शिवरात्रीअघि नै पशुपतिका पर्खाल शिवजीमय हुँदै, मन्त्री आलेले भन्छन्- अब मुहार फेरिन्छ (भिडिओ) – Nepal Press

शिवरात्रीअघि नै पशुपतिका पर्खाल शिवजीमय हुँदै, मन्त्री आलेले भन्छन्- अब मुहार फेरिन्छ (भिडिओ)

काठमाडौं । बुधवार साँझ अचानक पशुपतिनाथको मूलद्धारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले अचानक पुग्दा पञ्चायतकालकी चर्चित माननीय नानीमैया दाहालसँग जम्काभेट भयो ।

मन्त्रीको ध्यान भने नानीमैयातिर भन्दा पनि पशुपतिनाथको स्वरुप फेर्नेतिर थियो । नानीमैयाले ‘लौ गरे तिमीले नै गर्ने हो, नत्र यो पशुपतिनाथको विकास कसैले गर्दैनन्’ भनेर हिडिन् ।

पशुपति भ्रमण गरेर फर्किदै गर्दा वरिष्ठ नायक शिव श्रेष्ठ भेटिए । उनले अहिलेका चर्चित मन्त्री आलेसँग फोटो खिच्दै पशुपति मन्दिर परिसरका भित्ताहरु फेरिन थालेकामा मन्त्रीको प्रशंसा गरे ।

मन्त्री आलेले दुई साताअघि पशुपति भ्रमणका क्रममा अव्यवस्थित टहर, पसलहरु हटाउन र भित्तामा शिवजी लगायत देवी देवताको चित्र पेन्टिङ गर्न निर्देशन दिएका थिए ।

बुधवार उनी पुग्दा पशुपतिका भित्तामा शिवजीका चित्र व्यवसायिक कलाकारहरुबाट कोरिदै थिए । उनले शिवरात्रीअघि नै मुख्य पर्खालका शिवजीका चित्रले भित्ता रंगाउन ताकेता गरे ।

विकास कोषका सदस्य सचिव मिलन कुमार थापाले मन्त्रीको निर्देशनपछि व्यवसायिक कलाकारहरु लगाएर भित्तामा कलात्मक तस्विर चित्रण गर्ने काम भइरहेको बताए ।

मन्त्रीले करीव डेढ घण्टा पशुपति परिसरमा भ्रमण गरेर सरसफाइन, जिर्णोद्दार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरेका थिए ।

उनले पछिल्लो छलफलका आधारमा अव्यवस्थित फूल पसलेहरुलाई पशुपति परिसरमै रहेको भवनमा सार्न र आवश्यक थप संरचना निर्माण अघि बढाउन निर्देशन दिए ।

देश विदेशबाट आउने लाखौंं भक्तजनहरुको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताए । उनले निर्देशन पालना भए नभएको आफूले अनुगमन गर्ने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *