एमसीसीकै कारण गठबन्धन टुट्न नदिने प्रयास जारी छ : प्रवक्ता महत – Nepal Press

एमसीसीकै कारण गठबन्धन टुट्न नदिने प्रयास जारी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका कारण गठबन्धनमा समस्या आउन नदिन प्रयास भइरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसीलाई गठबन्धनसँग जोडेर हेर्न नहुने बताए । एमसीसी संसदबाट पारित हुनुपर्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महतले अरु दलले पनि आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताए ।

‘एमसीसी संसदको विषय बनिसकेको छ । अब यसलाई टेबल गरौं । यदि कसैले एमसीसी चाहिदैन भन्छ भने संसदमै भनोस् । समर्थन गर्दै भने विपक्षमा उभियोस् । तर, संसदले एमसीसीबारे टुंगो चाहिँ दिनैपर्छ’, महतले भने ।

उनले गठबन्धनको निरन्तरको बैठक सहमतिकै लागि भइरहेको भन्दै एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि टुट्न नदिने विषय पहिलो प्राथमिकतामा रहेको बताए ।

‘एमसीसी र गठबन्धनको कुनै साइनो छैन । एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने भनेर नै छलफल भइरहेको हो’, महतले भने ।

महतले सरकारले संसदमा लैजान चाहेको विषय सभामुखले रोक्न नमिल्ने बताए । ‘अहिले त सहमतिकै प्रयास भइरहेको छ । यदि सरकारले टेबल गर्न चाह्यो भने सभामुखले रोक्न मिल्दैन’, महतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर