नेपालका लागि पूर्वब्रिटिस राजदूतले आत्महत्या गरेको निष्कर्ष – Nepal Press

नेपालका लागि पूर्वब्रिटिस राजदूतले आत्महत्या गरेको निष्कर्ष

काठमाडौं । नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको पाइएको एक अदालती सुनुवाइबाट पत्ता लागेको छ ।

बीबीसीका अनुसार ५२ वर्षीय कूटनीतिज्ञ मोरिसको शव सन् २०२० को अगस्टमा बेलायतको बेन्ट्ली ह्याम्सीअरस्थित उनको घर नजिकै भेटिएको थियो । उनी सो क्षेत्रमा सन् २०२० को मे ६ मा अन्तिमपटक दौडिरहेको अवस्थामा देखिएका थिए ।

विन्चेस्टरस्थित अदालतमा उनको मृत्युलाई लिएर सुनुवाइ समेत भएको थियो । सुनुवाइको क्रममा उनलार्ई ‘गम्भीर तनाव’मा रहेको जानकारी दिइएको थियो ।

उच्च रक्तचापको समस्याको बाबजुद पनि मोरिसले लामो समय काम गर्नुपरेको, बेलायतले कोरोनाभाइरसको पहिलो शक्तिशाली लहरको सामना गरिरहँदा मन्त्रीहरुलाई यसबारे जानकारी दिन समन्वय गर्नुपरेको भन्दै सुनुवाइमा बताइएको थियो ।

मंगलबार भएको उक्त अदालती सुनुवाइको अध्यक्षता गरिररहेका कोरोनरले मोरिसले बेलायतको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि आत्महत्या गरेको ठहर गरेका थिए । वरिष्ठ कोरोनर क्रिस्टोफर विल्किन्सले भने, ‘निकै तनावको बीचमा काम गर्नुपरेकाले मोरिसले आफ्नो ज्यान आफै लिए ।’

मोरिस पछिल्लो समय ब्रिटेनको कोभिड सम्बन्धी एक सरकारी कार्यदलमा रहेर काम गरिरहेका थिए । राजदूत मोरिसकी पत्नी एलिसन मोरिसले आफ्ना श्रीमान सहजै घुलमिल हुने व्यक्ति रहेको र अरुसँग अन्तक्रिया गर्न रुचाउने व्यक्ति भएको बताएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर