आफ्नै देशमा नागरिकताबाट बञ्चित गर्नु मानवताविरोधी अपराध : उपेन्द्र यादव – Nepal Press

आफ्नै देशमा नागरिकताबाट बञ्चित गर्नु मानवताविरोधी अपराध : उपेन्द्र यादव

जनसंख्याको अनुपातमा मधेसमा बजेट छुट्याइनुपर्छ

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नै देशका नागरिकलाई नागरिकता अधिकारबाट बञ्चित गर्नु मानवताविरोधी अपराध भएको बताएका छन् ।

सिरहाको औरही गाउँपालिका ३ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले अविलम्ब नागरिकता विधेयक ल्याउन प्रधानमन्त्रीसँग पटक पटक आग्रह गरेको सुनाए । आफ्ना नागरिकलाई नागरिकता अधिकारबाट विश्वका कुनै देशले बञ्चित नगरेको पनि यादवको भनाइ छ ।

उनले भने, ‘आमा र बुबासँग नागरिकता छ । तर, सन्तानले नागरिकता पाएका छैन । यस्ता भूमिपुत्र लाखौं छन् । उनीहरूलाई नागरिकता दिनुपर्छ ।’

उनले मधेसमा ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने माग समेत गरे । ‘भर्खर भएको जनगणनाको तथ्यांक अनुसार मधेसमा ५३ प्रतिशत जनसंख्या रहेको छ’, यादवले भने, ‘तर यहाँ विकासमा मात्र १३ प्रतिशत लगानी भइरहेको छ । अनि कसरी हुन्छ मधेसको तरक्की ?’

काठमाडौं र आसपास क्षेत्रलाई मात्र हेरेर कर्मचारीले विभेदकारी बजेट बनाउने गरेको उनको आरोप छ ।

उनले पर्यटन, जलस्रोत, मानव संशोधनलगायत सबै क्षेत्रको विकास गर्ने पर्याप्त सम्भावना रहेपनि नेपाल दरिद्र नै रहेको टिप्पणी गरे । नेपालको शासक वर्ग स्वार्थ र संकिर्णताभन्दा माथि उठ्न नसकेकाले विकास हुन नसकेको यादवको भनाइ छ ।

अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले बदल्नुपर्ने धारणा समेत राखे । गरिबले चुनाव लड्ने अवस्था नरहेको भन्दै उनले चुनावमा पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने समानुपातिक निर्वाचन प्रणालीमा जोड दिए ।

जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारिणी राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प नरहेको यादवको भनाइ छ ।

सीके राउतका कार्यकर्ताको झल्को दिने गरी लाठीसहितका युवा

जसपाको पार्टी प्रवेश कार्यक्रममा सयौं युवा लाठी (बाँसको भाटा) बोकेर परिचालित थिए । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ठाउँ ठाउँमा अवरोध गरेपछि जसपाले पनि युवा दस्तालाई अघि सारेको हो ।

जनमत पार्टीले जसपाका नेताहरूलाई कालोझण्डा देखाउने तयारी गरेको सूचनाको आधारमा जसपाका युवा लाठी लिएर बसेका थिए । तर, त्यस्तो विरोध भने केही भएन ।

पछिल्लो समय मधेसमा जसपा र जनमत पार्टीबीच मनमुटाव देखिन थालेको छ । कार्यक्रमहरूमा जनमतका कार्यकर्ताले लाठी बोकेर अवरोध गर्न थालेपछि प्रतिकार गर्न जसपाले पनि युवा दस्ता प्रयोग गर्ने देखिएको छ । औरहीको पार्टी प्रवेशमा पहिलो पटक जसपाका युवाहरू लाठी बोकेर नेताको सुरक्षा गरे ।


प्रतिक्रिया

One thought on “आफ्नै देशमा नागरिकताबाट बञ्चित गर्नु मानवताविरोधी अपराध : उपेन्द्र यादव

  1. नेपालीलाई नागरिकता लिन केहिले छेक्दैन । केही ईश्युहरूकाे हकमा नागरिकता विधेयक मार्फत ओलिले सम्बेधन गर्न खाेज्दा नदिने तिमीहरू नै हाै जस्तै आमाकाे नामबाट नागरिकता । त्याे पनि विधेयक संसदमा छ पास गराए भै गयाे नि । तिमीलाई विदेशीलाई फटाफट नागरिकता दिनुपर्ने हाेला । त्यस्ताे त नेपालमा छुट छैन हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर