झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : महामन्त्री थापा (भिडियो) – Nepal Press

झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : महामन्त्री थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् ।

विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए ।

‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो । किनकि ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता गरेको हो । देव गुरुङजीले प्रचण्ड र झलनाथ खनालले माधवकुमार नेपाललाई राष्ट्रघाती मुर्दावाद भन्न सक्नुपर्‍यो । अनि बल्ल एमसीसीबारे उहाँहरूले टिप्पणी गर्नुको अर्थ हुन्छ’, थापाले भने ।

उनले विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको एमसीसी सम्झौतालाई तत्कालीन नेकपाकै नेताहरुले विरोध गर्न अराजनीतिक भएको बताए ।

एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि डबल स्ट्याण्डर्ड देखाउन नहुने बताए ।

‘आधाले विरोध गरेझैं गर्ने आधाले समर्थन गरेझै गर्ने भन्ने हुँदैन । सरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्धमा उभिने भन्नेपनि हुँदैन । अब सबैले डबल स्ट्याण्डर्ड त्याग्नुपर्छ । पक्षमा हुने पक्षतिर विपक्षमा हुने विपक्षतिर लाग्नुपर्छ’, थापाले भने ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसीको छलफलमा सहभागी हुनु सकरात्मक भएको बताए ।

‘नाराबाजीकै बीच पनि एमालेले छलफलमा भाग लिएको छ । माओवादी, नेमकिपा र जनमोर्चालेपनि एमसीसीबारे छलफल गरेका छन् । अब संसदले आफ्नो प्रक्रिया पुर्याएर निर्णय लिन सहज हुनेछ’, थापाले भने ।

उनले सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरुले सरकार छाडनुपर्ने बताए । ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन । त्यसका लागि सरकार छाड्नुपर्छ’, थापाको भनाइ छ ।

महामन्त्री थापाले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले संसदमा दर्ता गरेकोले मतदानको बेलासम्म एमाले एमसीसीका पक्षमा उभिने दाबीसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर