एमसीसी सकसः पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा – Nepal Press

एमसीसी सकसः पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा देखा परेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिनासर्त पारित गर्ने, एमसीसी टेबुल गर्न दिने तर संसोधनबिना अनुमोदन नगर्ने, एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिनेलगायतका धारणा निर्माण भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस बिना सर्त एमसीसी संसदमा टेबुल गरेर अनुमोदन गराउने पक्षमा उभिएको छ ।

गत साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार सरकारको नेतृत्वकर्ता कांग्रेस १६ फागुन भित्र एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट देखिएको छ ।

‘गठबन्धन टुटे टुटोस तर एमसीसी पारित गराउने पक्षमा कांग्रेस छ,’ गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले पार्टी धारणा सार्वजनिक गर्दै आएका छन् ।

यसअघि एमसीसीका बारेमा ‘हार्डलाइनर’ को रुपमा देखा परेको नेकपा एस शनिबारको स्थायी कमिटी बैठकपछि भने केही हदमा लचिलो भएको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसीसीलाई संघीय संसदमा बिना अबरोध टेबुल गर्न दिने तर संसोधन बिनाअनुमोदन भने नगराउने पक्षमा स्थायी कमिटीले निर्णय लिएको जानकारी गराइसकेका छन् ।

‘एमसीसीलाई संसदीय प्रक्रिया अघि बढाउन टेबुल गर्न दिने पक्षमा नेकपा एसले निर्णय गरेको छ,’ प्रवक्ता खतिवडाले भने, ‘तर, बिनासंसोधन एमसीसी अनुमोदन गराउने पक्षमा पार्टी भने रहेको छैन ।’ उनका अनुसार सम्झौताको संसोधन भएपछि मात्रै एमसिसी अनुमोदन हुने नेकपा एसको बटमलाइन कायमै छ ।

नेकपा माओवादी केन्द्रले एमसीसीलाई ‘जबरजस्ती’ टेबुल गरिएमा सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । गत साता सम्पन्न माओवादी संसदीय दलको बैठकले गरेको निर्णय प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले जानकारीसमेत गराईसकेका छन् ।

‘एमसीसी टेबुल गरिए माओवादी गठबन्धन सरकारबाट बाहिरिन्छ, यो हामीलाई मान्य हुन्न्,’ प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीको औपचारिक निर्णय यसअघि नै सुनाइसकेका छन । जुन निर्णयबाट माओवादी पछि हटेको अझैसम्म सार्वजनिक भएको छैन ।

उता, तराई मधेस केन्द्रित जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भने माओवादी केन्द्र र नेकपा एसले गर्ने निर्णयका आधारमा एमसीसीका पक्ष वा विपक्षमा उभिने निष्कर्षसहित गठबन्धनको बैठकमा सहभागी भइरहेको छ ।

उता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने गठबन्धन छाडेर एमसीसीको विरोधमा सडक आन्दोलनमा होमिएको छ । ‘खसी देखाएर फर्सी खुवाउन लागेको’ भन्दै असन्तुष्ट जनमोर्चा ६ साना वममपन्थी दलसँग मिलेर सडक आन्दोलनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर