प्रदेश १ नामाकरणमा संयुक्त प्रस्ताव लाने गठबन्धनमा सहमति, सर्वदलीय बैठक डाकियो – Nepal Press

प्रदेश १ नामाकरणमा संयुक्त प्रस्ताव लाने गठबन्धनमा सहमति, सर्वदलीय बैठक डाकियो

विराटनगर । प्रदेश १ को नामाकरण प्रक्रिया अघि बढाउन छलफलका लागि सर्वदलीय बैठक बोलाइएको छ । यही फागुन १० गतेलाई बैठक तय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, प्रदेश कमिटी अध्यक्ष/सभापति, सबै मन्त्रीहरू सहभागी हुने छन् ।

प्रदेश नामाकरणका लागि समन्वय तथा सहजीकरणका लागि गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादव (हाल स्वास्थ्यमन्त्री) लाई जिम्मा दिएको थियो ।

विहीबार मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित बसेको बैठकले नामाकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतले प्रदेश १ को नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको नामाकरण समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए ।

‘बैठकमा प्रदेशको नाम प्रदेशसभामा प्रस्तुत गर्नुपर्दा सत्तारुढ गठबन्धनका तर्फबाट सहमतिमा प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेका छौं’ यादवले भने ।

मन्त्री यादवले नामाकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर