सधैँ चम्किरहनेछन् साहित्यका तारा (भिडिओ) – Nepal Press

सधैँ चम्किरहनेछन् साहित्यका तारा (भिडिओ)

काठमाडौं । ‘घनघस्याको उकालो काट्दा’ निबन्धका सर्जक तारानाथ शर्माले परलोकको उकालो काटे ८७ वर्षको उमेरमा । कक्षा १० को नेपाली पुस्तकको यही निबन्धमार्फत् साहित्यप्रेमी, भाषाअनुरागीबीच परिचित बनेका शर्मा अब भने सम्झनाहरूमा मात्रै बाँच्नेछन् । हामीसँग उनैका संजनाहरूमार्फत् मात्रै संवाद गर्नेछन् ।

मंगलबार पशुपति आर्यघाटमा शर्माको शरीर अचल थियो । त्यही शरीरमा फुलका गुच्छाहरू बर्साइरहेका थिए कवि श्रवण मुकारुङ, कूलपति गंगाप्रसाद उप्रेती, कवि सोझो गाउँलेहरू । आर्यघाट पुगेका सबै स्तब्ध थिए । शर्मासँगका स्मृतिहरू स्मरण गरिरहेका थिए । शर्माको लेखनी, योगदान र स्वभावको चर्चा गरिरहेका थिए ।

यही बीचमा मुकारुङले सम्झिए, ०४९/५० सालतिर पहिलो भेट भएको थियो शर्मासँग । शर्माले नै मुकारुङको पहिलो कविताकृति ‘देश खोज्दै जाँदा’मा भूमिका लेखिदिएका थिए, त्यो पनि हस्तलिखित भूमिका । त्यही भूमिका लिएर मुकारुङ बागबजारको टाइपराइटिङको अफिस पुगेका थिए र शर्माको भूमिका छापिएको थियो ।

मुकारुङ झण्डै तीन दशकअघिको शर्मासँगको त्यो भेट यसरी सम्झन्छन्, ‘युवापुस्तालाई असाध्यै उत्प्रेरित गर्ने, अभिभावकजस्तो भूमिका निर्वाह गर्ने स्वभावको हुनुहुन्थ्यो उहाँ । मैले पहिलो भेटमै एउटा अभिभाकत्व महसुस गरेको थिएँ उहाँबाट ।’

शर्मा उनै हुन्, जसले नेपाली साहित्यमा मौलिक भाषाको प्रयोगको अर्थ खोजे । ०१३ सालमा बालकृष्ण पोखरेल, कोषराज पन्त, बल्लभमनि दाहालले सुरू गरेको झर्रोवादी आन्दोलन नेपाली साहित्यमा भएका प्रमुख आन्दोलनमध्ये एउटा आन्दोलनको रूपमा स्थापित छ । जनताले बुझ्ने, जनताले बोल्ने र उनीहरूको जीवनसँग नजिक रहेको भाषालाई साहित्यमा प्रयोग गर्नुपर्छ भनेर सुरू भएको आन्दोलन अहिले पनि चर्चाको विषय बन्ने गर्छ ।

पछिल्लो समय नेपाल फिरेर सरस्वतीनगरस्थित आफ्नै निवासमा बसिरहेका शर्मा मंगलबार आठ बजेर २० मिनेट जाँदा बिते ।

बेलायत-अमेरिका-नेपाल बसेका शर्मा अमेरिकाबाट फिरेपछि भने नेपालमै बस्दै आएका थिए । सात महिना मात्रै भएको थियो, नेपाल एकेडेमीले उनलाई आजीवन सदस्या बनाएको थियो ।

एकेडेमीका कूलपति गंगाप्रसाद उप्रेतीका अनुसार शर्मालाई पाँच वर्षअघि नै आजीवन सदस्य बनाउनेबारे छलफल भएको थियो, तर शर्माको अमेरिका बसाइका कारण यत्तिकै रोकिएको थियो । र, शर्मा नेपाल आएपछि भने आजीवन सदस्यता दिइएको थियो ।

पशुपति आर्यघाटमा शर्माको शरीर अचल थियो । त्यही शरीरमा फुलका गुच्छाहरू बर्साइरहेका थिए कवि श्रवण मुकारुङ, कूलपति गंगाप्रसाद उप्रेती, कवि सोझो गाउँलेहरू । आर्यघाट पुगेका सबै स्तब्ध थिए । शर्मासँगका स्मृतिहरू स्मरण गरिरहेका थिए । शर्माको लेखनी, योगदान र स्वभावको चर्चा गरिरहेका थिए ।

बुड्यौली र स्वास्थ्यका कारण शर्मा अलि विरामी भइरहन्थे । विस्मृतिको रोगबाट ग्रस्त थिए । रोगसँग जुधिरहँदाखेरि नै शर्माले देहत्याग गरे । तर, शर्मा नरहे पनि शर्माको सृजना र योगदानले नेपाली साहित्य र भाषालाई उँचो बनाइरहने र नेपाली भाषा रहेसम्म सम्झिरहनुपर्ने वृहत् व्यक्तित्व भएको मुकारुङको भनाइ छ ।

भाषाविद्, नियात्राकार, निबन्धकार र समालोचकको परिचय बनाएका शर्मा विशेषतः नियात्राकारको रूपमा सुपरिचित थिए । उनकै नियात्रा संग्रह ‘बेलायततिर बरालिँदा’ले ०२६ सालको मदन पुरस्कार पनि जितेको थियो । शर्माको लेखनीमा प्रयोग हुने मिहीन र मिठासपूर्ण भाषा शैली मात्रै नभएर उनले डिजाइन गरेका पाठ्यपुस्तकहरू पनि उत्तिकै समय सान्दर्भिक रहेको साहित्यकारहरूले बताउने गरेका छन् ।

मुकारुङ भन्छन्, ‘उहाँ समालोचना र निबन्धको क्षेत्रमा एउटा कालखण्ड नै नेतृत्व गरेको लेखक हो । आज हामीले चर्चा गर्ने रिमाल, मैनाली जस्ता प्रतीभालाई नेपाली साहित्यमा परिचित गराउने समालोचक हो उहाँ ।’

कुलपति उप्रेतीका अनुसार नेपाली साहित्यको मात्रै नभएर नेपाली भाषाको पनि विशिष्ट प्रतीभा हुन् शर्मा । भन्छन्, ‘उहाँ नेपाली भाषाको आधिकारिक भाषाविद् हो । झर्रोवादी आन्दोलनमा विदेशी भाषाले हाम्रो नेपाली भाषा बिगार्छ भनेर उहाँहरू लाग्नुभएको थियो ।’

प्राडा. गोविन्द पोखरेल थप्छन्, ‘०१७ सालसम्म उहाँका प्रगतिवादी सृजना थिए । त्यसपछि पंचायतकालको जटिल परिवेशसँगै अलिकति वैचारिक हिसाबले पलायन हुनुभयो । तर, उहाँको लेखनी भने निरन्तर नै रह्यो । र, उत्कृष्ट नियात्रा, निबन्ध, समालाोचना हामीलाई दिनुभयो ।’

शर्माका ‘उहाँका नमस्ते’ निबन्धसंग्रह, ‘घोत्ल्याइँहरू’ समालोचना संग्रह, ‘बेलायततिर बँरालिँदा’ नियात्रा संग्रह लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् । आख्यान, कविता, संस्मरण, समालोचना र नियात्रा लगायत थुप्रो विधामा कलम चलाएका शर्मा इलाममा जन्मिएका थिए । उनका पत्नी शान्ता र दुई छोरा छन् ।

भौतिक शरीर नष्ट भएपनि आफ्ना कालजयी सिर्जनामार्फत नेपाली साहित्य आकाशमा सधैँ तारा झैं चम्किरहने छन् तारानाथ शर्मा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर