कक्षा १० सम्मका सबै प्रकारका परीक्षा वैशाखमा सञ्चालन गरेर नतिजा प्रकाशन गरिसक्नुपर्ने – Nepal Press

कक्षा १० सम्मका सबै प्रकारका परीक्षा वैशाखमा सञ्चालन गरेर नतिजा प्रकाशन गरिसक्नुपर्ने

काठमाडौं । विद्यालयत तहले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षा आगामी २०७९ बैशाखमा सञ्चालन गरेर नजिता पनि बैशाखमा नै प्रकाशन गरिसक्नुपर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई त्यसै अनुसार काम अघि बढाउन निर्देशन दिएको हो ।

कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै २०७८ माघ महिनाभर देशभरका सबै विद्यालय बन्द रहेकोले शैक्षिक सत्र २०७८ को बाँकी अवधिको पठन पाठन, शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थी भर्ना एवम् पठन पाठन गर्नका विभिन्न पाँच वटा निर्णय गर्ने क्रममा मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले विद्यालयले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको गत माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गनुपर्ने निर्णय गरेको छ ।

शैक्षिक सत्र २०७८ को चैत्र मसान्त सम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्नुपर्ने, विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षा २०७९ वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिना भित्रै गरिसक्नुपर्नेछ ।

स्थानीय तहले कक्षा आठको परीक्षासमेत २०७९ वैशाखमा अनुकुल समयमा सञ्चालन गरिसक्नुपर्ने मन्त्रालयले निर्णय गरेको छ । माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा (एसइई) २०७२ वैशाख एक गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक भईसकेको अवस्थालाईसमेत मध्यनजर गर्दै यस्तो निर्णय गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारीसमेत रहेका निर्देशक सुरेश कुमार जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्नासमेत बैशाख महिनामा नै शुरु गर्नुपर्ने र २०७९ जेष्ठ एकगते देखि नियमित पठन पाठन गर्नुपर्नेछ । २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्यघण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्य सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको छ । त्यसका लागि जिल्ला भित्र शिक्षा विकास तथा समन्वय इकाइले आवश्यक समन्वय र सहजीकरण गर्न केन्द्रले ७७ वटै जिल्ला इकाइलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर