हलिउडको ‘डक्टर स्ट्रेन्ज २’ बैशाख २३ गते रिलिज हुँदै : ट्रेलरमा नेपालको दृश्य पनि – Nepal Press

हलिउडको ‘डक्टर स्ट्रेन्ज २’ बैशाख २३ गते रिलिज हुँदै : ट्रेलरमा नेपालको दृश्य पनि

‘कबड्डी ४’ सँग हुने भयो बक्सअफिस भीडन्त

काठमाडौं । आगामी बैशाख २३ गते नेपाली बक्सअफिसमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को दोस्रो श्रृंखला रिलिज हुने भएको छ । नेपालमा प्रतिक्षित मानिएको फिल्मले ट्रेलर र पोस्टर लन्च गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

बेनेडिक्ट कम्बरब्याच स्टारर फिल्मले ट्रेलरमा नेपालमा छायांकन गरिएका केही दृश्यलाई पनि समावेश गरेको छ । पाटन दरबार स्क्वायर र हिमाली क्षेत्रलाई भीएफएक्ससहित प्रस्तुत गरिएको छ ।

डक्टर स्ट्रेन्जको पहिलो श्रृंखला काठमाडौं र ललितपुरमा समेत छायांकन भएको थियो । कथावस्तुको निरन्तरतास्वरुप पहिलो भागका नेपाली दृश्यलाई समेत यसमा कैद गरिएको हो ।

अलौकिक चमत्कारको खोजी गर्दै डक्टर स्ट्रेन्ज पात्रले गरेको नेपालको भ्रमण र टाइम ट्राभल मेसिनमार्फत उसको यात्रा यहाँ प्रस्तुत गरिएको छ । डक्टर स्ट्रेन्ज सुटिङको लागि अभिनेता कम्बरब्याचसहितको टोली नेपालमा एकसाता रहेको थियो ।

रोचक कुरा के छ भने, उक्त मितिमा प्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ४’ समेत रिलिज तयारीमा छ । रामबाबु गुरुङ निर्देशित फिल्मले अहिलेसम्म उक्त डेटलाई कायमै राखेको छ । मार्भल स्टुडियोको बेनेडिक्ट कम्बरब्याच स्टारर ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ रिलिज हुने भएपछि उक्त मितिमा बक्सअफिसमा व्यवसायिक भीडन्त हुने अनुमान छ ।

डक्टर स्ट्रेन्ज सोही मितिमा भारतमा समेत प्रदर्शन हुनेछ । नेपालमा कोरोनाको तेस्रो लहरअघि रिलिज भएको स्पाइडरम्यानमा पनि कास्ट भएको डक्टर स्ट्रेन्ज पात्रले यसको हाइपलाई निकै वृद्धि गरेको थियो । डक्टर स्ट्रेन्जको पहिलो श्रृंखला नेपालमा समेत रिलिज भएको थियो भने बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर