माओवादीलाई आफ्नै निर्णय कार्यान्वयनमा सकस, तत्काल सरकारबाट फिर्ता नहुने – Nepal Press

माओवादीलाई आफ्नै निर्णय कार्यान्वयनमा सकस, तत्काल सरकारबाट फिर्ता नहुने

मन्त्रीहरूलाई पनि पक्षमा भोट हाल्न ह्वीप नलगाउने सहमति

कैलाली । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गरे सरकारबाट फिर्ता हुने निर्णय गरेको माओवादी केन्द्र तत्काल सरकारबाट फिर्ता नहुने भएको छ ।

सरकारले बुधबार नै एमसीसी टेबल गर्ने तयारी गरेको थियो । त्यसै दिन माओवादी केन्द्रले संशोधनबिना एमसीसी टेबल गरे सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । तर, आइतबार सरकारले संशोधनबिना नै एमसीसी टेबल गरेको छ ।

एमसीसी टेबलपछि माओवादी अध्यक्ष प्रचण्डले एमसीसीका विपक्षमा उभिने आफूहरूले पहिले नै प्रष्ट पारिसकेको प्रष्टीकरण दिइसकेका छन् । सामाजिक सञ्जालमार्फत उनले विवाद र आफूहरूको विरोधबीच सरकारले एमसीसी टेबल गरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरूको सहमतिबिना सरकारले एमसीसी टेबल गरेको तर, सरकारबाट फिर्ता हुने विषय अहिल्यै निश्चित नभएको बताए ।

‘सरकारले प्रेसर गरेको हुँदा सभामुखले एमसीसी टेबल गर्न रुलिङ गरेका हुन्’ गुरुङले भने, ‘अहिलेसम्म हामीले सहमति गरेका छैनौँ । यसमा भोटिङ हुँदा त्यसको विपक्षमा हामी भोट गर्छौं । तर, सरकारबाट फिर्ता हुने भन्ने विषय अहिले आउँदैन ।’

गुरुङले माओवादी केन्द्र सरकारमा रहने नरहने भन्ने कुरा निर्माणार्थ प्रस्तुत गर्दा मात्रै थाहा हुने बताए ।

‘टेबल गर्ने कुरा प्रक्रियाको कुरा हो । सभामुखले टेबल गरेर रुलिङ गरेका हुन् । एमसीसीमा असहमति जनाउँदा पनि प्रक्रियामा सहभागी भयौँ’ उनले भने, ‘निर्माणार्थ रूपमा प्रस्तुत गर्ने बेलामा हामी के गर्ने भन्ने कुरा आउँछन् । त्यो बेलामा सरकार छोड्नु पर्ने भन्ने कुरा पनि आउन सक्छ । ’

आफ्नो पार्टीको तीव्र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको उनको आरोप छ ।

‘हामीले अहिले पनि भनिहेरेका छौँ यसमा सहमति छैन । लगातारको कार्य व्यवस्था परामर्श समितिको बैठक र दलका बैठकहरू पनि यस विषयमा आफ्नो धारणा राख्दै आएका छौँ’, उनले भने ।

पहिले सदन सुचारु गर्ने र दलहरू बिचमा समझदारी बनाएर मात्रै एमसीसी टेबल गर्ने आफूहरूको माग सम्बोधन नभएको उनको भनाइ छ । तर, एमसीसी फेल गराउने दाबी गरे । सरकारमा सहमति भएका मन्त्रीहरूले पनि यसको विपक्षमा भोट हाल्ने उनको दाबी छ ।

‘सरकारमा भएका घटकहरूले एमसीसीबारे सबैलाई स्वतन्त्र छोड्ने सहमति भएको छ । सरकारमा भएका मन्त्रीहरूले पनि यसमा समर्थन गर्नु पर्छ भन्ने बाध्यकारी नबनाउने निर्णय भएको छ’ उनले भने , ‘अब प्रधानमन्त्रीले भनेको कुरा मान्नै पर्छ भन्ने पनि भएन । मन्त्रीहरूले पनि यसको विरोधमा बोल्न पाउने भए । संसद्मा विरोधमा भोट हाल्न पनि पाए ।’

‘सरकारले ल्याएको प्रस्ताव माथि सरकारकै मन्त्रीले विपक्षमा मतदान गरे प्रधानमन्त्रीले बर्खास्त नगर्लान्’ उनी भन्छन् , ‘आफैंले विरोधमा बोल्न र भोट हाल्न पाउने प्रस्ताव ल्याउने अनि विरोध गरेको भन्दै बर्खास्त गर्न कहाँ पाउँछन् ?’

माओवादीका अर्का नेता लीलामणि पोख्रेलले पनि आफूहरूको विमत्तिको बीचमा टेबल भएको एमसीसी पारित हुन नसक्ने दाबी गरेका छन् । उनले आजको कार्य व्यवस्था परामर्श समितिमा समेत माओवादीले लिखित असहमति जनाएको बताए ।

‘कार्य व्यवस्था परामर्श समितिका तीनैजना सदस्यहरूले नोट अफ डिसेन्ट लेखेका छन्’ उनले भने ‘हाम्रो सहमतिबिना एमसीसी टेबल भएको छ हामी विपक्षमा मतदान गर्छौं । ’

संसद् खोल्नु पर्ने , राजनैतिक दलहरूबीच सहमति हुनुपर्ने संशोधन पछि मात्रै टेबल गर्नु पर्ने अडान लिँदै आएको भन्दै उनले भने हाम्रो कुनै पनि विषयमा सम्बोधन भएन हामी विरोधमा छौँ ।

उनले सरकारमा रहने कि फिर्ता हुने भन्ने विषयमा फेरि छलफल हुने बताए

‘सरकारले जबर्जस्ती एमसीसी टेबल गरेको छ । सरकारबाट फिर्ता हुने भन्ने विषयमा फेरी छलफल गछौँ’ उनले भने , ‘१२ गते संसद् बैठक बस्दैछ । त्योभन्दा अघि नै पार्टीको स्पष्ट धारणा आउँछ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर