प्रेम : दिलतिरको यात्रा – Nepal Press

प्रेम : दिलतिरको यात्रा

पश्चिमी समाजमा प्रचलित ‘भ्यालेन्टाइन डे’को सप्ताह भर्खरै सकियो । वाणिज्य, व्यापार र राजनीतिले प्रभुत्वशाली पश्चिमी समाजको सांस्कृतिक प्रभाव हाम्रो समाजमा विस्तारित हुनु अनौठो होइन ।

पूर्वीय समाजको धर्म, दर्शन, संस्कृतिको महत्वपूर्ण पक्ष ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तुः सुखिन’ भएजस्तै पश्चिमी समाजको धर्म, दर्शन र संस्कृतिको मूल पक्ष लेनदेन हो ।

बितेको हप्ता भ्यालेन्टाइन डेमा कति प्रेम लेनदेन भयो ? के-के लेनदेन भयो ? प्रेमीले के दिए-लिए ? प्रेमिकाले के दिइन्-लिइन् ? गुलाब, सामान, वचन, कसम, के-कस्ता सम्झौता आदानप्रदान भए ? के यस्ता सामान लेनदेन गरेर हामी प्रेम गरिरहेका छौं या अरु केही ? आखिर प्रेम के हो ? आउनुस् यस आलेखमा हामी प्रेममा छौं या अर्थोक केहीलाई प्रेम भनिरहेका छौं, दाँजेर हेरौं ।

यसै हप्ता मसँग भेटिन आएका दुईवटा प्रेम प्रसंगबाट आलेख सुरू गर्छु । सामाजिक सञ्जालमा सक्रिय एकजना बहिनीको साँझ फोन आयो । फोन उठाउनसाथ उनले एकै स्वासमा भनिन्- ‘दिदी घरमा नै हुनुहुन्छ होइन ? मलाई एकछिन समय दिनु न, भेट्छु ।’ उनको हतास आवाज सुनेर अर्थोक केही नसोची ‘हुन्छ’ भनेँ । उनी आइन् । रातको १० बजेसम्म उनको कुरा सुनेँ र केही सुनाएर पठाएँ । उनको प्रेमीले उनलाई धोका दिएको प्रसङ्ग थियो त्यो ।

शरीर सुन्दर देखेर, बोलेको राम्रो लागेर, धेरै धनी देखेर, उसँग जीवन बिताउँदा सुख प्राप्त हुन्छ भन्ने ठानेर हुने प्रेम शरीर तहको हो । यसमा प्रेम एकदमै कम र शरीरमा उत्पन्न रासायनिक प्रतिक्रिया र भौतिक सुखको इच्छाले अधिक काम गरेको हुन्छ । शरीर भोगको उत्कण्ठाले प्रेरित हुन्छ । अनि भोगपछि आकर्षण कम हुन्छ र ‘प्रेमी, प्रेमिका’ भनिएका नै दुश्मन बन्छन् ।

आठ दिनअघिको अर्को कुरा- अर्की एकजना बहिनीको म्यासेज आएको रहेछ । लेखिएको थियो, ‘दिदी म एउटा समस्यामा छु । एकजना साथीले हजुरलाई भन भन्नुभयो अनि म्यासेज गरेको । फोन नम्बर दिनसक्नुहुन्छ ?’ हाम्रो फोनमा कुरा भयो ।

उहाँ नाम चलेको कोही व्यक्तिसँग एक वर्षदेखि प्रेममा हुनुहुँदो रहेछ । विवाहको कुरा चल्दा केटाको यसअघि नै दुईजनासँग ब्रेकअप भैसकेको भनेर घरबाट त्यो केटालाई नदिने भनेछन् । विवाह नहुने भएपछि केटाले ‘धोका दिए तस्बिर बाहिर ल्याइदिन्छु’ भन्दोरहेछ । ‘तस्बिर बाहिर ल्याइदिए त बाँच्न लायक रहिँन, के गर्ने दिदी’ भन्दै उहाँ निक्कै रुनुभो । उहाँ अहिले फरक अवस्थामा हुनुहुन्छ ।

प्रेम दिवसको आसपास मेरो सम्पर्कमा आइपुगेका यी प्रतिनिधि घटना मात्र हुन् । प्रेमीद्वारा प्रेमिकाको हत्या, अर्को केटासँग विवाह हुनै लाग्दा विवाह मण्डपमै पुगेर प्रेमीद्वारा प्रेमिकामाथि एसिड प्रहार, प्रेमीकाले अर्कोसँग विवाह गरेको भन्दै प्रेमीकाद्वारा विष सेवन, अर्को केटासँग बोलेको भन्दै प्रेमीद्वारा कुटपिट, हामी अचेल निरन्तर यस्ता समाचार सुन्न-पढ्न अभ्यस्त छौँ ।

यस्ता समाचार पढेर प्रेम टुटेको भन्न सक्छौं कि सम्बन्ध टुटेको ? आफूसँग विहे गरे प्रेम, नगरे एसिड प्रहार, के हामी यसैलाई प्रेम भनिरहेका छौँ ? सम्पत्ति होस् वा जीवनसाथी, यी कुरा पाउने अभिलाषा प्रेम हुन् कि मोह ?

यी मोह हुन् र मोहको बसमा परेर कायम गरिएका सम्बन्धलाई हामी अचेल प्रेमको रूपमा व्याख्या गर्न थालेका छौं । प्रेम र सम्बन्ध फरक हुन् । प्रेम अनुभूतिजन्य घटना हो भने सम्बन्ध प्रतिफल सोचविचार गरेर अपनाइने व्यवहार हो । प्रेम घटना हो, जुन घटित भइसकेपछि मेटिंदैन । सम्बन्ध लेखाजोखा हो, हिसाब तलमाथि भएपछि बाँकी रहँदैन शत्रुतामा परिणत हुन्छ । त्यसैले आज हामी यस्ता सम्बन्धहरू टुट्नुलाई प्रेम टुटेको भन्छौं र त्यसैका वरिपरि प्रेमको चर्चा गर्छौं ।

मानिसभित्र प्रेम, घृणा, दया, करुणाजस्ता सबै भावहरू हुन्छन् । हामीमा भएको ऊर्जाले नै यसलाई थप विकास गर्ने हो । शरीरको ऊर्जा प्रेम, करुणा बन्न पाएन भने त्यो घृणा, इश्र्या बनेर बाहिर आउँछ । त्यसैले बलात्कार, अपहरणजस्ता घटना बढाउँछ ।

प्रेम एकदमै सुक्ष्म, सुन्दर अनि कोमल महसुस मात्र हो । अंग्रेजीमा प्रेम अनुभूति जनाउने शब्द ‘लभ’ हो । लभको अर्थ ‘फिल डिप एफेक्सन फर समवन’ अर्थात् कसैप्रतिको गहिरो स्नेह भन्ने हुने रहेछ । तर, हाम्रो सभ्यतामा प्रेम कसैप्रति नभएर यो आफैंभित्र हुने करुणाको बेग हो भनिएको छ ।

स्वयंप्रति पहिल्यै प्रेम हुन्छ र त्यति नै तहको अनुभूतिजन्य आयतन अरुमा देख्नुलाई प्रेम मानिन्छ । आफ्नो सुखदुःख बुझ्न सकेपछि, प्रेमिकाको या प्रेमीको सुखदुःख उसैले त्यसैगरी बुझ्न सक्छ भन्ने मान्यता छ । त्यसैले हाम्रो सभ्यतामा ‘स्वप्रेम’को कुरा गरिएको छ ।

स्वप्रेमको गतिलो उदाहरण युद्ध, सहयोग, घृणा, द्वेष, जीत, हार सबै खपेर बाहिर आएका अर्जुनसँग कृष्णले भनेका कुरा । उनले भनेका छन्- सर्वधर्मान् परित्याज्य मामेकं शरणं ब्रज (श्रीमद् भगवत् गीता, अध्याय १८, श्लोक ६६) । यसको अर्थ हो सबैथोक छोडेर आफ्नो शरणमा आऊ । या स्वप्रेमबाट नै आफूलाई चिन अनि संसारलाई चिन्न सक्छौ र संसारलाई प्रेममय बनाउन सकिन्छ भन्ने कुरा जोड दिएको छ ।

अंग्रेजीमा ‘आई लभ यू’ अर्थात् म तिमीलाई प्रेम गर्छु भनिन्छ । हाम्रोमा त प्रेमको शब्द नै मुखरित हुँदैन । संस्कृतमा ‘अहं त्वयि स्निह्यामि’ अर्थात् मैले तिमीमा करुणा भेटें भन्ने गरिन्छ । यसको अर्थ मैले तिमीमा प्रेम या परमात्मा भेटें भन्ने हुन्छ । यहाँ ‘म’ प्रमुख छैन उ भित्र भएको परमात्मा प्रमुख छ र त्यो अरुमा पनि निहीत छ ।

यसले भन्छ- प्रेमी हुनु अरुमा आफूलाई भेटिएको गहिरो महसुुस हो, जुन महसुस शरीरको तह, मनको तह र आत्माको तह गरी तीन तहमा बाँडिएको छ । अन्तिम र सबैभन्दा भित्री तहलाई तुरियको अवस्था भनिएको छ, जसले शरीर, बुद्धि र मन भन्दा पनि भित्र रहेर सबै घटनाहरूलाई हेरिरहेको हुन्छ । अर्थात् यसलाई भौतिक अभौतिक र पारमार्थिक पनि भनिन्छ । यही चेतनाको पनि वैश्वानरदेखि तेजशसम्मको गहिराइको भाषाद्वारा सम्झाउनै नसक्ने चेतको बारेमा माडुक्योपनिषद्मा उल्लेख गरिएको छ (माडुक्योपनिषद्, श्लोक ३-८) । जसलाई पतञ्जली योग सुत्रमा पनि हेर्न सकिन्छ ।

प्रेममा पहिलो मनको तहलाई जाग्रीत अवस्था भनिएको छ । जाग्रीत अवस्थामा पहाड, घर, भूमि, भौतिक सम्पत्ति खोला आदिमा ध्यान जानु हो । यसैलाई भौतिक या शरीरको तहको प्रेम भन्न सकिन्छ ।

अर्को स्वप्नको अवस्था । जसमा वस्तु नभएर विम्व, कल्पना, विचार केन्द्रमा रहन्छ । यो अभौतिक या मनको तहको प्रेम हो । त्यसपछिको अवस्थालाई सुषुप्तिको या पारमार्थिक अवस्था भनिएको छ । यसमा न वस्तु न विचार, केही नहुने निर्विचार र सुषुप्तिको अवस्था हो । यो परमात्मासँगको या आत्मिक प्रेम हो । अनि त्योभन्दा पनि अत्यान्तिक अवस्था तुरिय अवस्था हो ।

शरीर सुन्दर देखेर, बोलेको राम्रो लागेर, धेरै धनी देखेर, उसँग जीवन बिताउँदा सुख प्राप्त हुन्छ भन्ने ठानेर हुने प्रेम शरीर तहको हो । यसमा प्रेम एकदमै कम र शरीरमा उत्पन्न रासायनिक प्रतिक्रिया र भौतिक सुखको इच्छाले अधिक काम गरेको हुन्छ । शरीर भोगको उत्कण्ठाले प्रेरित हुन्छ । अनि भोगपछि आकर्षण कम हुन्छ र ‘प्रेमी, प्रेमिका’ भनिएका नै दुश्मन बन्छन् ।

दुश्मन किन बने भने त्यहाँ प्रेम थिएन । स्वार्थ थियो, अपेक्षा थियो, कामना थियो । अर्को प्रेम मनको तहमा हुन्छ । वासना सकिएर समर्पणको अवस्था हो, मनको तहको प्रेम । मनको तहमा हुने प्रेममा करुणा उत्पन्न हुन्छ । यसमा सबै समान अवस्थामा देख्ने दृष्टि तयार हुन्छ । यसमा जात, धर्म, वर्ण भन्ने मान्छेले तयार गरेका कुरा हराएर समभाव उत्पन्न हुन्छ । यस्तो करुणाको बेगमा अगाडि को हुन्छ भन्ने कुराले केही अर्थ राख्दैन ।

तेस्रो तहको प्रेम भनेको आत्मिक प्रेम हो । यसमा सबै मेटिएर प्रार्थना बन्छ । तुरिय अर्थात् परमात्मा प्राप्तिको अवस्थामा एकदमै कम मात्र पुग्दछन् । बुद्ध, कृष्ण, शिव र अन्य मुनिहरूले यही अवस्था प्राप्त गरेका थिए ।

खासमा प्रेमको गहिराइमा पुगेको मान्छे पाकेको फल जस्तै नरम मिठासले भरिएको र मधुर रङ्गमा ढलेकोे परिपक्व हुन्छ । जसले एकपटक प्रेमको मर्म बुझ्न पायो उसलाई थप केही जान्न आवश्यकता नै हुँदैन । किनकि प्रेमबाट मनको अत्युत्कर्षको अवस्था प्राप्त हुन्छ । जुन तुरिय अवस्थालाई ब्रह्म भनिएको छ ।

‘अहं ब्रह्मास्मी’ अर्थात् ‘म ब्रह्म हुँ’, हाम्रो शास्त्रको निचोड वाक्य हो । एक थोपा पानी समुद्रमा मिल्दा त्यो पानीको अलग अस्तित्व हुँदैन, आफैं समुद्र बन्छ, त्यसैगरी प्रेममा अलग अस्तित्व हुँदैन, बिलय हुन्छ । यसले प्रेमको तुरिय अवस्था जनाउँछ । जसकोे व्याख्या उपनिषद्मा पाइन्छ (बृहदारण्यकोपनिषद्, अध्याय एक श्लोक १०) ।

कृष्ण, बुद्ध र मुनिहरू तिनै प्रेमको तुरिय अवस्थामा पुगेका सन्त हुन् । तर सन्तको कुरा आउँदा ध्यानी साधुहरूमा प्रेम हुन्छ भन्ने प्रश्न गर्नेहरू पनि धेरै छन् । प्रेम सबैमा हुन्छ । प्रेम नै धर्म हो । प्रेम शान्ति हो । त्यसैले शान्तिमा रहनेले नै परमात्मा भेट्न सक्छन् । मीरा, अष्टाबक्र, गार्गी अनेक ऋषि जो करुणाले ओतप्रोत थिए । त्यसैले उनीहरू सुषुप्तिसम्म पुग्न पाए ।

यस्तो प्रकृतिप्रदत्त कुरा कसरी लेनदेनमा आउँछ ? प्रेमका नाममा एसिड छर्कने, विवाह भाँड्न जाने, विष सेवन गर्ने, उसँग शरीर भोग्न नपाएको झोकमा अर्को केटा वा केटीसँग तत्काल विवाह गरेर बदला लिनेहरू प्रेमी नभएर कामवासक हुन् । रोगी हुन् । बुझाइको पहिलो तहमा अड्कीएका शरीरका भोगी हुन् । भोग्न चाहेको शरीर भोग्न नपाउँदा यस्तो हिंस्रक बन्छन् ।

मानिसभित्र प्रेम, घृणा, दया, करुणाजस्ता सबै भावहरू हुन्छन् । हामीमा भएको ऊर्जाले नै यसलाई थप विकास गर्ने हो । शरीरको ऊर्जा प्रेम, करुणा बन्न पाएन भने त्यो घृणा, इश्र्या बनेर बाहिर आउँछ । त्यसैले बलात्कार, अपहरणजस्ता घटना बढाउँछ ।

तुरिय अवस्थासम्म पुग्ने प्रेमलाई वैवाहिक बन्धन प्राप्तिको माध्यम बनाउँदा प्रेम घटनाबाट कर्म बन्न पुगेको छ । जसले वैवाहिक सम्बन्धहरू निरस हुँदै गएका छन् । सँगै रहेर पनि टाढा हुने र टाढा रहेकाहरू नजिक पुग्ने अवस्थामा दम्पतीहरू छन् । यसले प्रेमका नाममा अपराधहरू जन्माइरहेको छ ।

प्रेम भनेको प्रकृतिको समान प्रवाह हो । प्रकृतिको लागि घरकी श्रीमती र अर्की युवती समान हुन् । असमान गर्ने मान्छेको दिमागले हो । जसरी एउटा फूलेको फूलले वास्ना छर्दा भमरालाई दिन्छु, माहुरीलाई दिन्नँ या झिंगालाई होइन भन्ने हुँदैन । त्यसैगरी हामीमा भएको प्रेमको आभा पनि एकैस्तरमा सबैमा समान फैलिन्छ । त्यसमा उसको आभाको आयतनको आधारमा धेरै थोरै प्रेमी बन्न सक्छन् ।

यहाँ प्रेमी भन्नेबित्तिकै धेरैको दिमागले शारीरिक सम्बन्धको चित्र कोरियो होला । प्रेमलाई विवाह र यौनको एकै भाँडोमा मुछिएपछि प्रेम भन्नासाथ शारीरिक सम्बन्ध बुझ्न थालियो । प्रेमको लेनदेनमा आधारित पश्चिमी परिभाषाले पुर्याउने पनि यस्तै ठाउँमा हो । त्यहाँ किस डे, हग डे, रोज डे, चकलेट डे जस्ता विनिमयका भाषा छन् । तर प्रेम, शारीरिक सम्बन्ध र विवाह तीन फरक फरक कुरा हुन् ।

प्रेम मान्छेमा जन्मसिद्ध प्राप्त या प्रकृतिप्रदत्त हुन्छ । यौन उमेर पुगेपछि निश्चित समयसम्म रहने हार्मोनको प्रतिक्रिया हो भने विवाह सामाजिक नियम हो । प्रेम विश्वभर एउटै शास्वत हुन्छ, विवाह समुदाय नै पिच्छे फरक हुन्छ ।

समाजको नियम भन्छ- पहिला विवाह गर अनि प्रेम अनि मात्र शारीरिक सम्बन्ध । यो प्रकृतिलाई बाँध्ने मान्छेको छुद्र काम हो । समाजको यही नियम बिग्रेको कारण पुरुष मृत्यु नजिक हुँदा पनि आफैले बनाएको परिवारका सदस्यलाई बलत्कार गर्ने, वेश्यालय चलाउने, हिंसाले ग्रसित भोगविलास र यसका लागि युद्धको आगोले उकुसमुकुस छ । त्यसैले प्रेम वासनामा कैद भयो र प्रेममा श्रद्धा हटेर बजारका सामानमा केन्द्रित हुन पुग्यो । तत्काल शारीरिक तृष्णा मेटिहाल्नु पर्ने पुरुषको हतारोको लागि बनाइएको सामाजिक नियमको परिणाम हो यो ।

खोजको सर्वोच्च अवस्था मनोविज्ञानको पनि तुरिय अवस्थासम्म पुगेका मुनिहरू र हातमा सामान बोकेर मन खरिद गर्न निस्किएको अहिलेको पुस्ताको दृष्यबीच ठूलो भिन्नता छ । यसलाई बुझ्न नसक्दा आज सम्पत्ति, शारीरिक भोग, भौतिक सुख प्राप्तिको स्वार्थ विनिमयलाई हामी प्रेम आदाप्रदान भनेर बुझिरहेका छौं ।

धेरै ऋषि ऋषिकाले ज्ञान प्राप्त गरेको हाम्रो तपोभूमिमा बजारिया प्रभाव रहँदैन भन्ने अवस्था अब छैन । मानसिक गुलामीको असर कति हुन्छ भनेर हामी देख्दैछौं कि प्रेमको ठाउँ पनि बजारले लिएको छ । हाम्रो संस्कृति आज विश्वबजारको विज्ञापनमा अड्किएको छ । प्लाष्टिकको फूलले उनीहरूको प्रेम लेनदेन हुने दुर्घटित प्रेमको अवस्था हो यो ।

प्रेम भनेको प्रकृतिको समान प्रवाह हो । प्रकृतिको लागि घरकी श्रीमती र अर्की युवती समान हुन् । असमान गर्ने मान्छेको दिमागले हो । जसरी एउटा फूलेको फूलले वास्ना छर्दा भमरालाई दिन्छु, माहुरीलाई दिन्नँ या झिंगालाई होइन भन्ने हुँदैन । त्यसैगरी हामीमा भएको प्रेमको आभा पनि एकैस्तरमा सबैमा समान फैलिन्छ । त्यसमा उसको आभाको आयतनको आधारमा धेरै थोरै प्रेमी बन्न सक्छन् ।

हामी समाज सभ्य भयो भन्छौँ । तर, हरेक हिसाबले हेर्दा अहिलेसम्मको सबैभन्दा नालायक पुस्ता हामी हौँ । यसबेला प्रेमको नाममा अपराध भएको र प्रेमले मौलिकता गुमाएको विश्व बजारले विचार नियन्त्रण गरेको छ । विज्ञापनले चलाउने समाज निरस अवश्य हुन्छ । यहाँ प्रेम फस्टाउन सक्दैन, मात्रै व्यापार हुन्छ । हाम्रो चेत बजारको हुकमा अनुबन्धित छ । त्यसैले समाजले प्रेम होइन नाफा हेर्छ र नाफा प्राप्तिका लागि मान्छेले जे पनि गर्छ ।

के प्रेमी पश्चिममा जन्मेको भ्यालेन्टाइनमा मात्र थियो र ? उनीप्रति मेरो सम्मान छ । पतिको अपमानमा यज्ञकुण्डमा हामफाल्ने सतिदेवी, वर्षौ वर्ष तिनै सतिको लास काँधमा बोकेर हिँड्ने शिव, सामाजको बन्धनबाट उक्लिएर कृष्ण पाउन हिँडेकी मीरा, नल र दमयन्तीको त्यो अनुपम प्रेम, अन्धो पति परेपछि आजीवन आँखा नहेर्ने प्रण गरेर आँखामा पट्टी बाँधेरै जीवन काटेकी गान्धारी, दरवारमा बच्चा जन्माउनको लागि ल्याइएकी वेश्या उवर्सी र युवराज पुरुरवाको प्रेम, महिनौ युद्ध गरेर सीतालाई पर्काएर ल्याउने राम, १६ सय गोपीनीलाई आफैँले आश्रम दिलाएर राख्ने कृष्ण, के यी उत्कृष्ट प्रेमी होइनन् ?

हामी तिनै प्रेमीहरूको पूजा गर्ने संस्कारमा जन्मेका मान्छे हौं, जो प्रेम गरेरै भगवान् बने । तर, यसलाई बेवास्ता गरेर आजको पुस्ता रोज डे, चकलेट डे, हग डे, किस डे जस्ता भौतिक र शारीरिक लेनदेनमा झुमेको छ ।

एकोहोरो प्रेम त के गर्नु भन्नेहरू पनि भेटिनुहुन्छ । प्रेम आफैंमा पूर्ण महसुस हो । त्यसैले प्रेम आफ्ना तर्फबाट एकोहोरो नै हुन्छ । लेनदेनबाट माथि हुने यो समर्पण हो । दोहोरो हुने लेनदेन हो । प्रेममा हुनु, प्रेममा गिर्नु र प्रेम नै हुनुको तीन अवस्थामा प्रेम महसुस हुन्छ । अंग्रेजीमा यसलाई भन्दा फल इन लभ, विइङ लभ, र वि लभ भन्न सकिन्छ । बरु आफू कुन तहमा छु, म मान्छे बन्न सकेँ कि सकिनँ भन्ने खोजमा हुनुपर्ने पुस्ता बजारको सिलमा उनीएर सुकुटी भएर झुण्डिएको छ ।

बजार, जसले हरेकथोक नाफामा सोच्छ । थोरै नाफाघाटा हुँदा द्वन्द्व निम्त्याउँछ । त्यसैले बजारले नियन्त्रित दुनियाँमा आज बलत्कार, हिंसा, युद्ध र आतंकमात्र व्यप्त छ । अहिलेको सम्बन्धहरू पनि त्यसैको परिणाम हुन् ।

यसको कारण एउटै छ कि, हामीले जीवन विज्ञानको लय गुमाइसकेका छौं । विनिमय गरेपछि कि नाफा हुन्छ कि नोक्सान । सम्बन्ध कि टुट्छ, कि जोडिन्छ । विनिमय र सम्बन्धमा यी दुई भन्दा अर्को बाटो नै छैन । तर, प्रेम, आफैंभित्रको भाव भएकोले आफू रहुञ्जेल रहीरहन्छ । त्यसैले हरेक प्रेमीले आफूलाई प्रेम गरौं, त्यसको पोषणका रूपमा सबैले प्रेम पाउँछन् ।


प्रतिक्रिया

2 thoughts on “प्रेम : दिलतिरको यात्रा

  1. नमस्कार, बिद्रोहले दिने पीडा नभोगी कुनै पनि उत्पिडन समाधान तर्फ बढेको छैन । धादिङका अधिकारी यूवाहरूले परिवारसहित नै पीडा नभोगेको भए छुवाछुत अहिलेको स्थितिसम्म पनि कम हुने थिएन । त्यसैले बिद्रोहको पिडा भोगेर आगामी पिढिँलाइ उत्पिडन घटाउने सल्लाह दिनु पर्ने होइन र ? फोटो सार्वजनिक हुँदा निम्तने पीडा सहने पुस्ता तयार नहुँदासम्म यी प्रश्न र आँशु धेरै बगिरहने छन् । सन्दर्भः “आठ दिनअघिको अर्को कुरा- अर्की एकजना बहिनीको म्यासेज आएको रहेछ । लेखिएको थियो, ‘दिदी म एउटा समस्यामा छु । एकजना साथीले हजुरलाई भन भन्नुभयो अनि म्यासेज गरेको । फोन नम्बर दिनसक्नुहुन्छ ?’ हाम्रो फोनमा कुरा भयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *