बुद्ध पूर्णिमादेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने, क्यालिब्रेसन उडानले ल्यायो उत्साह (भिडिओ) – Nepal Press

बुद्ध पूर्णिमादेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने, क्यालिब्रेसन उडानले ल्यायो उत्साह (भिडिओ)

रुपन्देही । यान्त्रिक परीक्षण उडान शुक्रबारबाट सुरु भएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमादेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

बिहीबार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ । अब जेठ २ गते परेको बुद्ध पूर्णिमादेखि यहाँबाट व्यवसायिक उडान हुने जनाइएको छ ।

सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

केही साताअघि पर्यटनमन्त्री प्रेम आलेले विमानस्थलको निरीक्षण गर्दै बुद्ध पूर्णिमामा जसरी पनि व्यवसायिक उडान गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आईसीबी–टूका व्यवस्थापक इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भइ उपकरणहरु जडान भइसकेको बताए ।

उनले क्यालिब्रेशनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिए । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे÷नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको न्यौपानेले बताए ।

थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्याह्नबाट क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय रुपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए ।

‘प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ । ’ उनले भने ।

विमानस्थलको भौतिक निर्माण आयोजना (आईसीबी–वान) का प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले नाकाबन्दी, आन्दोलन, निर्माण सामग्रीको अभाव, कोभिड–१९ लगायत विभिन्न कारणले तोकिएको समयमा सोचेअनुरुप काम हुन नसकेको बताए । उनले भौतिक निर्माण तथा उपकरण जडानका सम्पूर्ण काम सम्पन्न भइसकेको बताए ।

‘क्यालिब्रेशन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष विमानले शुक्रबारदेखि काम सुरु गरेको छ, उनले भने, ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तयार गरेको मापदण्ड पुरा गर्नुपर्नेछ ।’

सुरुवाती चरणमा विमानस्थल निर्माण आयोजनाले विभिन्न समस्या झेलेको उनले बताए । यद्यपि सबै सरोकारवालाहरुको आपसी सहकार्यले आयोजना सम्पन्न गर्न सफल भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर