एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसले बोलायो स्थायी कमिटी, मध्यमार्गी बाटोको खोजी – Nepal Press

एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसले बोलायो स्थायी कमिटी, मध्यमार्गी बाटोको खोजी

काठमाडाैं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले सत्ता गठबन्धनमा खटपट हुन थालेपछि एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ ।

भोलि बिहान ११ बजे अर्याल होटेलमा बस्न लागेको स्थायी कमिटिको बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

अहिले सम्म नेतृत्व तहले एमसीसी संशोधनबिना पारित हुन नसक्ने अडान राख्दै आइरहेकाे छ । उक्त अडानले सत्ता गठबन्धन भित्रै विवाद हुन थालेपछि उपयुक्त बाटोका लागि स्थायी कमिटिको बैठक आयोजना गरिएको स्थायी कमिटीका एक नेताले बताए ।

उनले भोलि नै पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने पनि जानकारी दिए ।

बिहीबार नै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेको थियो । यथास्थितिमा एमसीसी टेबल गरे माओवादीले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको छ । तर एकीकृत समाजवादीले भने अहिले सम्म ठोस निर्णय गरेको छैन ।

केही समय अघि सम्म एमसीसी विरुद्ध खरो रूपमा उत्रिएको एकीकृत समाजवादी पनि गठबन्धन नै भत्किने अवस्था सृजना भएपछि मध्यमार्गी बाटो खोजिरहेको छ ।

अहिले सरकारमा रहेका केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुने अवस्था नरेको भन्दै अध्यक्ष माधव कुमार नेपाललाई गठबन्धन जोगाउने गरी पहल गर्न आग्रह गरेका थिए । ‘गठबन्धन जोगिने गरी मध्यमार्गी बाटो पहिचान गर्न नेतृत्वलाई तीव्र दबाब छ’ स्रोतले भन्यो ‘उहाँहरूको पनि माग सम्बोधन हुने गरी भोलि निर्णय हुन सक्छ ।’

एकीकृत समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडाले भोलिको निर्णय पछि मात्रै एमसीसी र गठबन्धनबारे थाहा हुने बताए ।

स्थायी कमिटीमा सङ्गठन, निर्वाचन र एमसीसी बारे छलफल हुन सक्ने एकीकृत समाजवादीका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए ।

बिहीबार विना निष्कर्ष टुङ्गिएको सत्ता गठबन्धनको बैठक शुक्रवार बिहान पनि बसेको थियो । एकीकृत समाजवादी पार्टीले शनिवार स्थायी कमिटिको बैठक राखिएको र एमसीसी तथा गठबन्धनबारे साझा धारणा बनाउने भन्दै आइतबार सम्मको समय मागेका थिए ।

माधव नेपालको प्रस्ताव पछि शुक्रवार एमसीसी टेबल रोकिएको थियो । शनिवार एकीकृत समाजवादीले यस विषयमा प्रस्ट धारणा बनाएपछि गठबन्धनको भविष्य पनि यकिन हुने देखिएको छ ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी राम कुमारी झाँक्रीले प्रधानमन्त्री एमसीसीको विषयमा प्रधानमन्त्रीको पक्ष लिएपछि अहिले दल भित्र पनि यस विषयमा बहस सुरु भएको छ । तर, प्रमुख सचेतक श्रेष्ठले भने यो विषयमा प्रस्ट कुरा स्थायी कमिटीको बैठक पनि मात्रै थाहा हुने बताए ।

‘पार्टीले अहिले सम्म यो गर्ने भन्ने निर्णय गरेका छैनौँ’ उनले भने ,‘ भोलि मात्रै सबैसँग छलफल गरेर प्रस्ट धारण सार्वजनिक हुने छ । अहिले सम्म पार्टी नेतृत्वले लिएको अडान नै अगाडी बढाउने वा मध्यमार्गी कुनै विकल्प सार्वजनिक गर्ने भन्ने बारे भोलि नै थाहा हुन्छ ।’

उनले अहिले एमसीसीमा संशोधन गर्न आवश्यक रहेको बताए पनि सरकारबाट फिर्ता हुने भन्ने विषयमा छलफल नै सुरु नभएको उनले दाबी गरे ।

‘गठबन्धनमा विवाद भए सरकारबाट फिर्ता हुनुहुन्छ त’ नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अहिले सम्म सरकारबाट फिर्ता हुने विषयमा कुनै छलफल नै सुरु भएको छैन । यस विषयमा पनि भोलीनै निर्णय हुन्छ । ’


प्रतिक्रिया

One thought on “एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसले बोलायो स्थायी कमिटी, मध्यमार्गी बाटोको खोजी

  1. याे बैठककाे निर्णय अपेक्षित छ । सरकारमा बसेर तर मारिरहेकाहरू एमसिसिकाे पक्षमा देउवासँगै भाेट हाल्ने र सरकार चलाईरहने र तर मारिरहने भन्छन । नपाएकाहरू एमसिसिकाे विराेध गरेजस्ताे गर्छन् । मन्त्री खान २०% बनाएर पार्टी नै फुटाउने अनैतिकहरूलाई एमसिसि आए के गए के । यिनीहरू गर्दा मन्त्री खान पाए जे पनि भन्छन् । एमसिसि पास गर्दा मन्त्री पद बचिरहन्छ भने एमसिसि ठिक छ भन्छन र एमसिसिकाे विराेध गर्दा मन्त्री पद बाँचिरहन्छ भने एमसिसि राष्ट्रघाती छ भनिदिन्छन् । यस्ता अनैतिकहरूकाे के अडान हुनु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर