भोलिको बैठकमा एमसीसी टेबल हुने कांग्रेसको दाबी, एमाले भन्छ- यो असंवैधानिक हो – Nepal Press

भोलिको बैठकमा एमसीसी टेबल हुने कांग्रेसको दाबी, एमाले भन्छ- यो असंवैधानिक हो

काठमाडौं । बुधबारको प्रतिनिधि सभा बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल हुने नेपाली कांग्रेसका प्रवक्ताप्रकाश शरण महतले दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा उक्त विषय उल्लेख नगरिएको भए पनि कार्य व्यवस्था परामर्श समितिमार्फत एमसीसी टेबल हुने उनले विश्वास व्यक्त गरेका हुन् ।

‘(एमसीसी) टेबल हुने समझदारी भएको छ’ उनले नेपाल प्रेसलाई भने, ‘सम्भावित कार्यसूचीमा छैन तर। हामी कार्य व्यवस्था परामर्श समितिमा राख्छौँ ।’

प्रमुख सत्तारुढ नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले काग्रेसले एमसीसी पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक भोलि बिहान साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएका छन् । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने ठानिएको छ।

सङ्घीय सांसदका प्रवक्ता रोजनाथ पाण्डेले भोलि एमसीसी टेबल हुने नहुने विषय अन्यौलता रहेको बताए । उनले कार्यसूचीमा नरहेको तर कार्य व्यवस्था परामर्श समितिको बैठक त्यसलाई टेबल गर्ने निर्णय गर्न सक्ने बताए ।

‘अहिले सम्म कार्यसूचीमा छैन’ उनले भने ‘भोलि साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ हेरौँ त्यसले के गर्छ ?’

एमाले भन्छ– यो असंवैधानिक हो

नेपाली कांग्रेस संसदीय दलको बैठकले एमालेले संसद् सचिवालयमा दर्ता गरेको एमसीसी टेबल गर्ने गर्ने बताएपछि एमालेले त्यो असंवैधानिक रहेको बताएको छ ।

एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले सरकारले असंवैधानिक रूपले एमसीसी टेबल गर्न खोजेको आरोप लगाए ।

प्रतिनिधि सभा नियमावलीमा २०७५ को नियम ६५ (३) अनुसार उक्त विधेयक निष्क्रिय भइसकेको रानाको दाबी छ । उक्त नियममा भनिएको छ ‘चालु अधिवेशनमा दर्ता भएको प्रस्ताव माथि छलफल नभएमा स्वतः निष्क्रिय हुने छ ।’

ओली सरकारले दुई वर्ष अघि नै एमसीसी दर्ता गराएको थियो । तर, उक्त विधेयक टेबल गरिएको थिएन ।

‘संसद्मा दर्ता भएको विधेयक छलफल नभए अर्काे अधिवेशन सम्म निष्क्रिय हुन्छ’ प्रतिनिधि सभा सदस्य रानाले भने ‘अहिले एमसीसी निष्क्रिय भइसकेको छ अहिले अवस्थामा टेबल भए असंवैधानिक हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर