पार्टीको अवरोध- रावलको अवज्ञा, बोल्न दिएकोमा सभामुखसमक्ष एमालेको आपत्ति – Nepal Press

पार्टीको अवरोध- रावलको अवज्ञा, बोल्न दिएकोमा सभामुखसमक्ष एमालेको आपत्ति

भीम रावल भन्छन्- विश्व मानचित्रमा देश नै नरहने खतरा छ, एमाले मौन बस्ने ?

काठमाडौं । प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव दर्ता हुँदै गर्दा नेकपा एमालेका सांसद भीम रावललाई व्यक्तिगतरूपमा बोल्न दिएकोमा सभामुखसमक्ष एमालेले आपत्ति जनाएको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई कारवाही नगरी एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको राजिनामा वा कारबाही सदरको माग गर्दै एमालेले ६ महिनादेखि लगातार संसदको कारबाहीमा भाग लिएको छैन ।

आइतबार पनि सभामुखले सदनको कारबाही सुरू गरेलगत्तै एमाले सांसदहरू नियमित प्रक्रियाअनुसार नाराबाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । तर, भीम रावल भने आफ्नै कुर्सीमा बसिरहेका थिए ।

एमसीसी सम्झौता पेस गर्न लागिएकोमा सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आपत्ति जनाउँदै आफ्नो भनाइ राखेपछि सभामुखले एमाले सांसद रावललाई समय दिएका थिए । जबकी एमालेले संसदको नियमित प्रक्रियामा भाग लिएको छैन भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत गएको छैन ।

सभामुखलाई नै अश्वीकार गरेर पार्टीले सदनको कारबाहीमा भाग नलिएका बेला एमालेको अध्यक्षमा पराजित भएका प्रभावशाली नेता रावलले नियमित कारबाहीमा भाग लिएपछि एमालेकै सांसदहरू अचम्मित भए । सत्तापक्षले भने एमालेको अहिलेसम्मको सदनको कारबाही बहिष्कार अन्त्य भएको अर्थमा परिभाषित गरेका छन् ।

एमालेको आपत्ति, सभामुखको ध्यानाकर्षण

आइतबारको संसद बैठक सकिएलगत्तै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतले सभामुख अग्नि सापकोटालाई च्याम्बरमै भेटेर रावललाई बोल्ने समय दिएकोमा आपत्ति जनाएका थिए । पार्टीले सदनको कारबाहीमा भाग नलिएको र संसदीय दलले कुनै पनि सांसदका नाम नटिपाएको अवस्थामा रावललाई कसरी बोल्न दिइयो भन्ने प्रश्न भट्टराईले गरेका थिए ।

जवाफमा सभामुखले देव गुरुङले बोलिसकेपछि आफूसँग पर्याप्त समय पनि रहेको र रावलले समय मागेकाले बोल्न दिएको बताएका थिए ।
एमालेले भने संसदीय दलले नाम नदिएका सांसदलाई बोल्न दिने हो भने भोलि ३० जनाको नाम दिए सभामुखले बोल्न समय दिने कि नदिने ? भन्ने प्रश्न गरेका थिए ।

सभामुखले रावललाई बोल्न दिनुमा त्रुटी हुन पुगेको भन्दै एमालेको सरोकारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । एमालेका प्रमुख सचेतक भट्टराईले यसबारेमा दलले सांसद रावलसँग पनि सोध्ने बताए ।

रावल भन्छन्- देश नै नरहने अवस्था आइसक्यो

यसैबीच एमाले नेता रावलले एमसीसीजस्तो संवेदनशील र राष्ट्रघाती सम्झौताका विषयमा एमालेको मौनता उपयुक्त नरहेकोले आफू सार्वभौम जनताको प्रतिनिधिका रुपमा नबोली रहन नसकेको प्रतिक्रिया दिए ।

नेपाल प्रेससँग कुरा गर्दै रावलले भने, ‘दुनियाँमा यस्तै राष्ट्रघाती सम्झौताका कारण कतिपय देशहरू विश्वको मानचित्रबाटै हराइसकेका छन् । यस्तो विषयमा एमाले नबोली अन्य विषयमा नारा लगाएर बस्न मिल्छ ? मैले संसदीय दलसँग सोधेर होइन, आफ्नै विवेकले बोलेको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर