टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा को बन्ला दुई शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान ? – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा को बन्ला दुई शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान ?

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याट्सम्यानका लागि शतक बनाउन सक्नु ठूलो सफलता मानिन्छ। विश्वका होनहार खेलाडीहरु पनि यो सफलताका लागि आँतुर हुन्छन् ।

टेष्टमा २७ र एकदिवशीय अन्तर्राष्ट्रियमा ४३ सहित ७० सतक बनाएका भारतका विराट कोहली अझैसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउन सकिरहेका छैनन् । त्यसो त, पूरा टिम एक सय रनभित्र सिमित भएका थुप्रै घटनाहरु छन् । त्यसैले ब्याट्सम्यानका लागि टी-२० अन्तर्राष्ट्रिय शतक बनाउनु चानचुने सफलता होइन् । यस्तो सफलता प्राप्त गर्ने नेपाली ब्याट्सम्यान तीन जना मात्र छन् । पारस खड्का र ज्ञानेन्द्र मल्लपछि हालसालै मात्र कुशल भुर्तेलले पनि टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका छन् ।

ओमानमा जारी विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत शनिबार भएको फिलिपिन्सविरुद्धको खेलमा कुशलले उक्त सफलता हात पारेका हुन् । त्यसअघि पारस र ज्ञानेन्द्रले एकएकपटक टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका थिए । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिइसकेका छन् भने ज्ञानेन्द्र नेपाली टोलीमै छन् ।

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका कुशल फेरि एकपटक चर्चामा छन् । उनिसामू दुई टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बन्ने अवसर छ ।

कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८ खेल खेल्दै एक शतक र ४ अर्धशतक बनाएका छन् । उनले ६७ रनको औसत र एक सय ४४.६ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् ।

कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलदेखि सर्वाधिक लगातार अर्धसतक बनाउने विश्व कीर्तिमान पनि बनाएका थिए । दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने प्रयासमा रहेका अर्का नेपाली ब्याट्सम्यान ज्ञानेन्द्र यतिबेला अर्धशतकका लागि पनि संघर्षरत छन् ।

उनले जारी ओमान भ्रमणका क्रममा विश्वकप छनोटअघि भएको चार देश सम्मिलित शृंखलामा ओमानविरुद्ध १३, यूएईविरुद्ध २२ र आयरल्यान्डविरुद्ध ५ रन बनाएका थिए ।

विश्वकप छनोटको पहिलो खेलमा ओमानविरुद्ध १५ रन बनाए भने दोस्रो खेलमा फिलिपिन्सविरुद्ध उनी ब्याटिङमा उत्रनै परेन । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रले ३७ खेल खेल्दै एक शतक र एक अर्धशतकको मदतमा ७ सय २८ रन जोडेका छन् ।

उनी दोस्रो सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान हुन् । पारस खड्काको नाममा ३३ खेलमा एक शतक र चार अर्धशतकसहित ७ सय ९९ रन छ ।

दीपेन्द्रसिंह ऐरीले ३१ खेलमा ३ अर्धशतकसहित ७ सय १३ रन जोडेका छन् । जारी ओमान भ्रमणका क्रममा मात्र दीपेन्द्रले दुई वटा अर्धशतक थपेका हुन् । उनी पहिलो शतकका लागि संघर्षरत छन् । कुशल भुर्तेलको नाममा ४ सय २ रन रहेको छ ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपालका लागि पारस खड्काले मात्र शतक बनाएका छन् । पारसले १० खेलमा एक शतक र एक अर्धशतकसहित ३ सय १५ रन बनाएका थिए । उनी दोस्रो धेरै एकदिवशीय अन्तर्राष्ट्रिय रन बनाउने नेपाली ब्याट्सम्यान हुन् ।

शीर्षस्थानमा रहेका ज्ञानेन्द्रले १६ खेलमा ४ अर्धशतकसहित चार सय १८ रन जोडेका छन् । कुशलले ६ खेलमा एक अर्धशतकसहित एक सय ४४ रन बनाएका छन् । उनले एक खेलमा ८४ रन बनाएका थिए ।

जारी ओमान भ्रमणका क्रममा चार देश सम्मिलित शृंखलाको सुरुको दुई खेलमा आराम दिइएका कुशलले तेस्रो खेलमा आयरल्यान्डविरुद्ध १५ रन जोडेका थिए । उनी विश्वकप छनोटको पहिलो खेलमा ओमानविरुद्ध ५ रन मात्र जोडेर आउट भए ।

छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले सोमबार क्यानडासँग खेल्दै छ । यो खेल जितेमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनल पुग्ने छ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो । कुशलको अविजित एक सय ४ रनको मदतमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएर विशालअन्तरको जित आधार तयार भएको हो ।

समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ । दुई खेलपछि क्यानडा र ओमानको समान २ अंक छ। फिलिपिन्सले अंक जोड्न सकेको छैन । कुशल सामान्य प्रतिद्वन्द्वीविरुद्ध मात्र होइन बलियाविरुद्ध पनि आकर्षक पारी खेल्न सक्ने क्षमता राख्छन् ।

गत वर्ष नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा उनले नेदरल्यान्ड्सविरुद्ध फाइनलमा सहित तीनपटक अर्धसतक बनाएका थिए । उनकै शानदार प्रदर्शनमा नेपालले लगातार तीन खेलमा २ सय भन्दा बढीको लक्ष्य दिएको थियो । यसपटक सतक बनाएकाले आगामी खेलमा कुशलको मनोबल थप उच्च हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर