थ्रीस्टारसँग अंक बाँड्दा पुलिस ढुक्क – Nepal Press

थ्रीस्टारसँग अंक बाँड्दा पुलिस ढुक्क

काठमाडौं । थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार १-१ को बराबरी खेल्दै अंक बाढेका छन् ।

तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएपछि थ्री स्टारसामु तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लिने अवसर भए पनि त्यसको सदुपयोग गर्न सकेन ।

२१औं मिनेटमा ऋतिक खड्काको गोलमा थ्री स्टार क्लबले अग्रता लिएको थियो । संजोक राईको पासलाई ऋतिकले जाली चुमाएका थिए ।

५२औं मिनेटमा रक्षक सुमन सुवेदीको गोलमा पुलिस खेलमा फर्किएको थियो । तेज तामाङको फ्रिकिकलाई सुमनले हेडरमार्फत जाली चुमाएका थिए ।

यसअघि १८औं मिनेटमा थ्री स्टारका घनिफोको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले विफल पारेका थिए । ६९औं मिनेटमा थ्री स्टारका गोलकिपर प्रिसोले रवि पासवानको प्रहार मुस्किलले जोगाएका थिए ।

बराबरी पछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्री स्टार भने यस अघिनै ढुक्क भएको थियो ।

थ्री स्टार ११ खेलमा १८ अंकसहित चौथो स्थानमा छ । समान खेलमा तेस्रो स्थानको आर्मीको १९ अंक छ । पुलिस क्लब समान खेलमा ११ अंकसहित १०औं स्थानमा छ ।

यसअघि बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा साबिक विजेता मछिन्द्रले सातदोबाटो यूथ क्लबमाथि १-० को जितसहित दुई खेल अगावै लगातार शीर्ष डिभिजन लिग उपाधि रक्षा गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *