कानूनमन्त्री-राजदूत भल्कबीच भेटवार्ता : नेपाली विद्यार्थीको अष्ट्रेलिया अध्ययनलाई सहज बनाइने – Nepal Press

कानूनमन्त्री-राजदूत भल्कबीच भेटवार्ता : नेपाली विद्यार्थीको अष्ट्रेलिया अध्ययनलाई सहज बनाइने

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कबीच मंगलबार द्धिपक्षीय भेटवार्ता भएको छ । कानून मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अस्ट्रेलियाको द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको जनाइएको ।

त्यस अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र कोभिड–१९ महामारी नियन्त्रण गर्न स्वाथ्य क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिए ।

न्यायमा नागरिकको सहज पहुँच, नेतृत्व विकास, स्वच्छ ऊर्जा, संघीयताको सुदृढीकरण र विकासका विविध सवालमा अस्ट्रेलियाले हासिल गरेको अनुभव नेपालका लागि समेत उपयोगी हुने उनले बताए ।

मन्त्री बडूले नेपाल र अस्ट्रेलियाबीच सरकार र सरकारबीच मात्र नभई सामाजिक रुपमा समेत बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको अस्ट्रेलियामा पढ्नपाठन सहज हुने व्यवस्थाका लागि राजदूत भल्कको ध्यानाकर्षण गराए ।

जवाफमा राजदूत भल्कले नेपाल पुरानो मित्र राष्ट्र भएकाले विगतदेखि नै स्वास्थ्य, शिक्षा, ऊर्जा, जलस्रोत, सामुदायिक वन र विकास पूर्वाधारदेखि समुदायस्तरमा महिलाको नेतृत्व विकास, महिला हिंसा अन्त्यलगायत विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताए ।

राजदूत भल्कले न्याय क्षेत्रका साझा मुद्दा पहिचान गरी आपसी सहयोग अभिबृद्धि गर्न र अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा परराष्ट्र मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर