एमसीसीमा माधव नेपाल लचक, गठबन्धन जोगाउन पार्टीका नेताहरुको तीव्र दबाब – Nepal Press

एमसीसीमा माधव नेपाल लचक, गठबन्धन जोगाउन पार्टीका नेताहरुको तीव्र दबाब

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन नै भत्किन आँटेका बेला बिहीबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेट भयो । छलफल सकेर निस्किएका नेपाललाई पत्रकारहरुले घेरा हालेर प्रश्न सोधे, तर नेपाल तर्किए ।

नेपालले यति चाहिँ भने- ‘धेरै बोलेर कुरा बिग्रिएको छ ।’

एमसीसीको विरोधमा यसअघि नेपाल नेतृत्वको एकीकृत समाजवादीले कडा प्रतिक्रिया दिँदै आएको थियो । अध्यक्ष नेपालको पछिल्लो लवजले भने फरक संकेत गर्छ । भ्रातृ संगठनहरुले एमसीसी खारेजै गर्नुपर्छ भनेर आन्दोलनमा उत्रिएका बेला नेपाल भने लचक देखिन थालेको स्रोतको दावी छ ।

केही नेताहरुले एमसीसीमा लचिलो बनेर गठवन्धन जोगाउनका निम्ति नेपाललाई दवाव दिइरहेका छन् । एमसीसीकै कारण पाँचदलीय गठबन्धन धरापमा परेपछि उनलाई आफ्नै सांसद तथा मन्त्रीहरूबाट दवाव बढेको हो ।संघीय सरकारका केही मन्त्री तथा पार्टीका नेताहरूले नेपाललाई फोन गरेर गठबन्धन भन्दा एमसीसीलाई बढी महत्व नदिन सुझाव दिइरहेका छन् । अहिले गठबन्धन भत्किए सबैभन्दा धेरै एकीकृत समाजवादीलाई क्षति पुग्ने उनीहरुको निस्कर्ष छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनाल एमसीसीका सन्दर्भमा हार्डलाइनर बनेका छन् । उनी कुनै पनि अवस्थामा एमसीसी पारित हुन नहुने अडानमा छन् । यसले गर्दा अध्यक्ष माधव नेपाल भने अलमलमा परेको स्रोतको दावी छ ।

‘संघीय सरकारका केही मन्त्रीहरूबाट माधव नेपाललाई दबाब आइरहेको छ,’ स्रोतले भन्यो, ‘पछिल्लो गतिविधिले गठबन्धन भत्किने संकेत देखिएपछि त्यसलाई रोक्न नेताहरु लागिरहनुभएको छ ।’

माओवादीकै पिछलग्गु भएर आफ्नो पार्टीले एमसीसीबारे कडा निर्णय लिन नहुने नेताहरुको राय छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि समन्वयका लागि बालकोट जान सकिने भनेर दिएको अभिव्यक्तिलाई इंगित गर्दै उनीहरुले फेरी माओवादी र एमाले बिच तालमेल हुनसक्ने समेत आशंकासमेत गरेका छन् । यसअघि एमालेसँग ६०÷४० मा सहमति गरेर चुनावी तालमेल गर्न सक्ने उनीहरुको चिन्ता छ ।

‘ओलीले हामीलाई किनारामा धकेल्नका लागि माओवादीसँग पनि तालमेल गर्न सक्छन् । यस्तो अवस्थामा हामीलाई सबैभन्दा ठुलो समस्या हुनसक्छ,’ नेकपा एसका एक नेताले नेपाललाई भनेको उद्वृत गर्दै स्रोतले भन्यो, ‘अहिले एमसीसीका कारण गठवन्धनमा समस्या आउन दिनुहुन्न ।’

माओवादी संसदीय दलको वैठकले एमसीसी टेबल गरिए सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म यस विषयमा ठोस निर्णय गर्न सकेको छैन । केही दिनपछि स्थायी कमिटीको बैठक राखेर एमसीसीबारे धारणा बनाउने योजना पार्टीले बनाएको छ ।

नेकपा एसका नेता मेटमणि चौधरी अमेरिकाले ‘एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजीको प्रोजेक्ट होइन’ भनेमा अगाडि बढाउन सकिने बताउँछन् ।

‘आजै यो विषय टुंगिदैन,’ चौधरीले नेपाल प्रेससँग भने, ‘अमेरिकाले यो इन्डोप्यासेफिक स्ट्राटेजीको प्रोजेक्ट होइन भन्यो भने अगाडि बढ्छ ।’

त्यसो त अमेरिकी अधिकारीहरुले यसअघि पटकपटक एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी अन्तर्गत नरहेको बताइसकेका छन् । त्यसैले नेकपा एसले केवल फेस सेभिङका लागि यस्तो शर्त राखेको देखिन्छ ।

पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ संशोधनबिना अगाडि बढाउनुहुन्न भन्ने मान्यता आफूहरुको भए पनि यसबारे पार्टीमा निर्णय नभइसकेको बताउँछन् ।

‘के गर्ने भन्ने निर्णय हामीले गरेका छैनौं,’ श्रेष्ठले नेपाल प्रेससँग भने, ‘गठबन्धनको आजको बैठकपछि के गर्ने भन्ने निर्णयमा पुग्छौं । यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भन्ने हाम्रो मान्यता यथावत नै छ ।’


प्रतिक्रिया

2 thoughts on “एमसीसीमा माधव नेपाल लचक, गठबन्धन जोगाउन पार्टीका नेताहरुको तीव्र दबाब

  1. एसका सरकारमा भएकाले गठबन्धन जाेगाउँ भनिहाल्छन् नि । तर मार्न पाईरहेकै छन् । पद पाए देशै बेच्न त तयार हुन्छन् । एमसिसि त के भयाे र तिनकाे लागि ।

  2. पार्टि भन्दा देश ठूलो हो भन्ने कहिले बुझ्ने हो नेताहरूले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर