चुनावको पूर्वसन्ध्यामा प्रचण्डले गृहजिल्लाको प्रमुख बनाएका एसपी अधिकारी – Nepal Press

चुनावको पूर्वसन्ध्यामा प्रचण्डले गृहजिल्लाको प्रमुख बनाएका एसपी अधिकारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही दिनअघि ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गर्यो, तीन जिल्लाका प्रहरी प्रमुख फेरिए ।

प्रहरी महानिरीक्षक (आईजिपी)ले गर्ने यो सरुवामा चितवन प्रमुखका रुपमा नवराज अधिकारी पुगेका छन् । निर्वाचनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’को गृहजिल्लामा अधिकारीको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

२०५८ सालमा प्रहरी निरीक्षकमा नाम निकालेकाहरु अहिले नेपाल प्रहरीमा एसपी छन् । २०७५ फागुनमा उक्त ब्याचबाट पहिलो ‘लट’मा एसपी भएकामध्ये अधिकारी पनि एक हुन् ।

दार्चुलाको प्रहरी प्रमुख रहेका बेला उनी डीएसपीबाट बढुवा भएका थिए । उनी एसपी भएको झन्डै १६ महिनापछि कपिलवस्तुको प्रहरी प्रमुख बने, जतिबेला उनीभन्दा ११ महिना अघि एसपी भएकाहरुले पहिलोपटक जिल्ला प्रमुख बन्ने पालो कुरिरहेका थिए ।

२०५६ सालमा प्रहरी निरीक्षकमा नाम निकालेको ठूलो समूह छक्क परेको थियो, त्यति चाँडै अधिकारीले जिल्ला इन्चार्जको अवसर पाएको देखेर । गत असारमा कपिलवस्तुबाट सरुवा भएका अधिकारी झन्डै ७ महिनामा अर्को महत्वपूर्ण मानिने जिल्ला चितवन पुगेका हुन् ।

२०७४ भदौमा मात्र महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रमुख भएर बाहिरिएका अधिकारीले त्यसपछि आकर्षक मानिने प्रहरी प्रधान कार्यालयको कल्याण शाखामा बसेर काम गरेका थिए । तर त्यहाँ पनि उनी लामो समय बसेनन् । केही महिनापछि दार्चुला प्रहरी प्रमुख बनेर सरुवा भएका थिए ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा चितवन प्रहरी प्रमुखको जिम्मेवारी पाएका अधिकारीमाथी प्रचण्डको रुचि स्पष्ट देखिन्छ । चितवन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला र निर्वाचन लडेको जिल्ला पनि हो । प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर छिन् ।

जन्मघर लमजुङ भएपनि कन्चनपुर बसोबास रहेका अधिकारी प्रचण्डकी बुहारी तथा पूर्व खानेपानीमन्त्री बिना मगरमार्फत माओवादी केन्द्रसँग नजिकिएको बताइन्छ । बिनाको निर्वाचन क्षेत्र पनि कन्चनपुरमै पर्छ ।

बुहारी बिना र छोरी रेनुकै जोडबलमा अधिकारीलाई निर्वाचनलाई समेत सहयोग पुग्ने गरी प्रचण्डले गृहजिल्लामा लगेको जानकारहरु बताउँछन् ।

अधिकारीकै इन्सपेक्टर ब्याची, जो २०७७ वैशाखमा एसपी भएका थिए, उनीहरुमध्ये केहीले अझै पनि जिल्लाको नेतृत्व गर्ने अवसर पाएका छैनन् ।

अधिकारीभन्दा ११ महिनाअघि एसपी भएकाहरुमध्ये केही अझै एसपीका रुपमा दोस्रो जिल्ला प्रमुख बन्ने अवसर कुरिरहेका छन् ।

यसअघि प्रचण्डले आफ्ना पीएसओ दानबहादुर मल्ललाई पनि गृहजिल्लाको प्रमुख बनाएका थिए । प्रचण्डको पीएसओ रहेकै बेला डीएसपीमा बढुवा भएका मल्ललाई आकर्षक मानिने महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रमुख बनाएर पनि लगिएको थियो ।

प्रचण्डकै बलमा मल्ल सरुवा भएर लामो समय चितवन प्रहरी प्रमुखका रुपमा रहेका थिए । गंगा पन्तलाई त्यहाँ सरुवा गरे पनि विगतमा माओवादीप्रति उनको अभिव्यक्तिलाई लिएर प्रचण्डले मल्ललाई जिल्ला नछाड्न निर्देशन दिएका थिए ।

पछि प्रहरी प्रधान कार्यालयले १२ घण्टे अल्टिमेटम दिएपछि मल्लले जिल्ला छाडेका थिए । यद्यपि पन्तको भने चितवन सरुवा रोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर