनी अहिले सफल चुरा उद्यमी भएकी छन् ।

भारतबाट फर्केपछि यमुनाकले आफ्नी कान्छी छोरीको नाम भगवतीको नामबाटै ‘भगवती महिला चुरा उद्योग’ नामाकरण गरेकी छन् ।

१७ वर्षको उमेरमा यमुनाले २०५७ सालमा विहे गरेकी थिइन् । विहेको १० वर्षपछि उनका श्रीमानको मृत्यु भयो । त्यसपछि दुई छोरीहरु नै उनका सहारा बनेका छन् । र चुरा उद्योगले उनलाई जिविकोपार्जन मात्रै भएको छैन, एक सफल उद्यमी बनाएको छ ।

श्रीमान्को मृत्युपछि २०६९ सालमा ६ हजार रुपैयाँ लगानीमा चुरा बनाउने उद्योग सुरु गरेकी उनले चुरासम्बन्धी धेरै कुरा सिकेकी मात्र छैनन्, धेरैलाई आत्मनिर्भर बनाउन प्रेरित गरेकी छन् । चुरा उद्योग सञ्चालनका लागि लागि आवश्यक पर्ने केमिकलका बारेमा जान्न र बुझ्न उनी भारतको फिरोदावादसमेत पुगेकी थिइन् । अहिले उनी आफैंले काँच र मेटलबाट विभिन्न थरिका आकर्षक चुरा र कंगनहरु बनाउँदै आएकी छन् ।

नवलपरासी, रुपन्देही र कपिलवस्तुका बजारहरुमा आफ्नो क्षेत्र बनाएको उद्योगले दुईवटा आफ्नै यातायातका साधनहरुबाट चुराको बजारीकरण गरिरहेको छ । ६ हजारमा सुरु भएको उनको यो उद्योगमा अहिले आधा करोडभन्दा बढी लगानी भइसकेको छ । यो उनको आफ्नै मेहनतले कमाएको सम्पत्ति हो ।

पहिले घरमै चलाइएको यो उद्योग २०७१ सालमा जिल्लाको घरेलु कार्यालय र गाउँपालिकामा दर्ता भइ सञ्चालनमा छ । चुरा बनाउन र बजारीकरण गर्न १० जना दिदीबहिनी र दुईजना दाजुभाइलाई प्रत्यक्ष रोजगार दिएकी छन् यमुनाले । उद्योगले राम्रै गति लिएको समयमा कोरोनाले केही कमी ल्याए पनि कामलाई निरन्तरता दिएको उनको भनाइ छ ।

अहिले उनी उद्यमी मात्र छैनन्, विभिन्न सरकारी एवम् गैरसरकारी संघ, संस्थाहरुले आयोजना गर्ने चुरा बनाउने तालिम दिन देशका धेरै ठाउँमा पुग्न थालेकी छन् ।

यमुनाले चुरासँगै गार्मेन्ट उद्योग पनि चलाएकी छन् । यो उद्योगमा स्थानीय ६ जना महिलाहरुले काम पाएका छन् । गार्मेन्टमा आफूले नै कटिङ गर्छिन् र सिलाउँछिन् पनि । आधुनिक सिलाइकटाईका बारेमा यूट्युब हेरेर नै सिकेकी हुन् ।

मासिक करिब दुई लाख रुपैयाँ आफ्नो उद्योगमा काम गर्ने कर्मचारीहरुका लागि यमुनाले खर्चिनुपर्छ । घरव्यवहार, छोरीहरुका पढाइ, स्वास्थ्य उपचार, बिजुली, पानी सबै खर्च कटाएर वर्षमा उनले १० लाख बढी कमाउँछिन् । ४० वर्ष पनि नपुगेकी यमुनामा जोश, जाँगरमा कुनै कमी आएको छैन ।

आफ्नो उद्योगमा स्थानीय दिदीबहिनी र दाजुभाइहरुलाई रोजगार दिएको, आफ्नो गाउँठाउँको प्रतिष्ठा बढाएकोमा सन्तुष्ट छन् यमुना र उनका दुई छोरी ।

यमुनाले आफ्नी कान्छी छोरीलाई चुरा र जेठी छोरीलाई गार्मेन्टको जिम्मेवारी दिइसकेकी छन् । दुवै छोरीहरु आफ्नो कामप्रति प्रतिबद्ध छन् ।

उनको प्रगतिशील र उन्नतिपूर्ण काम गरेको देखेर विभिन्न संघसंस्थाहरुले पुरस्कृत र सम्मानित गरेका छन् । पुरस्कार र सम्मानले यमुनालाई नयाँ उत्साह दिएको छ ।

अहिले यमुना चापागाईंको परिचय एकल महिला, गृहिणी, चुरा उद्योगीमा मात्रै सीमित छैन, सकारात्मक सोच र दृढ इच्छाशक्तिले यमुनालाई प्रदेशकै नमूना र सफल महिला उद्यमी बनाएको छ । छोटो समयमा सफल २ उद्योगको उद्यमी मात्र होइन, धेरै स्थानीयको रोजगारदाता तथा प्रशिक्षक बनेकी छन् उनी ।

विहे भएको छोटो समयमै पतिको निधनपछि अनेक दुःख र आर्थिक अभाव झेलेकी उनलाई चुरा उद्योगले सफलता दिलाएको छ । पीडा, अभाव र संघर्षबाट सफलता पाएकी उनले आफ्नोजस्तो पीडा अरु महिलालाई नपरोस् भन्नकै लागि आर्थिक क्षमता बढाउन, सीप भएका काममा हात लगाउन आग्रह गर्दै आएकी छन् र उनले दिने धेरै तालिममा यसैलाई ध्यान दिन आग्रह गर्ने गर्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर