माओवादीले कांग्रेससँग छलछाम गर्‍यो, गठबन्धन भत्कन सक्छ : महामन्त्री थापा – Nepal Press

माओवादीले कांग्रेससँग छलछाम गर्‍यो, गठबन्धन भत्कन सक्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने बताएका छन् ।

संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ ५ दलीबीच कुरा नमिले गठबन्धन यथावत रहने सम्भावना टर्ने बताएका हुन् ।

‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’, थापाले भने ।

विगतमा प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै महामन्त्री थापाले अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए । सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामपूर्ण व्यवहार गरेको थापाको आरोप छ ।

‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन’, थापाले भने ।

उनले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने बताए ।

‘एमसीसी संसदमा टेबल गरौं । बुँदा बुँदामा छलफल गरौं । दुधको दुध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नुको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा देओस् । जे गर्ने हो संसदबाटै गरौं’, थापाले भने ।

पत्रकारहरुको जिज्ञासामा महामन्त्री थापाले गठबन्धनको विकल्प खोज्नेगरी प्रयत्न नभएपनि एमसीसीका नाममा लामो समय अलमल गर्ने अवस्थामा कांग्रेस नरहेको बताए ।

‘हामी विकल्पको कुरा गरिरहेका छैनौं । अहिलेकै गठबन्धन सरकारले संसदमा एमसीसी लानुपर्छ । त्यसमा दलहरुले आफ्नो स्ट्याण्ड देखाउनुपर्छ । पास फेल जे भएपनि निष्कर्ष दिनुपर्छ भन्ने कांग्रेसको बुझाई हो । यदि एजेण्डामा सँगै रहेनौ भने सरकारमा सँगै रहन्नौ भन्ने त सबैले बुझ्ने विषय भयो’, थापाले भने ।

उनले संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीसँग पनि छलफल थालेको भन्दै फागुन ८ गतेको गठबन्धन बैठकसम्म निष्कर्ष निस्कने विश्वास गरे ।

‘गठबन्धनका दलहरुले समय मागेकोले फेरी ८ गतेसम्म लम्बिएको छ । अब ८ गतेसम्म चै निकास दिनेगरी छलफल गर्छौ’, थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर