सामुदायिक विद्यालयका आफ्नै बस, अभिभावक र विद्यार्थी खुसी – Nepal Press

सामुदायिक विद्यालयका आफ्नै बस, अभिभावक र विद्यार्थी खुसी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयको प्रतिस्पर्धी क्षमता बढाउन यातायात सेवामा सहयोग गरेपछि सामुदायिक विद्यालयका पनि आफ्नै बस गुड्न थालेका छन् । तिलोत्तमाका सडकमा निजी विद्यालयका जस्तै सामुदायिक विद्यालयका पनि बस गुड्ने गरेका हुन् । बस सञ्चालनले विद्यालयसम्मको आवागमन सहज तथा छिटो छरितो हुँदा विद्यार्थी र अभिभावक दंग छन् ।

यहाँका केही सामुदायिक विद्यालयले सहयोग जुटाएर केही वर्ष पहिलेबाट विद्यालय बस सञ्चालन गरेका थिए । तर, अन्य विद्यालयले आर्थिक व्यवस्थापन गर्न नसक्दा बस सञ्चालन गर्न सकेका थिएनन् । नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ मा प्रतिविद्यालय बस खरिदको लागि दश लाख रुपैयाँ विनियोजन गरेपछि यहाँका अन्य विद्यालयहरु पनि बस सञ्चालनको अवस्थामा आएका हुन् ।

बस सञ्चालनले विद्याययसँग आफ्नो घरको भौतिक दूरी टाढा भएका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानी बाबुहरुलाई सामुदायिक विद्यालय पठाएका छन् ।

आफूले रोजेको सरकारी विद्यालय टाढा हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई बालबालिका विद्यालय पठाउन निकै समस्या परेको थियो । सामुदायिक विद्यालयमा निःशुल्क खाजा समेत पाइने र जान–आउन बस सुविधा भएसँगै विद्यार्थीको चाप बढेको प्रष्ट देखिन्छ । तिलोत्तमा नगरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयहरु यहाँका निजी विद्यालयभन्दा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएका छन् । यहीँ कारण पनि अभिभावकलाई आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा पढाउन थप प्रोत्साहन मिलेको छ ।

जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयमा प्रष्ट देखिनेगरी सुधार आएको छ । सामुदायिक विद्यालयमा आर्थिक रुपमा धनी र शैक्षिक रुपमा अब्बल विद्यार्थीहरुको समेत आकर्षण बढेको छ । कतिपय सामुदायिक विद्यालयमा त विद्यार्थी भर्ना गराउन समेत मुश्किल पर्ने गरेको पाइन्छ । केही सामुदायिक विद्यालय अब्बल बनेर निजी विद्यालयलाई प्रतिस्पर्धामा पछाडि पारिसकेका छन् ।

बुटवलको वडा नं. १७ रानीगञ्जबाट तिलोत्तमा वडा नं. २ स्थित जनजागृति माविको कक्षा ८ मा पढ्न आएकी आशिका सुनारले विद्यालयमा स्कुल बस भएकै कारण यहाँसम्म आफू पढ्न आएको बताइन् । ‘हिँडेर आउँदा एक घन्टाभन्दा बढी लाग्छ, साइकलमा हिँड्न समस्या छ । वर्षा, खाल्टाखुल्टी बाटो, धुलो पनि उस्तै हुन्छ ।’ उनले भनिन्, ‘स्कुलको आफ्नै बस भएपछि आनन्द भएको छ ।’

तिलोत्तमा वडा नं. ३ सीमानगरका नुरबहादुर थापा जनजागृति माविले सञ्चालन गरेको बसमा चढेर आउने जाने गर्दछन् । ‘पहिले हिँड्दै आउँदा निकै समस्या थियो, बीचमा राजमार्ग छ, आउन जान निकै समस्या थियो, तर अहिले स्कुलको बस भएपछि धेरै सजिलो भएको छ ।’ थापाले भने ।

तिलोत्तमा नगरपालिकाले ‘शिक्षामा सबलीकरण’ नारा बनाएर शुरु गरेका अभियान देशकै नमुना र उदाहरणीय बनेका हुन् । यहीँमध्येकै उदाहरण हो- बस सेवा । नगरपालिकाले २०७४ सालदेखि नै आफ्नै सवारी साधन भएका सामुदायिक विद्यालय तथा भाडामा सवारी साधन चलाएका विद्यालयलाई उत्प्रेरणा जगाउने तरिकाले यो क्षेत्रमा अनुदान दिन थालेको थियो । यसले ती विद्यालयको व्यवस्थापनमा खटिएका सबैलाई ऊर्जा दिन शुरु गरेको थियो । २०७४ सालमा २० लाख, २०७५ सालमा २० लाख र २०७६ सालमा ३० लाख रकम यो क्षेत्रमा खर्च गरिएको थियो ।

यो रकमबाट कसैले अटो रिक्सा किनेर दीर्घकालीन बनाए, कसैले भाडामा सवारी साधन व्यवस्थापन गरेर विद्यार्थीलाई बोक्न शुरु गरे । बस भएका विद्यालयले त्यसलाई थप व्यवस्थित बनाए । तर यसरी गरिएको खर्चले दीर्घकालीन रुपमा समस्या समाधान नहुने निष्कर्षमा पुगेपछि २०७७ सालमा नगरपालिकाले ६० लाख रकम ६ वटा विद्यालयलाई दिएर आफ्नै स्वामित्वको बस सेवा सञ्चालन गर्ने योजना बनायो । त्यसमा अपुग झण्डै १० लाख विद्यालयले जम्मा गरेर ६ विद्यालयले आफ्नै बस सेवा सुरु गरेका हुन् ।

नगर प्रमुख बासुदेव घिमिरेले विद्यालयको मागअनुसार बस सेवा सञ्चालनको लागि अनुदानको व्यवस्था मिलाइएको बताउनुभयो । आर्थिक वर्ष २०७८–७९ मा नगरपालिकाले अनुदानमा दिएको रकमबाट बस खरिद गरेका विद्यालयलाई बस सञ्चालन गर्न प्रतिविद्यालय एक लाख रुपैंयाँ दिने व्यवस्था मिलाइएको छ भने थप तीन विद्यालयलाई बस खरिद गर्न तीस लाख बजेट विनियोजन गरिएको शिक्षा शाखाले जनाएको छ ।

स्थानीय सरकारको लगानी र सघन अनुगमनले पछिल्लो समय सामुदायिक विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम आएको, अभिभावक र विद्यार्थीको चित्त बुझाउने गरी नतिजा आएको शिक्षाविद् तथा विश्लेषक अर्जुन ज्ञवाली बताउँछन् । ’स्थानीय सरकारले निकै महत्वपूर्ण काम गरेको छ अनि व्यवस्थापन समिति र शिक्षक कर्मचारीको पनि लगाब बढ्न थालेको छ । बस सेवा संचालन, खाजा व्यवस्थापन, आन्तरिक व्यवस्थापन नै यसका सूचक हुन्’, उनले भने ।

शिक्षामा सहभागिता र पहुँच वृद्धि भइ गुणस्तरीयतामा सुधार देखिएको, सामुदायिक विद्यालयमा सिकाई उपलब्धीमा सुधार आएको, बालमैत्री वातावरण निर्माण भएको जस्ता सकारात्मक परिवर्तनले नगरपालिकाले शिक्षामा गरेको लगानी प्रतिफलमुखी भएको ज्ञवालीको विश्लेषण छ । ज्ञवालीले शिक्षालयमा सुधार निरन्तर चलिरहने प्रकृया भएकाले विद्यालयमा विद्यार्थी टिकाउ, सिकाउ र बिकाउजस्ता योजनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नगरपालिकाबाट बस सुविधा लिएको नगरपालिकाको वडा नं २ स्थित जनजागृति माविका प्रधानाध्यापक टंकप्रसाद पौडेलले नगरपालिकाबाट पाएको यो सुविधाले विद्यालयको भर्ना दर वृद्धि भएको, विद्यालय बीचैमा छाड्ने तथा हाजिर भएर भाग्ने बालबालिकाको संख्यामा कमी आएको, सामुदायिक विद्यालयप्रतिको चासो र जनअपेक्षा बढ्दै गएको बताए । सामुदायिक विद्यालयमा बढाइएको यस्ता सुविधाले निजी विद्यालयबाट आउने विद्यार्थीको संख्या ह्वात्तै बढेको उनको अनुभव छ ।

‘वरिपरी निजी विद्यालयहरु प्रशस्तै छन् । अलिक क्षमता भएका विद्यार्थीलाई अनेक प्रलोभनमा तान्ने प्रयास हुन्छ । नगरपालिकाले बस सेवा दिएपछि धेरै टाढाबाट विद्यार्थी नियमित आउन पाएका छन् । तिलोत्तमाको वडा नं १ देखि ५ सम्मका र बुटवलको वडा नं १७ र १८ का विद्यार्थीलाई बस सेवाले धेरै राहत भएको छ ।’ उनले भने । बस सेवा सञ्चालन भएपछि २६५ जना विद्यार्थी थपिएको उनको भनाइ छ ।

नगरपालिकाले दिएको १० लाख र विद्यालयको स्रोतबाट १० लाख थपेर सञ्चालनमा ल्याइएको बस सेवा, विद्यालयको व्यवस्थित भौतिक संरचना, सबै कक्षामा बनाइएको नियमित पठनपाठनले अभिभावकको मन जितेको पौडेलको भनाइ छ । शंकर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याएका धेरै कार्यक्रम उत्कृष्ट भएको बताए । आफ्नो विद्यालयले नगरपालिकाले योजना ल्याउनु अगावै बस सेवा सञ्चालन गरेको र आगामी दिनमा यसको सञ्चालन खर्च दिनेगरी नगरपालिकाले कार्यक्रम तयार गर्नुपर्नेमा उनको जोड छ ।

यातायातको प्रबन्ध गरिएकाले धेरै टाढाबाट अहिले पनि ५० जना विद्यार्थी नियमित आइरहेको र त्यो संख्या बस थप्न सके बढ्ने आफ्नो अनुमान रहेको उनले बताए । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउन आफ्नो विद्यालयहरुले अंग्रेजी तथा नेपाली माध्यममा कक्षा संचालन गरेका छन् । जनभावना मावि वडा नं. ८ दीपनगरका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले बस सेवा सञ्चालनले टाढाका विद्यार्थीलाई निकै सजिलो बनाएको बताए । ‘बस भएपछि १९५ जना विद्यार्थी थपिएका छन् । दुई पटक रुट बनाएर ल्याउने लैजाने गरिएको छ । अभिभावक पनि निकै खुसी भएको अवस्था छ । निजी विद्यालयबाट आउने विद्यार्थीको चाप बढेको छ’, पराजुलीले भने ।

गिर्वाण सरस्वती साधारण तथा संस्कृत विद्यालय वडा नं. ५ मणिग्रामका प्रअ केदारचन्द्र पराजुलीले बस सेवा सञ्चालन भएपछि विद्यार्थी तथा अभिभावकलाई सहज बनाएको बताए । शिवपुर मावि वडा नं. ११ का प्रधानाध्यापक ज्ञानप्रसाद भट्टराईले बस सेवा संचालनपछि विद्यार्थीको संख्या बढेको बताए । हाल विद्यालयमा ८५० विद्यार्थी रहेकोमा १ सय भन्दा बढी विद्यार्थीले यो सेवा लिएको उनले बताए । ‘नगरपालिकाबाट १० लाख सहयोग भयो । अरु विद्यालयले व्यवस्थापन गरेर चलायौं, अभिभावक पनि खुसी हुनुहुन्छ, विद्यार्थी पनि खुसी छन्’, उनले भने ।

जनता मावि वडा नं. १२ मोहनाजोतका प्रधानाध्यापक रामप्रसाद न्यौपानेले विद्यालयमा बस सेवा सञ्चालन भएपछि १ सय विद्यार्थी थपिएको बताए ।‘गाडी नहुँदा टाढाका विद्यार्थी कहिले आउने कहिले नआउने भएको थियो । गाडी नभएपछि टाढाका विद्यार्थी बाहिर जाने गरेका थिए । अहिले उनीहरु नियमित विद्यालय आउँदा आफैलाई खुसी लागेको छ’, न्यौपानेले भने ।

पशुपति माध्यामिक विद्यालयले विद्यार्थीको चाप अत्याधिक भएपछि चालु शैक्षिक सत्रमा भर्ना हुन आएका कतिपय विद्यार्थीलाई नजिकको अर्को विद्यालय पठाउनु पर्यो । अंग्रेजी तथा नेपाली समूहमा पढाइ हुने यो विद्यालयमा १५ सय विद्यार्थी छन् । प्राध्यानाध्यापक वेदनारायण भट्टराई भन्छन्– यो सामुदायिक विद्यालयको आर्जन हो । बस सेवा सञ्चालन भएपछि विद्यार्थीको चाप बढेको छ । १२० जना विद्यार्थी बस चलेपछि थपिएका छन् । १५ किलोमिटर बस घुम्छ । भवन नहुँदा अरु विद्यार्थी थप्न पाइएको छैन ।

नगर प्रमुख घिमिरेले सबै बालबालिकाको गुणस्तरीय शिक्षामा समान पहुँच स्थापित गर्नुलाई नगरपालिकाले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा लिएको, सामुदायिक विद्यालय र संस्थागत विद्यालयको दुरी घटाउन धेरै काम गरिएको बताउँछन् ।

तिलोत्तमाका धेरै ठाउँमा रहेका सरकारी विद्यालयका विद्यार्थीहरु टाढाबाट अध्ययनको लागि आउने र अभिभावकको इच्छा पनि आफ्ना बालबालिकाहरु बसबाट जाऊन् भन्ने रहेको तिलोत्तमा वडा नं. ३ का स्थानीय कमला ज्ञवालीले बताइन् । बस भएपछि विद्यार्थीहरु विद्यालयप्रति थप आकर्षित भएको शिवपुर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक केशवराज भण्डारीले बताए । अहिले नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा बस हुने संख्या ११ पुगेको छ । तिलोत्तमा नगरपालिकाले विगत वर्षहरुदेखि नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा गत आर्थिक वर्षमा ६ वटा विद्यालयलाई बस प्रदान गर्न छुट्टयाइएको र क्रमशः आवश्यकताका आधारमा बसहरु प्रदान गरिने तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचार्यले बताए ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालयमा करिब १५ हजार विद्यार्थी रहेका छन् । शिक्षा शाखाका अनुसार गतवर्षभन्दा यो वर्ष सामुदायिक विद्यालयमा २ हजार विद्यार्थी बढेका छन् ।

तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि नै आफ्नै सवारी साधन भएका सामुदायिक विद्यालय तथा भाडामा सवारी साधन चलाएका विद्यालयलाई उत्प्रेरणा जगाउने तरिकाले यो क्षेत्रमा अनुदान दिन थालेपछि सामुदायिक विद्यालयहरुप्रति स्थानीयको भरोसा बढेको स्थानीय गोपाल ज्ञवालीले बताए । उनका अनुसार यहाँका सरकारी विद्यालयमा निःशुल्क खाजा दिइने, विद्यालय जाने आउनेका लागि यातायातको व्यवस्थापन गरिदिने, अंग्रेजी माध्यम र नेपाली माध्यम दुवैमा पढाइ हुने भएकाले पनि यो योजनाले आकर्षण बढाएको हो ।

देख्दा सामान्य लागे पनि यी कामको सुरुवातले ती विद्यालयको व्यवस्थापनमा खटिएका सबैलाई ऊर्जा दिन थालेको उनको तर्क छ । नगरपालिकाको अनुदानमा बस सेवा गरेका ती विद्यालयलाई यसको व्यवस्थापनमा भने चुनौती थपिएको छ । ‘बस किन्नका लागि पनि लगानी भयो, त्यसपछि नियमित सञ्चालनका लागि खर्च कति धेरै आउने रहेछ भन्ने त बल्ल सञ्चालन गरेपछि महसुस भयो, अब नियमित सञ्चालन खर्चका लागि पनि नगरपालिकामा प्रस्ताव राखेका छौं ।’ जनजागृत माविका प्राचार्य टंक पौडेलले भने, ‘जहाँसम्म हाम्रो सुनुवाई हुनेछ, पालिकाले नियमित सञ्चालन खर्चको योजना पनि अगाडि सारेको सुनेका छौं ।’

अहिले सामुदायिक विद्यालयले यसरी पाएका बस संचालनका लागि विद्यार्थीहरुसँग न्यूनतम सञ्चालन खर्च लिने गरेका छन् । अधिकांश विद्यालयले यसलाई मासिक नबनाएर भर्नाकै समयमा सञ्चालन सहयोगका रुपमा लिएका छन् ।

निजी विद्यालयले विद्यालयदेखि कति किलोमिटरमा विद्यार्थी आउने हो त्यसैलाई आधार बनाएर बस भाडा तोकेर मासिक रुपमा लिने गरेका छन् । सामुदायिकले पनि करिब करिब यसैलाई आधार मानेर लिएपनि निजीको भन्दा आधा कम लिएको तर मासिक भने नलिएको बताएका छन् । केही विद्यालयले बसभाडा पनि तिर्न नसक्नेहरुलाई विद्यालयले निर्णय गरेर निःशुल्क बनाएका छन् ।

स्थानीय सरकारले अन्य स्रोत पहिचान गरेर विद्यालयलाई बस सञ्चालनको वैकल्पिक स्रोत व्यवस्थापन गरेर अगाडि बढे सर्वसाधारणमा अझै सकारात्मक सन्देश जाने सरोकारवालाहरुको भनाइ छ । स्थानीय अभिभावक झविन्द्र फुल्लेलले सामान्य परिवारका अभिभावकलाई सामान्य खर्च जुटाउन नि समस्या पर्ने भएकाले यातायात खर्चको स्रोत खोजेर निःशुल्क बनाउनुपर्ने बताउँछन् ।

नगर प्रमुख बासुदेव घिमिरेले विद्यालयको मागअनुसार बस सेवा सञ्चालनको लागि अनुदानको व्यवस्था मिलाइएको बताए । बालबालिका घरबाटै बसमा स्कुल जान पाउने, खाजा पनि निःशुल्क पाउने, भाषा पनि अंग्रेजी भएपछि अभिभावकले निजीको विकल्पको रुपमा सामुदायिक विद्यालयलाई लिन थालेका उदाहरण केही वर्षयता सरकारी विद्यालयमा बढेको भर्ना दरले पुष्टि गर्छ । शिक्षाविद् अर्जुन ज्ञवालीका अनुसार तिलोत्तमा देखिएका यस्ता केही सुचकहरुले अब सरकारी विद्यालयमा धेरै सुधार आएको संकेत आफुले पाएको, अभिभावकले सरकारी विद्यालयलाई निजी विद्यालयको विकल्पका रुपमा लिन थालेको र नतिजा पनि यसखालको आउन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *