अनपेक्षित स्वस्तिमा – Nepal Press

अनपेक्षित स्वस्तिमा

‘यति पारिश्रमिक लिएँ भन्नु समाचारको कुनै खुराक हो जस्तो लाग्दैन मलाई । यस्ता कुरालाई ग्ल्यामराइज गर्नुले मलाई सन्तुष्टि पनि दिँदैन । मिडियामा मैले के समाचार दिँदैछु, यसले अर्थ राख्छ । पोस्टर सार्वजनिक हुँदा नै त्यस्तो रेसपोन्स पाएँ, त्यो ठूलो कुरा हो मेरा लागि । तर, बीसौँ लाख लिएर ब्राण्ड भ्यालु बढ्छ भने उहाँहरुका लागि ठीकै होला ।

म बाहिरतिरको समीक्षाहरु पनि हेरिरहेकी हुन्छु । ग्ल्यामरस रोल गर्दा त्यही लेभलको अभिनय गर्नु र चरीत्र निभाउनु बराबर चुनौतीपूर्ण हुन्छ । ग्ल्यामरस अभिनय गर्ने कलाकारलाई त्यही लेभलमा हेर्नुपर्छ । ‘ककटेल’मा दिपिका पादुकोणले गरेको अभिनय लाइट होइन नि ! वा ‘डर्टी पिक्चर’मा विद्या बालनले गरेको अभिनय लाइट होइन नि त !’

०००

‘चिसो मान्छे’को पोस्टर हेर्दा हाम्रो पहिलो नजर स्वस्तिमा खड्काको नाकको बुलाकीमा ठोक्किन्छ । त्यसपछि पोते, चौबन्दी, झोलामा ठोक्किन्छ । अनि बुलाकी लगाएर कतै यात्रामा निस्किएकी झैं लाग्ने स्वस्तिमामा ।

करिब–करिब हामीले बुलाकीलाई बिर्सिसक्यौँ । बुलाकी लगाएकी आमाहरुलाई पनि बिर्सिसक्यौँ । बुलाकी हल्लाउँदै आमाहरुले सुनाएका लोककथाहरु बिर्सिसक्यौं । ती लोककथाहरुमा बाँचेका सम्बन्ध, प्रेम, मानवता, नैतिकताहरु पनि बिर्सिसक्यौं । यहीबीचमा ‘चिसो मान्छे’को पोस्टर सार्वजनिक हुँदा कतिलाई नोस्टलजिक पनि बनायो होला ।

पोस्टरमा एक्लै ठिंग उभिएकी अभिनेत्री स्वस्तिमाको ग्ल्यामरस छवि छ । उनी व्यवसायिक फिल्म खेलेर आएकी हुन् । व्यवसायिक फिल्ममै जमिरहेकी छिन् । उनका अधिकांश फिल्म या म्युजिक भिडियो हेर्दा लाग्छ, रियालिस्टिकभन्दा कमर्सियल फिल्मकै अभिनेत्री हुन् ।

उनका समकालीन अभिनेत्रीहरु पनि स्वस्तिमा मर्काकै हुन् । वा स्वस्तिमा उनीहरु मर्काकै हुन् । जसका लागि पात्र अथवा पात्रका कथा होइन, टिपटप कस्ट्युम, चम्किला ठाउँमा खिचिएका चम्किला गीत, केही मीठा संवाद र थोरै ड्रामा भए पुग्छ ।

बरु चरीत्रका रुपमा अथवा अभिनयको परख गर्नका लागि खास सूचि बनाउँदा आधा दर्जन अभिनेत्री होलान्, जो रंगमन्च ब्यागग्राउण्डका छन् । जसले साँच्चै अभिनय गर्न सक्छन् । जसको अभिनयमा जुनुन छ, अनेक पात्रहरुको जीवन बाँच्ने तागत छ ।

‘होस्टेल रिटन्स’ वा ‘लभ लभ लभ’ जस्ता फिल्ममा देखिँदा स्वस्तिमा व्यवसायिक फिल्मकै लागि थिइन् । तर, ‘बुलबुल’ मार्फत् निर्देशक विनोद पौडेलले उनलाई अर्कै बनाइदिए । रियालिस्टिक फिल्ममा पनि काम गर्न सक्छिन् भन्ने प्रमाणित गराइदिए पौडेलले ।

‘बुलबुल’को टिजर सार्वजनिक हुँदा उद्योगका धेरैले ‘स्वस्तिमाले त्यस्तो क्यारेक्टर आर्टिस्ट गर्न सक्छिन् र !’ भनेर शंका प्रकट गरेको अनुभव स्वस्तिमासँगै छ । कत्तिले त पैडेललाई नै फोन गरेर पनि भनेका थिए ।

‘जिरोमा पुगेर काम गर्न सक्छु भन्ने विस्वास विनोद दाइलाई भएपछि हामीले सहकार्य गरेका थियौँ,’ स्वस्तिमा सुनाउँछिन् । त्यतिखेर पौडेलसँग स्वस्तिमाको चिनजान थिएन । फरक कथाको स्क्रिप्ट आएपछि उनले गम खाइन्,– कसैले क्लियर भएर अप्रोच गरेको हो कि थोरै भए पनि आफूमा ‘कमर्सियल भ्यालु’ देखेर हो ? यति देखेर मात्रै हो भने त फिल्म राम्रो बन्दैन ।

स्क्रिप्टमा महिलाको उमेर ३० थियो । उसकी बच्चाको उमेर ११ थियो । जतिबेला खड्का स्वयं भने २२–२३ की थिइन् । उनी आफैंसँग विस्वास्त भइन्, ‘कुनै गीतमा ठुम्का हाल्नसक्छु भने बुलबुलमा अभिनय पनि गर्न सक्छु ।’

उनले भनेजस्तो चरीत्रमाथि पनि काम गर्न सक्छु भन्ने भए पनि भनेजस्तो कथा पाइरहेकी थिइन्, बुलबुल पाइन् ।

कमर्सियल कि आर्ट ?

स्वस्तिमाले अभिनय गरेको ‘चिसो मान्छे’को पोस्टरको चर्चा भयो । पोस्टरमा देखिएको उनको चरीत्रको चर्चा भयो । तर, पोस्टरमा स्वस्तिमाको भन्दा अरु मानिसको काम बढी हुन्छ । ‘फिल्ममा जति गरेकी छु, त्यो हिसाबले अप्रिसियसन पाउने त टिजर, ट्रेलर रिलिज भएपछि हो,’ स्वस्तिमा सुनाउँछिन्, ‘अहिले नै धेरै एप्रिसियसन भयो भने पनि भोलि मलाई गाह्रो हुन्छ ।’

तैपनि यो अहिले हरेक प्रकारको जिम्मेवारी बोक्न, चुनौती सम्हाल्न तयार जस्तो भइसकेको लाग्छ उनलाई । स्वस्तिमाले बक्स अफिसमा सफल फिल्म ‘छक्का पन्जा’मा काम गरिन् । असफल व्यवसायिक फिल्ममा पनि गरिन् । ‘बुलबुल’ वा ‘चिसो मान्छे’ जस्ता फिल्ममा पनि काम गरिन् । दुवै प्रकारका फिल्मका आ–आफ्नै दर्शक छन् । दुवै प्रकारको फिल्मका आ–आफ्नै उद्देश्य छन् । र दुवै प्रकारका फिल्मबीच एक प्रकारको दुरी छ ।

यो दुरी नहोस् भन्ने चाहना छ स्वस्तिमाको ।

‘कमर्सियल र आर्ट भनेर फिल्म भनेर हामीबीच विभाजन छ । यो विभाजनले कलाकारलाई हेर्ने नजरीया फरक पारिदिँदो रहेछ । व्यवसायिक रुपमा पनि असर गर्दोरहेछ,’ स्वस्तिमा सुनाउँछिन् ।

रियालिस्टिक अभिनय गर्ने कलाकारलाई मुलधारको होइन भनिन्छ । व्यवसायिक फिल्म गरिरहेका कलाकारले रियालिस्टिक अभिनय गर्न सक्दैन भनिन्छ । तर, सबैले कलेक्टिभली काम गर्दा र मुलधारका भनिएका कलाकारले क्यारेक्टरमा काम गर्दा उद्योग उकासिने तर्क छ स्वस्तिमाको ।

स्वस्तिमाहरुले डान्स गर्नु, ग्ल्यामरस देखिनुलाई अभिनयको कसीमा कमै चर्चा हुने गरेका छन् । कुनै पात्रको चरीत्र निभाउनुलाई अलि ज्यादा अभिनयको रुपमा स्वीकारिन्छ । तर, दुबै काम गाह्रो हुने स्वस्तिमाको अनुभव छ । ‘क्यारेक्टर निभाउन जति गाह्रो हुन्छ, नाच्नु उत्तिकै गाह्रो हुन्छ,’ स्वस्तिमा आफ्नो अनुभव सुनाउँछिन् ।

‘बुलबुल’को पोस्टर रिलिज हुँदा मात्रै पनि धेरैले शंका प्रकट गरे उनको अभिनयमाथि । फिल्म हेरेपछि भने एप्रिसियसन पाइन् । ‘म चाहिँ मुलधारबाट आएकी हुनाले कुटुमा कुटु जतिले हेर्नुहुन्छ, त्यो दर्शकलाई रियालिस्टिक अप्रोचमा बनेका फिल्ममा तान्न सकुँ, ‘नाइँ नभन्नु ल’ हेर्न आउनु हुने दर्शक ‘चिसो मान्छे’ आउन् भन्ने लाग्छ ।’

मेकर, कलाकारमा मात्रै कला–व्यवसायिक भनेर विभाजन नभइ दर्शकको भलाइमा झनै विभाजन देख्छिन् स्वस्तिमा । गत वर्ष नारायण वाग्लेको ‘पल्पसा क्याफे’ उपन्यासमा आधरित नाटक गर्ने भइन् ।

स्वस्तिमाले नाटक गर्ने भनेपछि समाचारहरु बन्ने नै भए । यही बीचमा एकजना महिलाले ‘साली मनपर्‍यो’मा नाच्ने स्वस्तिमाले विचरी पल्पसा कसरी निभाउँदी हुन् भन्ने आशयको ट्वीट लेखिन् । यसखाले प्रतिक्रियाबारे स्वस्तिमाले भन्छिन्, ‘कुटुमा कुटु नाच्ने मान्छेले पल्पसाको भूमिका न्यायपूर्ण तरीकाले निभाउन नसकुँला, तर कोसिस गरिरहेकी छु । साली मनपर्‍योमा नाच्न सक्छु भने चिसो मान्छेमा अभिनय गर्न सक्छु होला नि !’

सर्कल र करियरको समयावधि

क्यारेक्टरमाथि काम गर्नुको अर्को फाइदा हो – करियरको समयावधि बढाउनु । क्यारेक्टरमा काम गर्दा स्वभाविक रुपमा करियरको आयु लम्बिन्छ । लामो समयसम्म काम पाइरहने सम्भावना पनि रहन्छ । सक्रिय होइन्जेल कामलाई निरन्तरता दिइरहन सकिन्छ ।

उनको तर्क छ,– ‘मैले करियरको आयु बढाउन मात्रै क्यारेक्टरमा काम गरेकी होइन । यस्तो पात्र निभाउँदा फरक खालको आनन्द र सन्तुष्टि मिल्छ । ‘नाइ नभन्नु ल’, ‘छक्का पन्जा’ जस्ता फिल्मले दिने सन्तुष्टि अर्कै छ । दिपक दाइहरु ‘बुलबुल’ बनाउँछु भनेर आउनुभएको हँदैन नि ! सबैको आ–आफ्नै उद्देश्य र गन्तव्य हुन्छन् । तर, क्यारेक्टरमा काम गर्दै गर्दा चाहिँ आज यस्तो सिन गर्न पाएँ, यो पात्रलाई यसरी लिएर जान्छु भनेर मनमा आउने भावनाहरुको छुट्टै मजा हुन्छ नि !’

स्वस्तिमाले रियालिस्टक फिल्महरु खेलिरहँदा, अथवा ‘क्यारेक्टर’माथि कुरा गरिरहँदा उनका समकालीन अभिनेत्रीहरुको बाटो अर्कै छ । स्वस्तिमासँगै आएका वा एक डेढ वर्ष अघि–पछि आएका अभिनेत्रीहरुले व्यवसायिक रुपमा सफल फिल्महरु दिइरहेका छन् । तर, स्वस्तिमा यता पनि आइसकेकी छन् ।

मझदारको बाटो समात्नुमा आफू वरिपरि रहने सर्कलको ठूलो भूमिका रहेको स्वस्तिमा स्वीकार्छिन् । कस्तो सर्कलमा बसेर फिल्मबारे छलफल गरिन्छ, कस्तो गफ हुन्छ त्यसले सरोकार राख्छ । निश्चल बस्नेतसँग सम्पर्कमा रहेका साथीभाइ पनि स्वस्तिमाको सम्पर्कमा छन् । ‘यो फिल्म हेर्‍यौ ?’ भनेर उनीहरुले प्रश्न गर्छन् । यदि हेरेकी छैन भने ‘घरमा गएर हेर्छु’ भनेर जवाफ दिन्छिन् । घर गएर हेरिहाल्छिन् पनि ।

भन्छिन्, ‘सर्कलले ठूलो अर्थ राख्दो रहेछ । आज यो सर्कल नभएको भए जुन सर्कल हुन्थ्यो, त्यही प्रकारको फिल्म गर्थें होला । त्यही प्रकारको काम गर्थें होला ।’

समीक्षाले दिने ऊर्जा

स्वस्तिमालाई करियरको सुरुवाती चरणमा समीक्षकहरुले उस्तो नोटिस्ड गरेका लेखेका थिएनन् । अलिपछि छिर्केमिर्के प्रश्नहरु तेर्साउँथे । तर, समय उस्तो रहेन । ‘बुलबुल’ आइसकेपछि सबै बदलियो । उनले एक खालको एप्रिसियसन पाइन् ।

उनको गुनासो चाहिँ यस्तो छ, – ‘म बाहिरतिरको समीक्षाहरु पनि हेरिरहेकी हुन्छु । ग्ल्यामरस रोल गर्दा त्यही लेभलको अभिनय गर्नु र चरीत्र निभाउनु बराबर चुनौतीपूर्ण हुन्छ । ग्ल्यामरस अभिनय गर्ने कलाकारलाई त्यही लेभलमा हेर्नुपर्छ । ‘ककटेल’मा दिपिका पादुकोणले गरेको अभिनय लाइट होइन नि ! वा ‘डर्टी पिक्चर’मा विद्या बालनले गरेको अभिनय लाइट होइन नि त !’

‘चिसो मान्छे’मा पुष्पा नामक युवतीको भूमिका निभाएकी उनले अन्य व्यवसायिक फिल्ममा ग्ल्यामरको हिसाबले अभिनय गरेको दाबी छ उनको ।‘बुलबुल’ पछि भने स्वस्तिमा आफ्नो बाटो चुनौती नै चुनौतीले भरिएको देख्छिन् । अहिले ‘चपली हाइट ३’ आउँदा पनि त्यही फिल्मसँग जोडेर समीक्षा आएका छन् । ‘हजार जुनीसम्म’ आउँदो एकदमै खराब रिभ्यु आएको थियो ।

तर, ‘बुलबुल’ आएपछि भने समीक्षकले इन्टेन्सली हेर्न थालेको स्वीकार्छिन् । फिल्मको समीक्षालाई लिएर ‘वीर विक्रम २’देखि ‘कठपुतली’सम्म आइपुग्दा अनेक लफडा भएका छन् । मेकर–समीक्षकबीच वाकयुद्ध भएका छन् । तर, स्वस्तिमा भने समीक्षाहरुलाई सकरात्मक रुपमा लिने बताउँछिन् । उनलाई सबैभन्दा आनन्द आउने भनेको शुक्रबार र शनिबार फिल्म भव्यसँग चलेर आइतबार आएको समीक्षा पढ्नु हो ।

भन्छिन्, ‘तर दुई दिन भव्य चलेर आइबार खासै राम्रो समीक्षा आएन भने अलि खल्लो हुन्छ । तर, मलाई रिभ्युले एकदमै अर्थ राख्छ । मेरा लागि रिभ्यु ऊर्जा हो । आफैंले गरेको फिल्म हेरेर यस्तो गर्न पाएको भए अझैं राम्रो हुन्थ्यो लागिरहेको कुरा रिभ्युमा आउँछ ।’

महँगो पारिश्रमिक लिने कलाकार हुनु छैन

सुनिन्छ – मन परेको कति कथामा कलाकारले विनापारिश्रमिक पनि खेल्ने गरेका छन् । तर, मन नपर्दानपर्दैै पनि खेल्नुपरेमा चर्को पारिश्रमिक असुल्ने गरेको किस्साहरु सुनिन्छ ।

स्वस्तिमाको चाहिँ कमर्सियल र रियलिस्टिक फिल्ममा पारिश्रमिक कति फरक हुन्छ ?

‘फाइनान्सियल अवस्थाका लागि फिल्म नै गर्नुपर्छ भन्ने छैन मैले । जुनै प्रकारको फिल्म गर्दा पनि पैसाले म्याटर गर्दैन । मेरा लागि पैसाभन्दा पनि कुन उद्देश्यका लागि फिल्म बनाइरहेका छन् भन्ने हुन्छ,’ स्वस्तिमाको स्पष्टिकरण छ ।

पात्र मन परेपछि पैसा ठूलो कुरा होइन । तर, म्युजिक भिडियो चाहिँ ‘यति पैसा दिन्छु’ भनेपछि एक दिनको काम, ठीकै हो भनेर पनि गर्ने गरेकी छन् । पैसाकै लागि चाहिँ करियरको सुरुआती चरणमा पनि काम गरेको याद छैन उनलाई । आफूले पाएको ब्राण्ड, एक्पोजरहरुका कारण पनि आर्थिक वासलात राम्रैसँग सन्तुलनमा रहेको बताउँछिन् ।

कतिपय अवस्थामा परिश्रमिक सार्वजनिक गर्नाले ब्राण्ड भ्यालु बढ्छ भन्ने पनि सुनिन्छ । जति महँगो पारिश्रमिक भयो, उति नै ब्राण्ड भ्यालु बढ्ने चर्चा चर्को हुन्छ फिल्म वृत्तमा ।

एक परिच्छेदमै बयान दिन्छिन् स्वस्तिमा, – ‘यति पारिश्रमिक लिएँ भन्नु समाचारको कुनै खुराक हो जस्तो लाग्दैन मलाई । यस्ता कुरालाई ग्ल्यामराइज गर्नुले मलाई सन्तुष्टि पनि दिँदैन । मिडियामा मैले के समाचार दिँदैछु, यसले अर्थ राख्छ । पोस्टर सार्वजनिक हुँदा नै त्यस्तो रेसपोन्स पाएँ, त्यो ठूलो कुरा हो मेरा लागि । तर, बीसौँ लाख लिएर ब्राण्ड भ्यालु बढ्छ भने उहाँहरुका लागि ठीकै होला ।’

स्वस्तिमा राष्ट्रिय, अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग जोडिएकी छन् । तर, उनीहरुले उनले फिल्ममा पाउने पारिश्रमिकलाई केन्द्रमा राखेर सम्झौता गरेको अनुभव छैन उनीसँग । कसले आफ्नो काम कसरी डेलिभर गर्न सक्छ, त्यो सरोकार राख्ने गर्छन् । सामाजिक संजालमा फलोअर्स हेर्छन् । विवादहरु कम हुनुपर्‍यो । विवाद, लफडाहरु ब्राण्डहरुले खासै इन्जोय नगर्ने अनुभव छ स्वस्तिमाको ।

पारिश्रमिककै कुरा गर्दा दुई तीन वर्षअघि स्वस्तिमा–पूजा शर्मा मिडियामा समाचारको हेडलाइन बने । तर, पारिश्रमिक महँगो लिएर गर्व महसुस गर्ने अवस्थामा हाम्रो उद्योग छ कि छैन ?

भन्छिन्, ‘अहिले भुटानी फिल्म अस्करमा गयो । हाम्रो उद्योगमा अरुलाई डेलिभर गर्न त्यस्तो फिल्म छैन । हाम्रा कथा राम्रोसँग डेलिभर होस् । दर्शक हलमा आओस् । अनि मात्रै यस्ता नानाथरी कुरा इन्जोय गरौँला ।’

महिला कलाकारको करियरको आयु

‘महिला अभिनेत्रीको करियर त्यति लामो हुँदैन’ भनिन्छ । नेपाली फिल्ममै करियरको समयावधि छोटो भएको अभिनेत्रीको उदाहरण बग्रेल्ती छन् । अपवाद बाहेक सबै अभिनेत्रीहरु एक समय चम्किएर एक समयपछि ओझेल परेका छन् ।

उनीहरुले अनेक कारणले उद्योग छाडे । कत्तिले फेरि कमब्याक गर्न खोज्दा पनि सकेका छैनन् । स्वस्तिमाले विवाह गर्ने निर्णय लिँदै गर्दा सुभेच्छुकहरुले बिहे नगर्न सुझाएका थिए । करियर लयमा हुँदा विवाह गरेर किन करियर सकाउने ? विवाह गरेको १०/१५ दिनपछि उनलाई फिल्मको अफर आयो । तर, स्वस्तिमालाई होइन, निश्चल बस्नेतलाई ‘स्वस्तिमाले फिल्म खेल्छ कि खेल्दैन’ भनेर सोधे ।

स्वस्तिमासँग पनि दुईवटा विकल्प थिए – कि सेटमा गएर काम गर्ने, कि घरमा बस्ने वा अन्य काम गर्ने । ‘मैले सेटमा गएर काम गर्ने विकल्प छानेँ । चारवटा प्रोजेक्टमा काम गरेँ । त्यसपछि मैले काम गर्छे भनेर अरुले थाहा पाए । अहिले सबै नर्मल भयो ।’

तर, कलाकारको सर्ट लिस्टमा स्वस्तिमाको नाम आउँदा कास्ट नगरेका निर्देशकहरु पनि छन् । उनी विवाहित भएकीले कास्ट नगरेको पनि सुनेकी छन् ।

‘त्यस्तो निर्देशकसँग मलाई काम गर्नु पनि त छैन । उसले मेरो म्यारिटल अवस्था हेरेर मलाई काम गराउँदैन भने उसले राम्रो फिल्म बनाउँछ भनेर के ग्यारेन्टी छ र !,’ उनको भनाइ छ ।

साथै आफ्नो अभिनयको यात्रा चाँडै रोकिन्छ भन्ने पनि लाग्दैन उनलाई ।  ‘८० वर्षसम्मै काम गर्छु । होस्टेल रिटन्समा जे भूमिका गरेकी थिएँ, त्यही भूमिका चाहेँ भने काम गर्न सक्दिनँ । जस्तो उमेरमा पुग्छु, त्यस्तै पात्र गर्दा अवस्य सक्छु । तर मलाई मुख्य लिडमा राख्ने नि नराख्ने, त्यो निर्देशकको हातमा छ,’ स्वस्तिमाा थप्छिन् ।

अहिले जुन गति छ अथवा जुन खालको ऊर्जा लगाइरहेकी छन् काममा, त्यसले मात्रै नपुग्ने आँकलन छ उनको । सबै कुरा अझैं बढी नगरी नहुने देख्छिन् । फरकभन्दा पनि अझ राम्रो गर्नुपर्ने चुनौती देख्छिन् । तर, त्यो समयमा पनि राम्रो कथा पाइरहनका लागि राम्रा सिनेमा बनिरहनुपर्‍यो । उद्योग अझैं माथि जानुपर्‍यो ।

त्यसका लागि आफ्नो तर्फबाट एउटा कोसिस देख्छिन् उनी, ‘बाहिरको जस्तो ठूलो उद्योगबाट आएको भए हामीले काम मात्रै गर्दा हुन्थ्यो । तर, यो पुस्ताको कलाकार भएकीले चाहिँ उद्योगलाई उकास्ने जिम्मेवारी हामीसँग पनि छ । हामी विवादहरुमा, सस्तो प्रचारमा नरमाउँदा हुन्छ ।

हाम्रो प्रत्येक क्रियाकलापले मासलाई कस्तो असर गर्छ ख्याल गर्नुपर्छ । कमसेकम हामी यो पुस्ताको कलाकार चाहिँ बढी नै उत्तरदायी र जिम्मेवार हुनुपर्ने देख्छु ।’

०००

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर